रविप्रदोष Ravi Pradosh

प्रदोष व्रत किन सम्पादन गरिन्छ, प्रदोष शब्दमा विशेष दोष भन्ने अर्थ छ, र पनि किन लिइन्छ प्रदोषको व्रत ?
हाम्रो धर्मशास्त्रमा त्यस्ता धेरै अभ्यास, साधना, व्रत र उपवासहरूको उल्लेख छ, जसका माध्यमबाट शोधकर्ता, अन्वेषक र भक्तजनले आफ्ना निहित लक्ष्य र उद्देश्य पूरा गरी शाश्वत जीवनको प्राप्ति गरेका छन्, इहलोकका असीम चाहनाहरूको अन्त्य भएको छ भने मरणोपरान्त भुक्ति र मुक्ति प्राप्त गरेका छन् । सनातन धर्ममा त्यस्तै धेरै साधना र व्रतहरू प्राप्त हुन्छन्, जसद्वारा व्यक्तिले आफ्नो यस भौतिक जीवनमा त लाभ पाउँछन् नै, आध्यात्मिक सुखको समेत अनुभूति गर्दछन् । तिनै विविध व्रतहरूमध्ये प्रदोष व्रतको छुट्टै र महत्त्वपूर्ण स्थान रहेको पाइन्छ।
प्रदोष व्रत भगवान् शिवको कृपा र आशीर्वाद प्राप्त गर्न सम्पादन गरिने उपवास हो । भगवान् शिवलाई आशुतोष पनि भन्ने गरिन्छ, जसको अर्थ हो, महादेव तुरुन्त प्रसन्न हुनुहुन्छ र भक्तले थोरैमात्र प्रयास गरेर चाँडै आशीर्वाद प्राप्त गर्न सक्दछ । अतः भगवान् शिवको विशेष अनुग्रह प्राप्त गर्न श्रद्धाभक्तिपूर्वक प्रदोष-व्रतको पालना गर्ने गरिन्छ । यस भिडियोमा प्रदोष व्रतका सम्पूर्ण महत्त्वपूर्ण जानकारी पस्कनुका साथै रविप्रदोषको महात्म्य, यसबाट प्राप्त हुने प्रत्यक्ष लाभ र रविप्रदोषको शास्त्रीय कथा पस्कने प्रयास गर्नेछु ।
सबै भन्दा पहिले प्रदोष व्रत सम्पादन कसरी गर्ने त्यसको जानकारी प्राप्त गरौं
यो व्रत हरेक महिनामा दुई पटक पर्ने गर्दछ । तिथिका आधारमा यसको व्रत लिइने भएकाले यो हरेक शुक्ल र कृष्ण पक्षको त्रयोदशी तिथिका दिन सम्पादन गरिने व्रत हो । प्रदोष काल भनेको बेलुकाको ठूलो साँझ परेपछिको लगभग दुई घण्टाभित्रको समय भन्ने बुझिने भएकाले उक्त त्रयोदशी तिथिले साँझको समयमा छुनु पर्दछ र यो व्रत लिने हो । त्यसैले यो व्रत कहिले द्वादशी तिथिको बेलुका र कहिले त्रयोदशी तिथिकै दिन पर्ने गर्दछ । हरेक प्रदोषको व्रत लिने व्रतालुले प्रदोष परेको दिन ब्रह्ममुहूर्तमा ओछ्यान छाडी शौचस्नानादिबाट निवृत्त भएर पूजावेदीमा प्रवेश गरी नित्य पूजा र जापादि सम्पन्न गरेर भगवान् शिवको षोडशोपचार विधिले पूजा गर्नुपर्छ। व्रतको दिन दिउँसो केवल फलफूल खानु पर्दछ । प्रदोषकालमा अर्थात् ठूलो साँझ परेपछि पुनः भगवान् शिवको पूजा गरेर व्रत समापन गर्नुपर्दछ । यो सामान्य नियम हो । तर कतिपय व्रत लिनेले आफ्नो शारीरिक सामर्थ्य अनुसार यस व्रतको निर्जल उपवास पनि गर्दछन् । बेलुका हलुका फलादि ग्रहण गरी रातभरि जागरण गर्ने विधानसमेत छ । प्रदोष व्रतमा प्रदोष कालको विशेष महत्त्व छ । प्रदोष काल भनेको सूर्यास्त भएपछिको दुई घडीको समय हो । दुई घडी भन्नाले ४८ मिनेटको समय हुन्छ । वारअनुसार हरेक प्रदोषको विशेष महत्त्व हुने गर्दछ । बारअनुसार प्रदोष व्रतको छुट्टाछुट्टै महत्त्व, विशेषता र नाम पनि हुने गर्दछ, जस्तै सोम प्रदोष, शनि प्रदोष, गुरु प्रदोष, रवि प्रदोष आदि । यसको अर्थ हो, सोमवार परेको प्रदोष सोम प्रदोष, शनिवार परेको प्रदोष शनिप्रदोष आदि । यी हरेक प्रदोषबाट भक्तले विभिन्न बेग्लाबेग्लै फल पाउँछ भन्ने मान्यता रहेको छ, जस्तै :-
१. रवि प्रदोष- मुद्दामामिलामा विजयी हुन, निर्णयक्षमता बढाउन र स्वास्थ्यलाभ गर्न रविप्रदोष व्रत । आइतवार र त्रयोदशी तिथिको संयोग हुने प्रदोषलाई रविप्रदोष भनिन्छ। रविप्रदोषको व्रत लिएमा दीर्घायुष्य र स्वास्थ्यलाभको फल प्राप्त हुन्छ । सूर्यले नेतृत्व क्षमता, निर्णय क्षमता, उच्च पद, व्यक्तित्व विकास आदि फल प्रदान गर्ने भएकाले यस व्रतबाट ती फल सहजै प्राप्त हुन्छन् भन्ने मान्यता रहेको देखिन्छ ।
२. सोम प्रदोष- मानसिक अशान्ति, बेचैनी र मनोरोगको निवारण गर्न तथा पारिवारिक सुखसम्मृद्धिका लागि सोमप्रदोष व्रत । सोमबार र त्रयोदशी तिथिको संयोगमा परेको प्रदोषलाई सोमप्रदोष भनिन्छ। सोम भनेको चन्द्रमा हो । सनातन धर्मशास्त्रमा चन्द्रमाको मन र धनसम्पत्तिसंग प्रत्यक्ष सम्बन्ध हुन्छ । पुराणमा चन्द्रमाले आफू श्रापबाट जोगिन भगवान् शिवको शरण लिएको र शिवले चन्द्रमालाई आफ्नो शिरमा स्थान दिएको प्रसंग उल्लेख गरिएको पाइन्छ । त्यसैले जुनसुकै चिन्ता, ताप र असन्तोषको निवारण गर्न सोमप्रदोषको व्रत लिने गरिन्छ । यस व्रतको प्रभावले दाम्पत्य जीवन र प्रेमजीवनका समस्यासमेत निवारण हुने गर्दछन् ।
३. भौम प्रदोष- पुत्रलाभ, सन्ततिको सुखसम्मृद्धि र आत्मबल, साहस र हिम्मत बढाउन मङ्गलबार परेको प्रदोषव्रत । मंगलबार र प्रदोषको संयोगलाई भौम प्रदोष भनिन्छ। यो ऋण मुक्ति गराउने अचुक उपाय हो । धर्मशास्त्रमा मङ्गल ग्रहको पृथ्वी र साहससित प्रत्यक्ष सम्बन्ध हुन्छ भनिएको छ । यस व्रतको पालना गरेर व्यक्तिले वित्तीय समस्याबाट मुक्त हुने र लाभ पाउने गर्दछ ।
४. बुध प्रदोष - दाम्पत्यजीवन, प्रेमसम्बन्ध, सुखसुविधा, चातुर्य वृद्धिका लागि बुधप्रदोष व्रत । बुध ग्रहको बुद्धिचातुर्य, हृदय र सुखसंग हुने गर्दछ । त्यसैले बुधवार र त्रयोदशी तिथिको संयोगबाट सिर्जना हुने बुध प्रदोषको उपासना गरेर भक्तहरूले सुखभावमा बृद्धि गर्दछन् । यिनीहरूको बौद्धिक क्षमता  र बुद्धिकौशलमा पनि बृद्धि हुने गर्दछ । हार्दिक प्रेम र दाम्पत्य सुखप्राप्तिका लागि पनि बुध प्रदोषको व्रत लिने नियम छ । 
५. गुरु प्रदोष - राजकीय क्षमता, प्रशासनिक क्षमता बृद्धि गरी शत्रुनाश गर्न तथा कुल र पितृको दोषशमनका लागि गुरुप्रदोष व्रत । बिहीबार र त्रयोदशी तिथिको संयोगलाई गुरुप्रदोष भन्ने गरिन्छ। यसको उपासनाबाट पितृदोषको नाश हुन्छ । राजकीय र प्रशासनिक क्षमता बृद्धि गराउने र प्रतिस्पर्द्धी र शत्रुको नाश गराउने व्रतका रूपमा पनि यस व्रतको चर्चा हुने गर्दछ । त्यस्तै उमेर पाको हुन्जेल विवाह नभएकी कन्याले विधिवत् गुरु प्रदोषको उपवास गरेमा लाभ पाउने गर्दछन् भन्ने गरिन्छ ।
६. शुक्र प्रदोष - ज्योतिष र धर्मशास्त्रमा शुक्र ग्रहको विशेष भूमिका हुने गर्दछ । यसबाट वीर्य, यौनबल, प्रजनन क्षमता, प्राविधिक ज्ञान, सीप, कामशक्ति प्राप्त हुने गर्दछ । त्यसैले यी यावत् वस्तुहरूको प्राप्ति होस्, तथा सांसारिक जीवन सुखपूर्वक व्यतीत गरी अन्त्यमा शिवसायुज्य प्राप्त गर्न शुक्रवार र प्रदोषको संयोग भएको शुक्रप्रदोषको उपवास गर्ने प्रचलन छ । बुद्धि बढाउन एवं प्रेम र दाम्पत्यजीवन सफल बनाउन शुक्र प्रदोषको विशेष भूमिका रहेको पाइन्छ ।
७. शनि प्रदोष - शनिग्रहको कुप्रभाव हटाउन, कर्मक्षेत्रमा सफलताका लागि र सन्तति तथा वंशबृद्धिका निमित्त शनिप्रदोष व्रत । शनिवारका दिन प्रदोष परेको दिन विशेष महत्त्वको दिन बन्न जान्छ, त्यसैले यस दिनलाई शनि प्रदोष भन्ने गरिन्छ । यसको सम्पादन गरेमा सन्तानलाभ, सन्तानमा देखिएका समस्याहरूको निवारणा र रोगव्याधिको शमन हुने फल प्राप्ति हुन्छ । त्यसबाहेक शनि ग्रहको दुष्प्रभाव र कुदृष्टिबाट जोगिन, कर्मजीवनका यावत समस्याहरू दूर गर्न र न्याय प्राप्तिका लागि पनि यस व्रतको पालना गर्ने विधान छ ।

प्रदोष-व्रत कहिलेदेखि प्रारम्भ गर्ने ?
यो व्रत जहिल्यै पनि लिन सकिन्छ । हरेक प्रदोष व्रत महत्त्वपूर्ण र विशेष हुन्छन् । यद्यपि व्रतीको आफ्नो कुन विशेष उद्देश्य रहेको छ, उक्त उद्देश्य मेल खाने वारसँग सम्बन्धित प्रदोषको दिनबाट व्रत प्रारम्भ गरेको राम्रो हुन्छ, जस्तै प्राविधिक सीप बृद्धि गर्नु छ भने शुक्रप्रदोष परेको दिनदेखि, अनि शत्रुनाश गर्नुछ भने गुरु प्रदोष परेको दिनदेखि, त्यस्तै सन्तानको उन्नतिप्रगतिको इच्छा छ भने शनिप्रदोषबाट । तर व्रत थाल्दा सामान्यतया शुक्लपक्षको प्रदोषबाट अर्थात् पूर्णिमाको अगाडि पर्ने प्रदोषबाट लिनु राम्रो मानिन्छ ।
सनातन धर्मशास्त्रमा प्रदोषको व्रतको ठूलो महिमा छ। यस दिन गरिएको भगवान् शिवको पूजा र भक्तिबाट भक्तले सबै किसिमका बाधा र संकष्टबाट मुक्ति पाउँदछन् र तिनीहरूका मनभित्र सल्बलाएका असीमित इच्छाले पूर्णता प्राप्त गर्दछन् । अब म प्रदोषको व्रत कसरी सम्पादन गर्ने त्यसका बारेमा बताउँदै छु ।
यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ ।
प्रदोष व्रतका माध्यमबाट तुरुन्त र छिट्टो भगवान् सदाशिवलाई प्रसन्न तुल्याउन सकिन्छ । प्रदोषको विशेष महत्त्व हुनुमा एउटा शास्त्रीय कथाको चर्चा हुने गर्दछ, र यस कथामा भगवान् शिवले चन्द्रमालाई शिरमा धारण गरेको प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । 
पौराणिक कथा अनुसार चन्द्रमाको विवाह दक्ष प्रजापतिका रोहिणी आदि सत्ताईस वटी कन्यासंग भएको थियो । हुन त दक्ष प्रजापतिका यी सबै पुत्रीहरू अत्यधिक सुन्दर र शीलस्वभावले युक्त थिए । त्यसैले यी सबैलाई आकाशमण्डलमा सत्ताईस नक्षत्रका रूपमा प्रतिष्ठा छ । तर पनि चन्द्रमाको रोहिणीप्रति अत्यधिक आशक्ति र प्रेम थियो । यिनको केवल रोहिणीसँग मात्र उठबस र हिमचिम भएको देखेर बाँकी २६ वटी दक्षकन्या चिन्तित भए । अनि उनीहरू माइतमा गएर पिता दक्ष प्रजापतिसम्मुख पुगी गुनासो गर्न थाले । आफ्ना सबै पुत्रीहरू उपर समान व्यवहार नगरेकोमा दक्ष प्रजापतिलाई ज्वाइँ चन्द्रमा उपर क्रोध भयो र उनले शराप दिइहाले - हे चन्द्र, तिमीले पुरुषअनुकूल आचरण नगरेर मेरा अधिकांश छोरीहरूको चित्त दुखाएका छौ, त्यसैले तिम्रो कान्ति क्षीण हुँदै जाओस् । तिमी क्षयरोग बाट पीडित हुनेछौ । यसपछि क्रमशः बिस्तारै चन्द्रमा क्षयरोगबाट ग्रस्त हुन थाले र उनका कलाहरू घट्न थाले । नारदजीले यो कुरा थाहा पाउनु भयो र ससुरा दक्षको श्रापबाट उन्मुक्ति पाउन उनलाई मृत्युञ्जय भगवान् आशुतोष शिवको पूजा गर्नु भनी सिकाए । यसपछि चन्द्रमा र रोहिणी दुवैले भगवान आशुतोषको पूजा गरे। भगवान् प्रसन्न हुनुभयो । चन्द्रमाको समस्या बुझेपछि चन्द्रकला बृद्धि होस् भन्ने आशीर्वाद प्रदान गर्नुभयो । दक्षश्रापबाट सधैंका लागि मुक्ति मिलोस् भन्ने उद्देश्यले शिवले आफ्नो शिरमा चन्द्रमालाई धारण गर्नुभयो । दक्षश्रापका कारण कृष्णपक्षका १५ दिन चन्द्रकला घट्दै जाने तथा शिवाकृपा प्राप्त हुने भएकाले शुक्लपक्षका १५ दिन चन्द्रकला बढ्दै जाने भएको हो भन्ने गरिन्छ ।
चैत्र २३ गते अर्थात् ०५ अप्रैलका रविवारका दिन रवि प्रदोष परेको छ, आउनु होस्, रवि प्रदोषको व्रत सम्पादन गर्दा प्रत्यक्ष लाभ हुने कुरा के के हुन् थाहा पाइराखौं - 
१. रवि प्रदोषको व्रत लिएमा जीवनमा प्रशस्त्र खुशी र शान्ति प्राप्त हुन्छ । परिणामतः व्यक्तिको जीवन दीर्घायु बन्नपुग्छ ।
२. रवि भनेको सूर्य हो । अतः यस दिन परेको प्रदोषको सूर्यसंग सीधा सम्बन्ध कायम हुन्छ। हाम्रो भौतिक जीवनका प्रत्यक्ष देवता सूर्य र चन्द्रमा नै हुन् । यसरी रवि प्रदोषको समयमा चन्द्रमाका साथसाथ सूर्यले समेत तपाईंको जीवनमा सक्रिय हुने अवसर प्राप्त गर्दछन् । परिणामतः तपाईंको मन र मस्तिष्क दुबैले उच्च परिणाम प्रदान गर्ने सामर्थ्य प्राप्त गर्दछन् । रवि प्रदोषको व्रत सम्पादन गरेर सूर्यसँग सम्बन्धित सबै समस्याहरू निवारण गर्न सकिन्छ ।
३. तपाईंको व्यक्तित्वविकास, नाम, यश, प्रसिद्धि र प्रतिष्ठामा ग्रहहरूमध्ये सूर्यको विशेष बल हुन्छ । त्यसैले तपाईंको जन्म कुण्डली विशेष बलशाली सूर्य छ भने तथा कमजोर सूर्य छ भने पनि यस व्रतको सम्पादन गर्दा शुभफल प्राप्त हुनेछ । 
४. प्रदोषको व्रत मानवजीवनमा आइपर्ने यावत् सङ्कट र कष्ट निवारण गर्न मद्दत गर्ने व्रत हो । पुराणमा प्रदोषको उपवास गर्ने व्यक्तिले जीवनमा कुनै किसिमको सङ्कटमा फंस्नु पर्दैन । उसको जीवनमा धन र समृद्धिको कुनै कमी हुँदैन ।
५. अतः रवि प्रदोषको मानव जीवनमा विशेष महत्त्व छ । रवि प्रदोषको व्रतालुका शरीरका सबै रोगको निवारण हुन्छ । यसको उपवासबाट दीर्घरोग र महामारीको प्रकोप शान्त हुन्छ । अनि व्यक्तिले आफ्नो र परिवारका हरेक सदस्यको स्वच्छ स्वास्थ्य र दीर्घ जीवन प्राप्त गर्न सक्दछ ।
६. शिव र सूर्यको पूजा एकसाथ हुने व्रत हो, रविप्रदोष व्रत । यस उपासनाबाट व्रतीले हृदय रोगबाट छुटकारा प्राप्त गर्दछ ।

आइतबार र त्रयोदशी तिथिको संयोगबाट रवि प्रदोष योगको सृजना हुन्छ। यस दिन भगवान् शिवको प्रसन्नताका निमित्त व्रत सम्पादन गर्ने गरिन्छ। यस व्रतको प्रभावले लामो आयु, राम्रो स्वास्थ्य आदिको प्राप्ति हुन्छ भन्ने विश्वास छ। यस व्रतको कथा यस प्रकार छ

एउटा गाँउमा एक जना दीन-हीन ब्राह्मण बस्दथे। उनकी धर्मनिष्ठा पत्नी प्रदोष व्रत लिने गर्दथिन्। ती दम्पत्तिको एउटा पुत्र थियो। एक पल्ट त्यो पुत्र गंगा स्नान गर्न गयो। दुर्भाग्यवश बटोमा उसलाई चोरहरूले घेरे र डर र त्रास सिर्जना गर्दै सोधे-'तिम्रा पिताले गुप्त धन कहाँ लुकाएर राखेका छन्। बिचरा बालकले दीनतापूर्वक आफूहरू अत्यन्त निर्धन र दु:खी भएको कुरा बतायो। उसले पिताजीसँग गुप्तधन रहने प्रश्न नै नउठ्ने कुरा पनि भन्यो। चोरहरूले उसको अवस्था सुनेर दया राखी उसलाई छोडिदिए। ब्राह्मणबटु आफ्नो बाटो लाग्यो। हिंड्दाहिंड्दै ऊ थाकेर गल्यो र एउटा बरको वृक्षमुनि बस्यो, थाकेको हुनाले केही बेरमा निदायो। त्यतिखेरै त्यस नगरका सिपाहीहरू चोरलाई खोज्दै त्यहीं आइपुगे। तिनले ब्राह्मण बालकलाई चोर ठानेर बन्दी बनाए र राजासामु उपस्थित गरे। राजाले बालकका कुरा नबुझीकन उसलाई कारागारमा हाल्ने आदेश दिए। उता घरमा यी घटनाको अत्तोपत्तो थिएन। त्यस दिन रवि प्रदोषको दिन थियो, बालककी आमा प्रदोष व्रत गरिरहेकी थिइन्। आमाको व्रतको प्रभावले त्यसै दिन रात्रिकालमा राजाले सपनामा एउटा सन्देश सुने, त्यसमा भनिएको थियो- त्यो बालक निर्दोष छ यदि त्यसलाई कारागारबाट मुक्त तुल्याइएन भने तपाइँको राज्य र वैभव नष्ट हुनेछ। भोलिपल्ट बिहान उठ्ने बितिक्कै राजाले बालकलाई मुक्त तुल्याई सभागृहमा बोलाए र अघिल्लो दिनको घटनाबारे सोधे, बालकले राजालाई सत्यतथ्य बतायो। राजाले त्यस बालकका मातापितालाई दरबारमा झिकाए। ती बृद्धबृद्धालाई भयभीत भएको देखेर राजाले मुस्कुराउँदै भने- तपाइँहरूको छोरो निर्दोष र निडर छ। तपाईंहरूको दरिद्रताका बारेमा जानकारी पाएर मलाई दुःख लाग्यो, त्यसैले म तपाईंहरूको आजीविकाका निमित्त पाँचवटा गाँउ बिर्ता दिन्छु। यसपछि ब्राह्मणपरिवार आनन्दले रहन थाल्यो। भगवान् शिवजीको दयाले तिनको दरिद्रताको नाश भयो।

अब रविप्रदोषमा के विशेष कर्म गर्नु समुचित हुनेछ, त्यसको पनि चर्चा गरौं ।
- रवि प्रदोषका दिन बिहान झिसमिसेमा अर्थात् सूर्योदय हुनुअघि नुहाउन ठिक्क पारेको जलमा गङ्गाजल वा कुनै पवित्र नदीको जल मिसाएर नुहाउनुहोस् ।
- स्नानादि नित्यकर्मबाट निवृत्त भएपछि तामाको कलश वा अङ्खोरामा शुद्ध जल वा गङ्गाजल भर्नुहोस् र उक्त जलमा कुमकुम, मह वा चिनी, रातो फूलहरू थपेर उक्त कलश दुबै हातले समाती आफ्नो टाउकोभन्दा पनि माथिसम्म पुर्याई भगवान् सूर्यनारायणलाई अर्घ्य दिनुहोस् । यसरी अर्घ्य दिंदा खसेको पानीको बीचबाट सूर्यबिम्बको दर्शन गर्नु राम्रो हुन्छ ।
- व्रतको दिन दिनभरि भगवान शिवको मन्त्र, ॐ नमः शिवाय मंत्र र भगवान् सूर्यको बीज मन्त्र ॐ घृणि सूर्याय नमः को निरन्तर जाप गरिरहनु राम्रो हो ।
- बेलुका प्रदोष कालको समयमा भगवान शिवलाई दूध, दही, घिउ, मह, सक्करका साथमा विभिन्न पूजासामाग्रीले विधिवत् पूजा गर्नुहोस् ।
- भगवान् शिवलाई नैवेद्य अर्पण गर्दा चामलको खीर र गुलिया फलहरू अर्पण गर्न सक्नुहुन्छ ।
- सकेसम्म दिनभरि निर्जल (पानी पनि नखाईकन) व्रत लिनु होला, तर शरीर कमजोर छ भने सकेको अन्नादिमात्र त्याग गर्नु राम्रो हुन्छ । अन्नादि त्याग गर्न पनि नसकिने स्थिति छ भने कुनै पनि आइतवारको व्रत वा रवि प्रदोषको दिनमा नुनको सेवन नगर्नु राम्रो हुन्छ ।
- यस व्रतको शीघ्र फल प्राप्त होस् भन्ने चाहना हुनेहरूले दृष्टिविहीन व्यक्तिहरूलाई भोजन, वस्त्र र दक्षिणादि प्रदान गर्नु पर्दछ र पेटभरि खीरको भोजन गराउनु राम्रो हुन्छ ।
- तपाईंको घरको पूर्व दिशा सफा गर्नुहोस् र त्यहाँ बत्ती बाल्नुहोस् । गायत्री मन्त्रको जापबाट पनि रविप्रदोषमा सिद्धि प्राप्त हुन्छ ।
- यस दिन भगवान् सूर्यको कुनै मन्त्र, कवच वा आदित्य हृदय स्तोत्रको पाठ गर्नाले पनि शुभफल प्राप्त हुने गर्दछ ।
- सूर्य र शिवको कृपा प्राप्त भइरहोस् भन्ने व्यक्तिले पिता वा पितातुल्य कुनै पनि व्यक्तिको चित्त दुख्ने काम गर्नुहुँदैन । प्रतिदिन सम्भव भएसम्म खुट्टा समातेर ढोग्ने र आशीर्वाद ग्रहण गर्ने बानी बसाल्नु पर्दछ ।
अब अन्तिम कुरा
हामी अहिले विश्वव्यापी महामारी कोरोनाको चपेटामा छौं । सूर्यमा त्यो विशेष शक्ति र सामर्थ्य छ, जसले हरेक रोगव्याधि र कष्ट निवारण गर्दछ । अहिले लकडाउनको परिस्थितिमा यस व्रतको पालना गर्ने र व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यको रक्षा गर्ने विशेष मौका पाएका छौं । त्यसैले सकेको नियमको पालना गरी आजको यस रविप्रदोषको व्रत लिऔं, प्रदोषकालमा (बेलुका साढे छ बजेपछि साढे आठबजेभित्र) आशुतोष भगवान् शिव र जगत् प्रकाशक सूर्यको पूजा सम्पन्न गरी अन्तिममा घरका सबै बल्ब र पूजास्थलको दियो बाहेक उज्यालो दिने वस्तु निभाएर बाहिर निस्केर परिवारका सदस्यहरूको सङ्ख्याबरावर वा कम्तीमा एउटा दियो बालौं । यसबाट हाम्रो उपासना त पूर्ण हुन्छ नै साथमा विश्वव्यापी महामारीको सङ्कटबाट त्राण पाउने आध्यात्मिक विधानसमेत पूर्ण गर्न सकिन्छ ।

Comments