कन्या राशि राशिचक्रको छैटौं राशि हो र यसको प्रतीक चिह्न पनि हातमा फूल लिएकी कन्या (कुमारी केटी) नै हो । राशिचिह्न कन्या भएकाले यिनीहरु संकोच गर्ने र लजाउने बानीका साथमा जन्मन्छन्, तर शिक्षादीक्षा र परिपक्वताले लजाउने बानी त हट्छ, तर नम्रता यिनीहरुको नैसर्गिक गुण बन्न पुग्छ । यस राशिको राशिस्वामी बुध हो । यो राशिको दिशा दक्षिण हो । यस राशिका व्यक्तिहरु अत्यधिक महत्त्वाकांक्षी र भावुक हुन्छन् । मस्तिष्कको उपयोग गरेर होइन, यिनीहरुले कुनै काम गर्दा मानसिक ऊर्जाको प्रयोग गर्दछन् । यिनीहरुको शारीरिक प्रकृति कोमल हुन्छ । यिनीहरुको झुकाव ललितकलाका कुनै क्षेत्रमा हुने गर्दछ । आफ्नो व्यक्तिगत योग्यता र क्षमताका बलमा यिनीहरु उच्च पदमा पदासीन हुन पुग्छन् । यिनीहरुको बाल्यावस्था, युवावस्था र बृद्धावस्थामा क्रमशः सुखसुविधामा बृद्धि हुँदै जान्छ अर्थात् उमेर परिपक्व हुँदै जाँदा यिनीहरु पेसागत र आर्थिक रुपमा सम्मृद्ध र स्थिर बन्दै जान्छन् । विपरीत परिस्थितिको सिर्जना भए पनि यिनीहरु आफ्नो लक्ष्य र उद्देश्यप्रति अडिग र स्थिर रहने गर्दछन् । सद्गुण, विचारले भरिपूर्ण जीवन, बुद्धिमान्, सादगीपूर्ण नम्र व्यवहार यस राशिका जातकको विशेषता हो र यिनै वैशिष्ट्यले गर्दा निरन्तर उन्नतिशील र प्रतिष्ठित बन्न पुग्दछन् । यिनीहरु विनाकारण रिसाउँदैनन् तर कुनै कारणले रिसाइहाले भने छिट्टै शान्त हुन सक्तैनन् र जोसँग रिसाएका हुन्छन्, त्यसप्रति घृणा र ईष्र्या भावले हेर्ने गर्दछन् । यस राशिका जातकमा बोल्ने र सम्भाषण गर्ने राम्रो शैली हुन्छ । यिनीहरुले आफन्तबाट लाभ प्राप्त गर्न सक्दैैनन्, साथै दाम्पत्य सम्बन्ध पनि सुमधुर बन्दैन । कन्या राशिका स्त्रीहरुको प्रायशः प्रेम विवाह भएको देखिन्छ, तर पुरुषहरुको प्रेमसम्बन्ध सफल हुँदैन । स्त्रीहरुले प्रेमविवाह गरे पनि हतारमा निर्णय गरेर फुर्सदमा पछुताएको पाइन्छ, अतः संक्षेपमा पुरुष होस् वा स्त्री प्रेमसम्बन्धमा असफल राशि मानिन्छ कन्या राशि । धर्म, संस्कृति र परम्पराको निर्वाह गर्न मन पराउँछन्, यात्रा प्रेमी हुन्छन् र जुन कामको जिम्मेबारी लिएका हुन्छन्, त्यसलाई मिहिनेत, लगनशीलता र दृढताका साथ पूर्ण गरेरै छाड्छन् । यस राशिका जातकहरु अपरिचित र नौला मानिससँग छिटै घुलमिल हुन्छन्, यद्यपि यिनीहरुको मित्रता जुनसुकै उमेरसमूह र स्टाटसका मानिसहरुसित हुने गर्दछ । देशपरदेशको भ्रमण गरी यिनीहरुले आफ्नो क्षमता, योग्यता र पहुाचको प्रयोग गरी आर्थिक सम्मृद्धि कमाउन सक्दछन् । कन्या राशिका जातकको शिक्षादीक्षा प्राप्त गर्ने उमेर मनोरञ्जन र खेलबाढमा बितेको देखिनछ, त्यसैलै यिनीहरुको पेसाव्यावसाय र बन्दव्यापारका दृष्टिले यिनीहरुको ढिलो उन्नति हुन्छ । कन्या राशि हुने व्यक्तिको राशिस्वामी बुध, द्विस्वभाव संज्ञा, वैश्य वर्ण, शीतल स्वभाव, वात (वायु तथा स्वास) प्रकुति भएको र दक्षिण दिशाको स्वामी हो । कन्या राशिमा तीन वटा नक्षत्र (उत्तराफाल्गुनी, हस्ता, चित्रा) र नौ वटा अक्षर हुन्छन् – टो, प, पी, पू, ष, ण, ठ, पे, पो । नक्षत्रअनुसार कन्या राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । जुन यस प्रकार छ :–
उत्तराफाल्गुनी नक्षत्रको जन्मफल
उत्तराफाल्गुनी नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – टे, टो, प, पी । तर यस नक्षत्रका अन्तिमका तीन वटा अक्षरहरु मात्र कन्या राशिमा पर्दछन्, त्यसैले तपाईंको नामको अक्षरको सुरुवात टो, प र पी अक्षरबाट भएको छ भने तपाईंको उत्तराफाल्गुनी नक्षत्र र कन्या राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू खुल्ला विचार र आकर्षक व्यक्तित्व भएका हुन्छन् । आफ्ना कार्यकौशलका माध्यमबाट सबै ठाउँमा अमीट छाप पार्न र प्रसिद्धि प्राप्त गर्न सक्दछन् । उच्च शिक्षित र बुद्धिमान् पनि हुन्छन् । सामाजिक रूपले सम्मानजनक पदमा आसीन हुनपुग्छन् । आफ्नो आम्दानीको स्रोत बलियो बनाई जीवन शैली आनन्दमय तुल्याउन सक्दछन् । उच्च लक्ष्य भएका व्यक्तित्व हुन्छन्, आन्तरिक ऊर्जाले भरिपूर्ण हुन्छन्, जुनसुकै काम छरितो ढंगले सम्पादन गर्नु यिनको विशेषता हो । त्यस्तै खाली नबस्नु र जतिबेला पनि सक्रिय रहनु अर्को स्वभाव हो । बुद्धिमान् र होसियार हुन्छन् । भविष्यसम्बद्ध योजना बनाउन र रणनीति तैयार गर्न कुशल हुन्छन् । त्यसैले राजनैतिक क्षेत्रमा प्रवेश गरेमा सफल हुन्छन् । कुटनैतिक दिमाग हुन्छ । महत्त्वाकाङ्क्षी हुन्छन् र आफ्नो महत्त्वाकाङ्क्षा पूर्ण गर्नका निमित्त हरेक प्रयास गर्छन् । लक्ष्य तय गरेर त्यसमा जस्तै परिस्थितिमा पनि पुग्ने चेष्टा गर्छन् । उच्च महत्त्वाकाङ्क्षा भएकाले सानातिना काम गर्न रुचि राख्दैनन् । सरकारी जागिर वा अन्य क्षेत्रमा प्रयास गरेमा तुरुन्त राम्रो सफलता आर्जन गर्न सक्दछन् । यद्यपि बन्दव्यापार वा निजी व्यवसायबाट बढी लाभ हुन्छ । स्थायित्वमा विश्वास गर्दछन्, एक पल्ट थालेको काम वा पेसालाई फेर्ने चाहना हुँदैन । सम्बन्ध र मित्रताका सिलसिलामा पनि यो कुरा लागु हुन्छ । आफूमा सामथ्र्य भए पनि अरुबाट सिक्न खोज्नु यिनीहरूको विशेषता हो । दृढविश्वास र लगनशीलताका साथमा आफ्नो उद्देश्य र लक्ष्यलाई हासिल गर्न तत्पर रहने भएकाले निरन्तर उन्नतिप्रगतिको मार्गमा अघि बढ्ने गर्छन् । पारिवारिक र घरायसी जिम्मेवारीलाई पालन गर्न सक्षम हुन्छन् । सन्ततिको उन्नतिप्रगतिका निमित्त हरसम्भव सहयोग र प्रयास गर्छन् । तर घरका सदस्यलाई दबाव र अनुशासनमा राख्ने बानी हुने हुँदा कहिलेकाहीं गृहस्थ जीवनमा तनावको सिर्जना हुनसक्छ । सामाजिक सम्मानको राम्रो सम्भावना छ र आफ्नो परिवेशमा सम्मानित हुन्छन् । शारीरिक पक्षमा सुस्वस्थ र सुन्दर संरचना हुन्छ । यस नक्षत्रका अधिदेवता अर्यमा हुन् र मुख्य ग्रह सूर्य हुन् । रुद्राक्षको रुखलाई यस नक्षत्रको प्रतीक मानिन्छ र उत्तरा फाल्गुनी नक्षत्रमा जन्मने मान्छेले रुद्राक्ष वृक्षलाई पूजा गर्नुपर्छ, त्यस्तै यस नक्षत्रमा जन्म भएका व्यक्तिले आफ्नो घरको खाली भागमा रुद्राक्षको बिरुवा रोपेर स्याहार सम्भार गर्दछन् ।
उत्तराफाल्गुनी नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘टो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ११ १२ १३ २० २१ २२ २३ ४२ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५० ६० ६१ ६५ ६६ ७१ ७२ ७३ ७४ ७५ ७६ ७७ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘प’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ११ १८ १९ २० २१ २७ ४० ४१ ४२ ४३ ४४ ४५ ४६ ४७ ४८ ५८ ५९ ६० ६१ ६३ ६४ ६५ ६६ ६९ ७० ७१ ७२ ७३ ७४ ७५ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘पी’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०२ ०३ १० १६ १७ १८ १९ २५ २६ २७ ३८ ३९ ४० ४१ ४२ ४३ ४४ ४५ ४६ ५६ ५७ ५८ ५९ ६० ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ६९ ७० ७१ ७२ ७३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
हस्ता नक्षत्रको जन्मफल
हस्ता नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – पु, ष, ण, ठ । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको हस्ता नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू विनम्र, सतर्क र दीर्घ सोचविचार भएका व्यक्तित्व हुन्छन् । उच्च शिक्षित र बुद्धिमान् पनि हुन्छन् । प्राचीन र गुप्त विद्याप्रति रूचि रहेको देखिन्छ, हुनसक्छ पुरातत्वको एउटा शाखामा राम्रै सफलता पाउन सक्दछन् । उच्च विचार भएका व्यक्तित्व हुन्छन् । लेखक वा पटकथा निर्देशक बन्ने क्षमता विद्यमान हुन्छ । व्यक्तित्व आकर्षक र प्रभावशाली हुन्छ । बौद्धिक क्षमता राम्रो हुन्छ । मस्तिष्कमा नयाँनयाँ योजनाहरू विचरण भइरहन्छन् । पठनपाठनमामा तेज हुनुका साथै शब्द खेलाउन पनि सक्षम हुन्छन् । जस्तै ठाउँमा पनि आफ्ना कुरा राख्न सक्दछन् र आफ्नो वर्चस्व कायम राख्न सफल हुन्छन् । बाल्यावस्थादेखि नै कुनै पनि विषयलाई सजिलै बुझ्ने क्षमता हुन्छ, त्यस्तै बोलीवचनमा माधुर्य हुन्छ र व्यवहारमा चतुर्याइँ देखिन्छ । राम्रो बौद्धिक क्षमता हुँदाहुँदै पनि कुनै पनि विषयमा तुरुन्त निर्णय लिन सक्दैनन् । शान्तिप्रिय हुन्छन् र शान्त वातावरण रुचाउने गर्दछन्, कलह र विवादको परिवेशबाट टाढा बस्न मन पराउँछन् । जुनसुकै परिवेशमा पनि नयाँनयाँ मित्र बनाउने गर्छन् । साथीभाइ र मित्रवर्गबाट काम फत्ते गर्न पनि राम्ररी जान्ने हुन्छन् । अवसर पर्दा जुन पक्षबाट आफूलाई लाभ हुन्छ, त्यसैको पक्षमा मत जाहेर गर्छन् । जागिर/नोकरीका तुलनामा व्यवसायबाट राम्रो लाभ हुन्छ र सानै बन्दव्यापार/व्यवसाय गरेमा पनि जोडतोडले प्रगति गर्छन् । आर्थिकस्थिति राम्रो हुन्छ, साथमा अत्यधिक मात्रामा धन हुन्छ । हरेक प्रकारको सांसारिक सुखको आनन्द प्राप्त गर्दछन् र सुखमय जीवन व्यतीत गर्दछन्, पारिवारिक जीवन सुखमय र आनन्दमय हुन्छ । जीवनसाथीबाट पूर्ण सहयोग र सहायता प्राप्त हुन्छ । आफ्ना कार्यहरूबाट समाजमा मानसम्मान र आदर प्राप्त गर्दछन् । धेरजसो आफ्नो स्वार्थलाई महत्त्व दिने भएकाले यिनीहरूलाई स्वार्थी पनि भन्ने गरिन्छ । अन्य व्यक्तिका भनाइलाई खासै ध्यान दिंदैनन्, आफूलाई मनमा लागेको कुरो जे छ, त्यही गर्दछन्, आफ्नो धुनमा मस्त रहने मान्छे हुन्छन् । आफ्नो बुद्धिलाई धनोपार्जनका क्षेत्रमा उपयोग गर्न सक्षम हुन्छन् । यस नक्षत्रको मुख्य ग्रह चन्द्रमा हो, अधिदेवता सावित्री (सूर्य) हुन् । हस्ता नक्षत्रका जातकले सूर्यदेवको आराधना गरेमा ठूलाठूला सिद्धि प्राप्त गर्ने विश्वास गरिन्छ। रिट्ठोको बोटलाई हस्ता नक्षत्रको प्रतीक मानिन्छ, यस नक्षत्रमा जन्मने व्यक्तिले रिट्ठोको रुखको पूजा गर्दछन् र आफ्नो घरवरिपरि रिट्ठो रोपेर त्यसको संरक्षण गर्दछन् ।
हस्ता नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘पु’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०७ १४ १५ १६ १७ २३ ३६ ३७ ३८ ३९ ४० ४१ ४२ ४३ ४४ ५४ ५५ ५६ ५७ ५८ ५९ ६० ६१ ६२ ६५ ६६ ६७ ६८ ६९ ७० ७१ ७७ ७८ ७९ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘ष’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०६ १२ १३ १४ १५ २१ २२ २३ ३४ ३५ ३६ ३७ ३८ ३९ ४० ४१ ४२ ५२ ५३ ५४ ५५ ५६ ५९ ६० ६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ६९ ७७ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘ण’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०४ १० ११ १२ १३ १९ २० २१ २२ २३ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ३९ ४० ४६ ५० ५१ ५२ ५३ ५४ ५९ ६० ६३ ६४ ६५ ६६ ६७ ७७ ७८ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘ठ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०२ ०८ ०९ १० ११ १७ १८ १९ २० २१ २२ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ४४ ४५ ४६ ४८ ४९ ५० ५१ ५२ ६३ ६४ ६५ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
चित्रा नक्षत्रको जन्मफल
चित्रा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – पे, पो, र, रि । तर यस नक्षत्रका सुरुका दुईवटा अक्षरहरु पे र पो मात्र कन्या राशिमा पर्दछन्, त्यसैले यी दुईवटा अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको चित्रा नक्षत्र र कन्या राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू आकर्षक हुन्छन् तथा तिखा र चंचल आँखा तथा विनम्र स्वभाव भएका व्यक्तित्व हुन्छन्, यद्यपि संयमता र धैर्यको कमी हुने गर्दछ । हतार र हडबड गर्ने स्वभाव हुन्छ, कतिपय काममा कुरो बिग्रिएपछि मात्र होस आउँछ । तीक्ष्ण मस्तिष्क र उच्च मानसिक शक्ति हुन्छ । मिलनसार हुन्छन्, सबैसँग राम्रो सम्बन्ध हुन्छ, मित्रताका क्रममा आफूसामु आएका जोसुकै सँग खुल्ला व्यवहार गर्ने बानी हुन्छ । आन्तरिक ऊर्जाले भरिपूर्ण हुन्छन् तथा साहस, हिम्मत र पर्याप्त आत्मबल हुन्छ । कुनै पनि काममा पछि हट्दैनन् र आफ्नो आन्तरिक ऊर्जाशक्तिको उपयोग गरी कार्य पूरा गर्छन् । विपरीत परिस्थितिमा पनि डराउँदैनन्, बरु त्यसलाई डटेर सामना गर्दछन् र कठिनाइमाथि विजय प्राप्त गरी छाड्छन् अनि निरन्तर उन्नतिप्रगतिको दिशामा अघि लम्की रहन्छन् । स्वभावमा पूर्णरूपेण व्यवहारिकताको समावेश हुन्छ, त्यसैले जीवनमा निरन्तर सफल हुन्छन् । कुनै पनि काममा आलटाल गर्ने बानी हुँदैन, जुन काम गर्नु छ, त्यसलाई शीघ्रताका साथमा पूरा गरेर निश्चिन्त हुने गर्दछन् । व्यवहार र स्वभावमा मानवीय गुण देख्न पाइन्छ, समाजमा मानसम्मान र आदर प्राप्त गर्दछन् । चाँडै रिसाउनु यिनीहरूको कमजोरी हुने गर्दछ, ससाना कुरामा उत्तेजित हुनु स्वभावजस्तै बनिदिन्छ । त्यसैले यस बानीलाई संयम भई दबाउन सके राम्रो हुन्छ । यिनीहरू जागिर/नोकरीका तुलनामा व्यवसायलाई महत्त्व दिने गर्छन् । बन्दव्यापार र व्यवसायिक कारोबारमा आफ्नो बुद्धिपक्षलाई उपयोग गर्छन् र त्यसैको बलमा व्यवसायिक जीवनमा अत्यधिक उन्नति गर्छन् । बोल्ने कलामा प्रवीण हुन्छन्, त्यसैले राजनेता, उद्घोषक, शिक्षक, लेखापरीक्षक र वकिलका रूपमा यिनीहरू प्रतिष्ठित हुनसक्छन् । लगनशीलता र परिश्रमका कारण यिनीहरूले जुन काममा पनि हात हाले पनि त्यसलाई पूरा गरेर मात्र विश्राम लिने गर्छन् । आशावादी हुन्छन् । जीवनमा सांसारिक सुखहरूको कमी हुँदैन । हरेक प्रकारको सांसारिक र भौतिक सुखको उपभोग गर्दछन्, अत्यधिक धनवान हुन्छन् र धनसञ्चयको राम्रो क्षमता हुन्छ । जेजस्तो भए पनि आफूसँग सवारी साधनको जोहो हुन्छ । पारिवारिक जीवन सुखमय र आनन्दप्रद हुन्छ, जीवनसाथीबाट पूर्ण सहयोग र सुख प्राप्त गर्दछन् । सन्तानका दृष्टिकोणले पनि भाग्यशाली ठहरिन्छन् । सन्तान अत्यधिक ज्ञानी र चलाख हुन्छन्, तिनले बुद्धि र ज्ञानको उपयोग गरी उन्नति गर्दछन् । मित्रवर्ग र नातेदारबाट साथसहयोग प्राप्त हुन्छ । समग्रमा चित्रा नक्षत्रमा जसको जन्म भएको छ, उसको जीवन आनन्दप्रद र सुखमय हुन्छ । चित्रा नक्षत्रका अधिदेवता त्वष्टा हुन् । त्वष्टा शब्दले इन्द्रलाई बुझाउँछ, त्यसैले यस नक्षत्रका जातकले इन्द्रदेवताको पूजाआजा गर्ने चलन छ। चित्रगुप्तलाई पनि यस नक्षत्रको देवता मानिन्छ। बेलको रुखलाई चित्रा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने मान्छेले बेलवृक्षको पूजा गर्ने गर्छन्, त्यस्तै यस नक्षत्रका जातकले आफ्नो घर वा घरवरिपरिको खाली भागमा बेलको रुख रोपी त्यसको पूजाअजा गर्ने र त्यसको स्याहारसम्भार गर्दछन् ।
चित्रा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘पे ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०७ ०८ ०९ १० १६ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ४७ ४८ ४९ ५० ५२ ५३ ५४ ५५ ५६ ५८ ५९ ६० ६१ ६२ ६३ ६४ ७० ७१ ७२ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘पो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०६ ०७ ०८ ०९ १५ १६ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ४६ ४७ ४८ ४९ ५० ५२ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६० ६१ ६२ ६३ ७० ७१ ७३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
नक्षत्र बमोजिम यी बेग्लाबेग्लै स्वभाव देखिए पनि कन्या राशिका जातकमा पाइने साझा विशेषताहरु निम्नानुसार छन् :-
शारीरिक गठन : कन्या राशिमा उत्पन्न जातक मध्यम कदका हुने गर्दछन् साथै बाटुलो अनुहार, पहेंलो वर्ण, कालो केश भएका, आखिभौं जोडिएका, गर्दन, पाखुरा, पीठ (पिठ्यूँ) आदिमा तिलको दाग वा कोठी भएका व्यक्ति हुन्छन् । त्यस्तै कन्या राशि भएकी स्त्रीको गोरो रंग, स्वच्छ र पुष्ट शरीर, मिलनसार स्वभाव, चलाख, परिश्रमी र मीठो बोलीवचन हुन्छ ।
व्यवसाय : पुस्तकको अध्ययन गर्नु, पण्डित्याइँ गर्नु, वित्त र वाणिज्यको क्षेत्रमा काम गर्नु, लेखक, कवि, अध्यापक, सल्लाहकार, पत्रकार, ज्योतिषी, कृषक र शोधकर्ता हुनु यस राशिको विशेषता हुने गर्दछ, त्यस्तै यिनीहरूको विज्ञान र प्रविधि जोडिएको क्षेत्र, आयातनिर्यात, एकाउन्ट्स, ढुवानी, खेलकुद, यातायात, ठेक्कापट्टा, सञ्चारमाध्यम, दलाली आदिमा समेत रुचि हुने गर्दछ ।
आर्थिक पक्ष : कन्या राशिका व्यक्तिलाई भाग्यमानी ठानिन्छ । आय आर्जनका मार्गमा यिनीहरु किशोरावस्थाको समाप्तितिरै प्रवेश गरिहाल्छन् । सुरुका केही वर्ष यिनी आफ्ना व्यक्तिगत आवश्यकता पूर्ति गर्न र लाउनखानमा नै सम्पूर्ण आम्दानी खर्च गर्दछन, तर पछिल्लो उमेरमा यिनीहरुको राम्रो आर्थिक हैसियत निर्माण भएको देखिन्छ । कन्या राशिका जातकहरु देशपरदेशको यात्रा, व्यापार र व्यवसायबाट धनार्जन गर्दछन् । प्रत्येक कामको लाभहानि विचार गरेरमात्र यिनीहरू काम गर्दछन् ।
चारित्रिक विशेषता : राशिमा बुधको प्रभाव हुनाले यिनीहरू अत्यन्त बुद्धिमान हुने गर्दछन् । यिनीहरूको व्यक्तित्वले प्रत्येक व्यक्तिलाई आफूतर्फ आकर्षित तुल्याउँदछ । यिनीहरूको मस्तिष्क अत्यन्त रचनात्मक हुन्छ । सधैं नवीनतम विचारलाई मनन गर्नु र त्यस्तै काम गर्नु यिनीहरूको स्वभाव हो । यिनीहरुको संगत पाको उमेरका व्यक्ति, पद र पहुँचमा पुगेका व्यक्तिहरु तथा धनीमानी व्यक्तिसँग मात्र हुन्छ । यिनीहरू आफ्नो समस्या सबैलाई भन्दैनन् र जतिसुकै ठूलो समस्या भए पनि यस्ता मानिसलाई देख्दा यिनीहरू कठिनाइमा छन् भन्ने लाग्दैन । सबै खाले भोजन यस्ता मानिसलाई मन पर्छ । जीवनको एउटा कालखण्डमा यिनीहरू केही नयाँ खानेकुरा मन पराउँछन्, तर अर्को भागमा यिनीहरू आफ्नो खानेकुराप्रति अत्यन्त जागरूक हुनपुग्छन् र आफ्नो स्वास्थ्यलाई ध्यान राख्दै भोजन छान्छन् । यस्ता व्यक्तिले सबैका लागि धेरै गर्दछन्, तर सट्टामा उचित व्यवहार नपाउँदा उदास र दुःखी हुनपुग्छन् । यिनीहरूको स्वभावमा अत्यन्त कोमलता र अर्काका लागि ममता हुने गर्दछ, तर स्वभावको यही कोमलता यिनीहरूको व्यक्तित्वको नकारात्मक पक्ष पनि बन्नपुग्छ, जुन अन्य मानिसले सदुपयोग गर्दछन् ।
आजीविका : यस राशिमा जन्मने मानिसहरू बहुमुखी प्रतिभाका धनी हुने गर्दछन् । हरेक चीजलाई सिक्ने र पाउने लालसा यिनीहरूमा हुने गर्छ । यिनीहरू खाली बस्न सक्दैनन् । हरेक समय व्यस्त हुनु र केही नयाँ गर्ने चाहना यिनीहरूमा हुने गर्छ । ऋणसापटीमा वा उधारोमा गएको रकम र सम्पत्ति उठाउने सामथ्र्य कन्या राशिमा कमैमात्र पाइन्छ, त्यस्तै सुनचाँदी जस्ता धातुबाट लाभ लिन सक्दैनन् । यिनीहरुले बहुमूल्यवस्तुको व्यवसाय, गणित, लेखा, ढुवानी, खेलकुद, यातायात, ठेक्कापट्टा, सञ्चारमाध्यम, दलाली र औषधीको कार्यबाट लाभ गर्दछन् ।
प्रेमसम्बन्ध : सामान्यतया मिथुन राशिका जातकहरु साह्रै सफा मनका व्यक्ति हुन्छन् । यिनीहरूलाई आफूसित जोडिएका प्रत्येक व्यक्तिले स्नेह गर्दछन् । यिनमा उत्ताउलोपना र भावुकता पाइँदैन । सातौं भावमा बृहस्पति ग्रहको प्रभाव हुनाले प्रत्यक्ष रुपमा यिनीहरुको प्रेमसम्बन्ध सकारात्मक रहेको देखिंदैन । परोक्ष र गोपनीय ढंगमा यिनीहरु बहुआयामिक प्रेमसम्बन्ध बनाउन सफल भएका देखिन्छन् ।
इष्ट मित्र : यिनीहरूको आचरण शुद्ध र सफा हुन्छ । कसैप्रति पनि आफ्नो मनमा कुनै नराम्रो विचार राख्दैनन् । सबैलाई क्षमा गर्ने बानी, विपरीत परिस्थितिमा पनि धैर्य राख्ने र समस्याको समाधान गर्ने क्षमता आदिले यस्ता मानिसलाई विशिष्ट व्यक्तित्व बनाउँछ । यिनीहरू छलकपट जान्दैनन्, तर कुनै कार्यलाई गर्न जस्तो रणनीतिको आवश्यकता हुन्छ, त्यसको उपयोग गर्दछन् ।
रूचि र चासो : यस्ता मानिसलाई गीतसङ्गीतको रुचि हुन्छ, जसलाई पूरा गर्न यिनीहरू आफ्नो घरमा पूर्ण व्यवस्था गर्दछन् । यिनीहरू आवश्यकता पर्दा सबैको मद्दत गर्दछन् । हरसम्भव सहायता गर्न यस्ता व्यक्ति तैयार रहन्छन् । द्विस्वभाव राशि हुनाले यिनीहरू कहिलेकाहीं धेरै भावुक हुने गर्दछन्, अनि कहिले यत्ति कठोर हुनपुग्छन् कि अरु मानिसहरू छक्क पर्छन् ।
विवाह एवं दाम्पत्य जीवन : सामान्यतया विवाहोपरान्त भौतिक उन्नति हुने देखिन्छ । घरायसी परिबन्द र भौतिक सुखसुविधाका सामाग्री जुटाउने सिलसिलामा यिनी पति वा पत्नीमा आश्रित हुन्छन् । कुलधर्म, कर्तव्यपालना र दायित्वप्रति मिथुन राशिका जातकहरु सचेत हुने गर्दछन् । केही छिटपुट प्रसङ्गबाहेक यिनीहरुको दाम्पत्यजीवन सुखद र वैभवपूर्ण हुने गर्दछ । तर सातौं भावको मालिक बृहस्पति भएकाले यदाकदा दाम्पत्य जीवन खटपटले युक्त देखिन्छ । पति वा पत्नीसँग सामान्य मनमुटाव र किचलो भएको पाइन्छ ।
व्यक्तित्व : पृथ्वी तत्त्व हुनाले जसरी पृथ्वी सबैलाई धारण गर्दछ त्यसरी नै यिनीहरूभित्र पनि सहनशीलता पूर्ण रूपले भरिएको हुन्छ । यिनीहरू जतिसम्म सहन सकिन्छ, सहन्छन् र हरेक कुरालाई सहन गर्ने बानीले गम्भीर रोगलाई निम्त्याउँदछन् । यिनीहरु सामान्यतया दुब्लापातला, अल्पसन्तति भएका, दक्षिण दिशामा गई भाग्योदय गर्ने, शत्रु र प्रतिस्पर्धीको जालझेलमा परिरहने एवं कामबाट अनायासै लाभ प्राप्त गर्ने व्यक्तित्व भएका मानिस हुन्छन् । यस्ता मानिस सामान्यतया भोगविलासमा आसक्त, साधु र सज्जनको भक्त, सुन्दर, दाता, समर्थवान्, कवि र साहित्यकार झैं वार्तालापमा चतुर, बाल्यावस्थाका तुलनामा वृद्धावस्थामा सुखी जीवन भएका, वेदादि शास्त्रमा पारंगत, सबैको प्यारो, नाटक र गीतसंगीतमा आशक्त, परदेशी, स्त्रीबाट दुःखी, आफ्नो मानसम्मान र प्रतिष्ठाका लागि प्रयास गर्ने आदि स्वभाव भएका हुन्छन् । वायु प्रकृति हुनाले यिनीहरू आफूलाई हरेक परिस्थितिमा बदल्न सक्छन् । जतिसुकै कठिन समस्या भए पनि यिनीहरू आफ्नो मानसिक सन्तुलन नियन्त्रित राख्न चाहन्छन् र समस्यादेखि डराउँदैनन् । यिनीहरू सबैलाई साथमा लिएर हिंड्ने प्रयास गर्दछन् । प्रत्येक व्यक्तिलाई खुसी पार्ने प्रयास गर्दछन्, जुन कसैका लागि पनि सम्भव छैन । हरेक कार्यलाई समयमा गर्नु र प्रत्येक वस्तुलाई त्यस्को सही स्थानमा राख्नु यिनीहरूको स्वभाव हो । राशिको मालिक बुध भएका कारण यस्ता व्यक्तिले भाषामा राम्रो पकड र वाणीको कुशलता अनि कुनै पनि कुराको तर्कपूर्ण तथ्य चाहन्छन् । कुनै पनि कुराको ठोस तर्कविना यस्ता व्यक्तिले त्यसलाई स्वीकार गर्दैनन् ।
शिक्षा : शिक्षाका दृष्टिकोणले कन्या राशिका जातकलाई अब्बल दर्जाका व्यक्ति मान्न सकिन्छ । विवाहोपरान्त पनि यिनीहरुले ज्ञानार्जन गर्ने र सीप तालिम आदि सिक्ने अनुकूलता प्राप्त गर्दछन् । जुन विषयमा जति गहिरो ज्ञान हुन्छ त्यसप्रति यिनीहरूको झुकाउ त्यति नै धेरै हुन्छ, त्यसैले गणित जस्तो कठिन विषयप्रति यिनीहरूको झुकाउ धेरै हुन्छ ।
स्वास्थ्य : चिसो र सर्दी कन्या राशिका जातकको रोगको मुख्य कारण हुने गर्छ । खोकीको रोग तथा सर्वाङ्कमा पीडा, विशेष गरी भुँडी र कटिमा दुःखाइको अनुभूति भैरहने गर्दछ । बाल्यावस्था सामान्यतया चकचके र चुलबुले हुन्छन्, त्यसैले अग्लो ठाउँबाट लड्ने एवं आगो र पानीको चपेटामा पर्ने सम्भावना हुन्छ । किशोरावस्था र युवावस्थामा सामान्यतया निरोगी हुन्छन् । ४० वर्षको आसपासमा मानसिक तनाव र उल्झनमा फँस्ने सम्भावना हुन्छ, विशेषतः यस राशिका स्त्रीहरु मध्ययुवावस्थामा मनोरोग र डिप्रेसनका सिकार भएको देखिन्छ ।
घरायसी वातावरण : यस राशिका जातकहरुको बन्धुबान्धव, परिवारजन, छरछिमेकी आदिमा सुमधुर सम्बन्ध रहने गर्दछ । कर्तव्यनिष्ठ पिता, वात्सल्यमयी आमा, आज्ञाकारी पुत्रपुत्री, जिम्मेबार पति र पतिव्रता पत्नी बन्ने योग्यताले भरिपूर्ण हुन्छन् । प्रारम्भमा सबै कुरो सहनु र एक दिन अचानक रिस देखाउनु यस्ता मानिसका लागि र सामु हुने अर्को व्यक्ति दुबैका लागि घातक हुन्छ, त्यसैले समस्यालाई सुरुमा नै मेट्दै हिंड्ने बानी बनाउनुपर्छ ।
देवता : भगवान् विष्णु, भगवान् गणेश
भाग्यशाली रत्न : राशि रत्न : पन्ना, भाग्य रत्न : हीरा वा ओपल
अशुभ रत्न : मुगा
शुभ महिना : श्रावण, मार्गशीर्ष, फाल्गुन
अशुभ महिना : वैशाख, भाद्र, पौष
शुभ राशि : बृष, कन्या, मकर, मीन
अशुभ राशि : मेष, कुम्भ
शुभ दिन : बुधबार, शुक्रबार, शनिबार
अशुभ दिन : मंगलबार
शुभ दिशा : ईशान, दक्षिण
अशुभ दिशा : दक्षिण
शुभ अंक : २, ३, ६, ७
अशुभ अंक : १, ८
शुभ रंग : हरियो, सेतो
अशुभ रंग : गुलाबी