हाम्रो सनातन हिन्दू संस्कृतिमा जीवनचर्याका प्रत्येक कामका लागि विभिन्न चाडपर्वले प्रेरणा प्रदान गर्ने गरेको देख्न पाइन्छ । जस्तै माता, पिता तथा आफ्ना पुर्खा र पूर्वजको श्रद्धा र सम्मानका लागि हिजोआज पितृपक्ष (सोह्रश्राद्ध) पर्व जारी छ, यतिवेला तर्पण र श्राद्ध गरी पितृ र कुलका अग्रजहरूको आराधना गरिंदैछ र तिनको आशीष र प्रसन्नताबाट सुन्दर भविष्यका लागि प्रार्थना र वन्दना हुँदैछ । अहिले घरघरमा श्राद्धको आयोजना भइरहेको छ, त्यस्तै खोलाखोल्सा, तलाउ, मठमन्दिर जताजतै श्राद्ध गर्नेको उपस्थिति देख्न सकिन्छ । पितृपक्षमा हाम्रा पूर्वज पुरुषहरूमात्र होइन, हाम्रा आमाहजुरामाहरूको पनि उत्तिकै आदर र भक्तिभावका साथमा पूजा भइरहेको अवस्था छ । मातृशक्ति र प्रकृतिको उत्कृष्ट अनुसरण हाम्रा प्रत्येक चाडपर्व र संस्कारले द्योतन गरेको पाइन्छ । मातृदेवो भव भन्दै आमालाई पनि हामी देवताको दर्जामा राखी श्रद्धा र भक्तिभाव प्रकट गर्ने गर्दछौं । आज आश्विन कृष्णपक्षको नवमी तिथि हो । यो तिथि आमाको सम्झनाका लागि विशिष्ट तिथि हो । यस तिथिलाई मातृनवमी भन्ने गरिन्छ ।
पितृपक्षको नवमी तिथिको ठूलो महत्त्व छ । सनातन धर्ममा पूर्वजहरूको श्रद्धा, भक्तिभाव र सम्मानका निमित्त पूरै पन्ध्र दिनको एउटा पक्षको व्यवस्था गरिएको छ । सोह्र दिनसम्म गरिने श्राद्धमा सबै तिथिहरू समाहित हुन्छन्, हाम्रा पितापुर्खाहरू जो जो जुनजुन तिथि समातेर बित्नु भएको छ, ती ती तिथिहरू यस पक्षमा आउने गर्दछन् र हामीले तिनको सम्झना र आदरका निमित्त क्षमताले भ्याएसम्म तर्पण, सिधादान, ब्राह्मणभोजन र श्राद्धादि कर्म गर्ने गर्दछौं । यसरी नै यस पक्षभित्र स्त्रीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको देख्न पाइन्छ । सोह्रश्राद्धमा पर्ने नवमी तिथि यसैको नमूना हो, जसलाई मातृ नवमी भन्ने गरिन्छ ।
मातृ नवमीका दिन खासगरी बुहारीहरूले आफ्ना दिवङ्गत सासु र ससुराको स्मरण र सम्मानका लागि श्रद्धाञ्जली समर्पण गर्न सिधादान र ब्राह्मण भोजन गराउने गर्दछन् । त्यस्तै अविधवा अर्थात् पति ज्युँदै हुँदा परलोक भएका महिलाहरूको श्राद्ध पनि यसै नवमीका दिन गर्ने चलन छ । अतः पिता जीवित नै हुनुहुन्छ, तर आमाको देहावसान भएको छ भने तिनका सन्ततिले अनिवार्य रूपमा यस दिन श्राद्ध गर्नुपर्दछ । त्यस्तै आफ्ना कुलमा दिवङ्गत भएका समस्त महिलाहरू (आमाहरू) को श्राद्ध पनि यसै दिन गर्ने चलन छ ।
आश्विन महिनाको कृष्ण पक्षको नवमी तिथिका दिन कुनै पनि नवमी तिथि समातेर परलोक भएका पितृहरूको प्रसन्नताका निमित्त नवमी श्राद्ध गर्ने गरिन्छ । यद्यपि यो तिथि आमा र आमासरहका पूर्वज विवाहित महिलाहरूको श्राद्धका लागि सर्वश्रेष्ठ दिन पनि हो । त्यसैले मूलरूपमा यो तिथि आमाका लागि छुट्याइएको तिथि हो भन्दा अत्युक्ति हुँदैन । शास्त्रले नवमीमा मातृश्राद्ध गरेमा श्राद्धकर्ताले धनसम्पत्ति, ऐश्वर्य र दीर्घ जीवन प्राप्त गर्ने बताएको छ । यस दिन आफ्ना दिवङ्गत सासु/ससुराको श्रद्धाका निमित्त सिधा र दक्षिणा प्रदान गरी ब्राह्मणभोजन गराउने स्त्रीले अखण्ड सौभाग्य र दीर्घजीवन प्राप्त गर्दछन् भनी विष्णुपुराण श्राद्धप्रसङ्गमा उल्लेख गरिएको छ ।
विष्णु पुराणको निर्देशनअनुसार नवमीको दिन सामर्थ्यअनुसार कम्तीमा एक जना सौभाग्यवती ब्राह्मणीका साथमा ब्राह्मण भोजन गराउनु उचित हुन्छ । यस दिन सर्वप्रथम नित्यकर्मबाट निवृत्त भई धारा, पधेंरा वा कुनै नदी/तलाउमा गई दक्षिण फर्केर तामाको पात्रमा कुस, तिल र शुद्ध जल मिसाई उक्त जलले आफ्ना दिवङ्गत पितापुर्खाहरूलाई अञ्जुलीले तर्पण दिनु पर्दछ । त्यसपछि घरमा आई मृत मातापिता वा अन्य पूर्वजहरूको प्रतिमा वा चित्रमा तुलसीको माला पहिर्याउनु पर्दछ । त्यसपछि श्राद्ध गर्ने हो भने ब्राह्मण डाकी विधिवत श्राद्ध गरी ब्राह्मणभोजन गराएपछि आफूले पनि भोजन गर्नुपर्दछ । श्राद्ध नगर्ने भए गीताको नवौं अध्यायको पाठ गरी वा श्रवण गरी ब्राह्मणलाई सीधा दिई भोजन ग्रहण गर्नु पर्दछ । घरपरिवारभन्दा टाढा वैदेशिक स्थलमा बस्नुभएका आमा नहुने व्यक्तिले पनि गीताको नवौं अध्यायको एक आवृत्ति पाठ गरेमा दिवङ्गत आमाको आत्माले मुक्ति प्राप्त गर्नुका साथै उनको सहानुभूति, आशीर्वाद र स्नेह प्राप्त गर्न सकिन्छ । अस्तु ।