पूजाकोठाको वास्तु

दिशा चारवटा र विदिशा चारवटा हुन्छन् । त्यसरी नै तल (भुइँतिर) र माथि (आकाशतिर) बाट पनि दिशा (Direction) को बोध हुन्छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशा हुन् । त्यस्तै पूर्व र दक्षिणको कुनालाई आग्नेय, दक्षिण र पश्चिमको कुनालाई नैऋत्य, पश्चिम र उत्तरको कुनालाई वायव्य र उत्तरको कुनालाई ईशान भन्ने गरिन्छ र यी विदिशा हुन् । यसरी पूर्वीय वास्तुशास्त्रमा दिशा, विदिशा, तल र माथि गरी दसवटा दिशाको गणना हुन्छ । तीमध्ये ईशान, आग्नेय, नैऋत्य, वायव्य र ब्रह्मस्थलको चर्चा विशेष रूपले हुने गर्छ । उत्तर र पूर्वको मिलनविन्दु मानिने कोणलाई ईशान कोण भनिन्छ । पूर्व र दक्षिणको मिल्ने कोणलाई आग्नेय कोण भनिन्छ । दक्षिण र पश्चिमको कुनालाई नैऋत्य कोण भनिन्छ, अनि पश्चिम र उत्तरको मिल्ने कोणलाई वायव्य कोण भनिन्छ । साथै घरको सबभन्दा बीचको विन्दुलाई ब्रह्म स्थल भन्ने गरिन्छ । मान्छेको शरिरमा ब्रह्मस्थल भनेको नाभि हो, जसरी नाभिस्थल मनुष्यका लागि महत्त्वपूर्ण र संवेदनशील हुन्छ, त्यसरी नै घरको बीचभाग वा ब्रह्मस्थल संवेदनशील स्थान हो ।

आजको प्रसङ्ग ईशान कोणसँग सम्बद्ध छ । वास्तु पुरुषको शिरोभाग हो - ईशान कोण । यो प्रत्येक घरको उत्तर र पूर्वको कुनामा पर्दछ । जसरी मानवको अस्तित्व र प्राण टाउकोविना सम्भव छैन, त्यसरी नै प्रत्येक घरमा ईशान कोण शुद्ध भएन भने त्यस घरमा बस्ने व्यक्तिको उन्नतिप्रगति र सुस्वास्थ्यको कल्पना गर्न सकिंदैन । अन्य स्थानको विकल्प हुन सक्छ, तर ईशान कोणमा देखिएको वास्तुदोषको कुनै उपाय छैन । ईशान कुनुमा दोष देखिएमा घरका सदस्यहरू रोगी, दुःखी, ऋणी र अल्पायु हुन्छन् भनी वास्तुशास्त्रमा उल्लेख भएको छ । त्यसैले ईशान कोण सधैं खुल्ला, सफा र हलुका हुनु पर्दछ । जसरी हाम्रो शिरमा पनि भारी र गह्रुँगो वस्तु राख्यो भने हामी उठ्न सक्दैनौं, त्यसरी नै ईशान कोणमा भारी र अशुद्ध वस्तुको स्थापना गर्यौं भने वास्तुदोष हुन जान्छ । ईशान कुनामा सम्भवभएसम्म पूजाकोठा भए अति उत्तम हुन्छ । त्यहाँबाट आउने सकारात्मक उर्जा घरभरि प्रवाह हुन्छ । जसले गर्दा घरपरिवारमा सुख, शान्ति, समृद्धि र आरोग्यता प्राप्ति हुन्छ । ईशान कोठामा खुल्ला बरण्डा बनाउनु पनि उत्तम मानिन्छ । त्यस्तै यस कुनामा बालबालिकाको अध्ययन कक्ष बनाउनु पनि राम्रो मानिन्छ । हामी उत्तरी गोलार्द्धमा बसोबास गर्छौं, त्यसैले ईशान कुनामा नै बिहानको सूर्यको किरणले सर्वप्रथम प्रवेश गर्दछ, सूर्यको प्रातःकालिक प्रकाशले भौतिक र आध्यात्मिक विकासमा सघाउ पुर्याउँदछ, पढाइलेखाइ, उन्नतिप्रगति आदिका लागि उक्त ऊर्जा सकारात्मक हुन्छ । शौचालय र स्नानागार (Toilet & Bathroom) मा अत्यधिक नकारात्मक ऊर्जाको सम्प्रवाह हुने गर्दछ, त्यसैले ईशान कुनामा कुनै पनि हालतमा ट्वाइलेट र बाथरुम निर्माण गर्नु हुँदैन । यसो गरेमा घर पूर्ण रूपले दुषित भएको ठहरिन्छ र त्यस घरमा बसोबास गर्ने सदस्यले अनेकानेक कठिनाइको सामना गर्नुपर्दछ र स्वास्थ्यपक्ष कहिल्यै पनि सबल बन्न सक्दैन । त्यस्तै भान्साघरमा विभिन्न खानेकुरा पकाउन जति बेला पनि आगो बाल्ने काम हुन्छ । आगोले सकारात्मक ऊर्जाको नाश गर्दछ । त्यसैले ईशान कोणमा भान्साघर पनि बनाउनु उपयुक्त हुँदैन । भर्याङ आवागमनको मुख्य माध्यम हो । यसमा पनि नकारात्मकताको मात्रा बढी हुन्छ, त्यसैले यस कुनामा भर्याङ बनाउन पनि निषेध गरिएको छ । अतः सारांशमा भन्ने हो भने ईशान कक्ष देवस्थल भएकाले यस ठाउँलाई यथासम्भव पूजाकोठाका रूपमा प्रयोग गर्नु पर्दछ । पूजाकोठा बनाउने सम्भावना छैन भने पनि यस ठाउँलाई खुल्ला र पवित्र राख्नु पर्दछ भन्ने वास्तु नियम छ ।

सनातन संस्कृतिमा पूजा र धर्मकर्मको अत्यन्त महत्त्व छ । जुनसुकै जातजाति वा परम्परालाई मान्ने परिवार किन नहोस्, कुनै न कुनै ढंगमा पूजाआजा गर्ने र भक्ति भाव एवं परम्परालाई निर्वाह गर्ने चलन हुन्छ । त्यसैले सामान्यतया प्रत्येक घरमा छुट्टै पूजाकोठाको व्यवस्था गरिएको हुन्छ । घर बनाउने बेलामा आममानिसहरू भौतिक संसारका लागि आवश्यक कोठाचोटा र सुख तथा विलासिताका चिजबिजको व्यवस्थापनका पक्षमा सचेत भएको देखिन्छ, तर आध्यात्मिक विषयहरूउपर उनीहरू अन्तिममा मात्र सोच्दछन् । तर त्यसो नगरेर सुख, शान्ति र सम्मृद्धिको मुख्य कारक मानिएको आध्यात्मिक विषयवस्तुको ख्याल गर्नु वास्तु नियमको महत्त्वपूर्ण पाटो हो । त्यसैले घर बनाउँदा वास्तु नियमलाई अनुसरण गरी पूजाकोठाको समुचित निर्माण गरेमा गृहनिर्माताले त्यस घरबाट इच्छित सुख प्राप्त गर्न सक्दछ । मन्दिर र पूजाकोठा शब्दको श्रवण गर्दा दुबै शब्दले पूजाआजा गर्न तोकिएको ठाउँ भन्ने बुझिन्छ । तर मन्दिर सार्वजनिक ठाउँमा बनाइन्छ, त्यसको स्वामित्व एउटा व्यक्ति वा परिवारको हुँदैन । त्यसबाट गरिएको आम्दानी मन्दिरकै भौतिक विकासका लागि सबैको सल्लाहले खर्च गर्ने गरिन्छ, तर पूजाकोठामा एकल स्वामित्व हुन्छ, घरका सदस्यबाहेक अन्य व्यक्तिले उक्त कोठामा विशेष अवसरबाहेक सामान्य अवसरमा प्रवेश गर्ने वातावरण हुँदैन । घरको पूजाकोठाको सार्वजनिक स्वामित्व पनि हुँदैन र नियमित र व्यवस्थित आम्दानीको बाटो पनि हुँदैन । त्यसैले प्रकृति एउटै भए पनि यी दुई शब्दको भावार्थ फरकफरक छ ।

वास्तुशास्त्र र मन्दिर
सनातन धर्ममा मन्दिरलाई अत्यन्त पवित्र स्थान भनेर तोकिएको छ । कुनै पनि देवालयमा पुग्नासाथ मानिसका मनमा भएका कुविचार र मनोविकार तुरुन्त नाश हुन्छ । मन्दिर वा देवालयको दर्शनभ्रमण गर्दा मानिसको मनले शान्ति प्राप्त गर्दछ । त्यसैले मन्दिर त्यस्तो गरिमायुक्त स्थान हो, जहाँ पुगेपछि मनुष्यले सुख, समृद्धि र सौभाग्यको वरदान प्राप्त गर्दछ । तर पूर्वीय दर्शनमा आधारित वास्तुशास्त्रले घर वरिपरि मन्दिरको निर्माण गर्नु राम्रो हुँदैन भनेको छ । हामीले पुराना गाउँ वा टोलको निरीक्षण गर्यौं भने पनि देख्न पाउँछौं, त्यहाँ स्थापना गरिएका मन्दिर वा देवालय गाउँको एउटा छेउमा वा मानिसहरूको ओहोरदोहोर पातलो हुने अगचिलो स्थानमा गरिएको हुन्छ । यसको मूल तात्पर्य देवालयको छेउछाउमा अनावश्यक मानिसहरूको आवागमन नहोस् र वातावरण सदैव सफा रहोस् भन्ने पनि हुनसक्छ । वास्तुशास्त्रमुताबिक आवासस्थल वरपर मन्दिर भएको राम्रो मानिंदैन । वास्तुविद्हरू अझ घरको मुख्यद्वारअगाडि भएको मन्दिरले त्यस घरमा किसिमकिसिमका सङ्कट निम्त्याउने कुराको सङ्केत गर्दछन् । त्यस्तै मन्दिरको पछाडिपट्टिको पिठ्युँको भाग र आफ्नो घरको पिठ्युँको भाग आमनेसामने छ भने त्यस घरमा राजा नै आएर बसे पनि भिखारी बन्न पुग्दछ भन्ने मान्यता छ ।

वास्तुशास्त्र र पूजाकोठा वा पूजाघर
सनातन हिन्दू धर्म पूर्णत: आस्थामा केन्द्रित परम्परा हो । निश्चय नै प्रत्येक सनातन धर्मावलम्बी हिन्दू परिवारमा पूजापाठ गर्ने एउटा निर्धारित स्थान हुन्छ । तर घर बनाउँदा पूजा गर्ने स्थानको चयन गर्न गरिएको कमजोरीका कारण मनुष्यले अनेकानेक नकारात्मक पक्षको सिकार हुनु पर्दछ । जीवनमा जति प्रयास गरे पनि उसकहाँ आनन्द, खुसी, शान्ति र निरोगिताको अभाव भएको देखिन्छ । त्यसैले घरमा पूजास्थलको निर्माण गर्दा र प्रतिमा वा मूर्तिको स्थापना गर्दा निकै चनाखो र सावधान हुनु अनिवार्य हुन्छ । वास्तु शास्त्रमा पूजाकोठाको दिशा, स्थान, रङ र मूर्तिमा प्रयोग गरिने धातु आदिका विषयमा चर्चा गरिएको पाइन्छ । आँफू बस्ने घरमा पूजाकोठाको निर्माण गर्दा ख्याल राख्नु पर्ने केही नियमहरू :-

         पूजाकोठा सामान्यतया घरको ईशान कुनामा स्थापना गर्नु पर्दछ । यसरी पूजाकोठा घरको ईशान कोण (उत्तर-पूर्व दिशा) मा बनाउँदा घरमा ज्ञानको वृद्धि र आत्माको शुद्धि हुन्छ भन्ने मान्यता छ । ईशान कुनामा सम्भव छैन भने घरको पूर्व वा पश्चिम दिशामा पूजाकोठाको निर्माण गर्न सकिन्छ । अरु जुन दिशा भए पनि देवी- देवताको मूर्ति, चित्र वा प्रतिमा घरको दक्षिणी भागमा स्थापना गर्न र टाँस्न निषेध गरिएको छ ।

         पूजाकोठामा पस्ने ढोकाको सामुन्ने मूर्ति वा प्रतिमा स्थापना गर्नु पर्दछ । पूजाकोठामा स्थापना गरिएका मूर्ति वा प्रतिमाको मुख कि उत्तर दिशातर्फ फर्किएको हुनुपर्छ कि दक्षिण दिशामा । तर तपार्इं पूजाकोठामा गणेशको मूर्ति वा प्रतिमा राख्दै हुनुहुन्छ भने घरको पूर्व वा पश्चिम दिशामा पूजाकोठा बनाउनु उपयुक्त हुँदैन । भगवान् गणेशको मुख सदैव उत्तर दिशातर्फ फर्किएको हुनु पर्दछ । त्यसैले पूजाकोठाको दक्षिणी भागमा गणेश जीको मूर्ति स्थापना गर्नुपर्दछ । त्यस्तै तपार्इं हनुमानको विग्रह पूजाघरमा स्थापना गर्दै हुनुहुन्छ भने उक्त मूर्तिको दृष्टि दक्षिण दिशामा पर्ने गरी स्थापना गर्न सक्नुहुन्छ । अर्थात् हनुमानको स्थापना पूजाघरको उत्तरी भागमा समुचित हुन्छ । कुनै पनि गृहस्थीले आद्याशक्ति जगन्माता भगवती वा महाकालीको मूर्ति घरैमा स्थापना गरी पूजाआजा गर्न निषेध गरिएको छ । तर नवरात्र (बडा दशैं र चैते दशैंको दुर्गापक्ष) एवं गुप्त नवरात्र (आषाढ र पुस महिनाको शुक्लपक्ष) मा वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी घरभित्र माता दुर्गा वा महाकालीको मूर्ति स्थापना गर्न पाइन्छ । त्यसरी दुबै किसिमका नवरात्रमा पुजिएकी भगवतीको मूर्तिलाई पूजापछि नदीमा लगी सेलाई दिनु पर्दछ । त्यस्तै घरभित्र शिवालय स्थापना गर्न पनि मनाही गरिएको छ, तर पाञ्चायन देवताका साथमा शिवजीको पूजा गर्दा मूर्ति स्थापना गर्नुहुन्छ । अन्य देवीदेवताको हकमा तिनको प्रतिमा वा मूर्ति पूजाकोठाको पूर्व अथवा उत्तर दिशामा भित्ताको छेउमा राख्नु पर्दछ । यदि धेरैवटा प्रतिमा स्थापना गरिंदैछ भने ती प्रतिमाको एकआपसमा नजर जुध्नु हुँदैन । आफू सुत्ने कोठामा कहिल्यै पनि देवीदेवताको मूर्ति स्थापना गर्नु वा टाँस्नु हुँदैन । पूजा स्थलमा स्थापना गरिएका प्रतिमा र मूर्ति यसरी स्थापना गर्नु पर्दछ, जसरी पूजा गर्न बस्ने व्यक्तिले आफ्नो मुख दक्षिण दिशापट्टि फर्काउनु नपरोस् । पूजाघरभित्र कुनै पनि खण्डित (टुटेफुटेका) मूर्ति वा च्यातिएका तस्बिर राख्नु हुँदैन । मूर्तिको आकार पनि भरिसक्य सानो हुनु उत्तम मानिन्छ । पूजाकोठामा प्रयोग गरिने पूजासामानहरू कोठाको पश्चिम वा दक्षिण दिशामा राख्नु पर्दछ । त्यस्तै पूजाकोठामा दियो बाल्ने ठाउँ वा हवन कुण्डको निर्माण गर्दा दक्षिण र पूर्वको कुना (आग्नेय दिशा) मा बनाउनु पर्दछ ।


         सामान्यतया घरका सदस्यहरूको ओछ्यानको सिराने पूर्व वा दक्षिण दिशामा हुनु अनिवार्य मानिएको छ । तर सुत्दा तपार्इंको खुट्टा पूजाघर वा पूजास्थलतर्फ फर्किनु राम्रो मानिंदैन । त्यसैले पूजाघरतिर खुट्टा फर्किने गरी कहिल्यै पनि सुत्नु हुँदैन ।

         सरसफाइ गर्ने क्रममा घरभित्र रहेको मन्दिर वा पूजाप्रकोष्ठका काम नलाग्ने वस्तु जम्मा पारी कुनै गङ्गागामिनी ठूलो नदीमा सेलाउनु पर्दछ । पूजामा प्रयोग भएका सामान फेरि घरभित्र आइपुगेमा अनिष्ट हुन्छ भन्ने मान्यता छ ।

         पूजाकोठामा आउने प्रकाश पूर्व दिशाबाट आएमा उत्तम मानिन्छ । त्यसैले पूजाकोठाको पूर्व दिशा झ्याल वा आँखिझ्याल राख्नु पर्दछ, तर पश्चिम दिशामा कुनै पनि झ्याल, ढोका वा आँखिझ्याल राख्नु राम्रो मानिंदैन ।



         अहिले काठको अभाव खट्किंदै गएको देखिन्छ । त्यसैले घर बनाउँदा झ्याल, ढोका आदिमा पनि फलाम वा स्टीलको प्रयोग सुरु भएको देखिन्छ । तर पूजाकोठाको निर्माण गर्दा सम्भव भएसम्म त्यहाँ प्रयोग हुने झ्याल, ढोका वा आँखिझ्यालमा काठको प्रयोग गर्नु नै उत्तम मानिन्छ, सबै सम्भव नभए पनि कम से कम ढोका चाहिं काठको नै बनाउनु पर्दछ । त्यस्तै पूजाकोठाको मूल ढोकामा दुई वा जोडी सङ्ख्यामा पल्ला हालेको राम्रो मानिन्छ ।

         कतिले घरमा मन्दिर वा पूजाकोठाको निर्माण गर्दा गजुर राख्ने वा गुम्बज शैलीमा मन्दिरजस्तो बनाई टुप्पोमा कलश राख्ने गरेको पाइन्छ, तर त्यसो गर्नु हुँदैन । गजुर राख्ने वा टुप्पोमा कलश राख्ने काम मन्दिरमा मात्र गर्नु पर्दछ । व्यक्तिले बसोबास गर्ने घरमा गुम्बज (गजुर)को निर्माण गर्न र टुप्पोमा कलश राख्न वास्तुशास्त्रले निषेध गरेको छ ।

         वास्तु नियममा घरमा जुन कुना वा दिशामा पूजाकोठा र देवस्थलको निर्माण गरिन्छ, त्यस क्षेत्र वा दिशामा शौचालय र स्नानगृहको निर्माण गर्न निषेध गरिएको छ ।

         धेरै तला भएको घर छ भने कुनै तलामा पनि पूजाकोठाको ठिक मुनि वा माथि पनि शौचालय वा स्नानगृहको निर्माण गर्नु हुँदैन ।

         वास्तु नियमअनुसार घरमूलीले पूजाकोठामा नै शयन गर्ने कक्ष बनाउनु हुँदैन ।

         पूजाकोठाको भित्तामा हलुका पहेंलो रङको प्रयोग गर्नु शुभकारक हुन्छ । त्यस्तै पूजाकोठाको भुइँमा पनि हलुका पहेंलो रङको वा हलुका सेतो रङको मार्बलको प्रयोग गर्नु राम्रो मानिन्छ ।


यसरी पूजाकोठाको निर्माण गर्दा यी सानातिना विषयमा ध्यान दिन सकेमा त्यस घरमा सुखसम्मृद्धि, सन्तुष्टि, निरोगिता र आनन्दको अभिबृद्धि हुन्छ ।