भण्डारण कक्ष (Store Room) र वास्तु
धनधान्य र सम्पत्तिको व्यवस्थापन गर्ने स्टोर रुम कता हो भन्ने प्रश्नको जवाफमा वास्तु शास्त्रले पूर्व वा उत्तर दिशामा गर्नुपर्छ भनी निर्देशन गर्दछ । तर उत्तर र पूर्वदिशाबाहेक अन्य दिशामा पनि धनसञ्चय गर्न सकिन्छ, यद्यपि तिनको वैशिष्ट्य भिन्नाभिन्नै हुन्छ । उत्तरदिशालार्इ कुबेरको दिशा मानिन्छ, त्यसैले उत्तर दिशामा भण्डारकक्ष बनाउने परम्परा छ । यद्यपि नगद, चलसम्पत्ति, बहुमूल्य धातु वा रत्न, आभूषणादि राख्ने बाकस वा आलमारी दक्षिण वा पश्चिमको भित्तामा राख्नु उपयुक्त हुन्छ । पूर्व, पश्चिम आदि चारैवटा दिशामा भण्डारकोठा बनाउँदा वास्तुशास्त्रले केकस्तो फल औंल्याएको छ, सुरुमा त्यस विषयमा चर्चा गरौं ।
पूर्व दिशा :- पूर्व दिशाको अधिपति सूर्य र शुक्र ग्रहलार्इ मान्ने गरिन्छ । त्यसैले यस दिशामा स्टोररुम बनाउनु राम्रो मानिन्छ । ठिक पूर्व दिशा वा पूर्व र उत्तरको कुना र्इशान दिशामा भण्डारगृह बनाएमा कुनै दोष हुँदैन, तर दक्षिण र पूर्वको कुना आग्नेय दिशा धन सङ्ग्रहका लागि बाधक हुन्छ । आग्नेय दिशामा भण्डारकक्षको निर्माण गर्यो भने फाल्तु खर्चको मात्रा बढ्छ । निरर्थक धनव्यय हुनाले घरमूली जतिखेर पनि आर्थिक सङ्कटमा रहने गर्दछ । ऋणसापटी लिएमा तिर्न सकिंदैन र गएको ऋणसापटी फिर्ता आउने सम्भावना नै देखिंदैन । आफन्त र नातागोताले धन पचाउने सम्भावना हुन्छ । आर्थिक सङ्कटको बोझ बढ्नाले गृहिणीमा पनि डिप्रेसन र चिडचिडेपना बढ्न गर्इ अनीष्ट हुने खतरा पनि हुन्छ । त्यसैले पूर्व दिशामा स्टोररुम बनाए पनि आग्नेय कुनामा कुनै हालतमा बनाउनु हुँदैन ।
दक्षिण दिशा :- वास्तुशास्त्र र ज्योतिषको सिद्धान्तअनुसार दक्षिण दिशाको स्वामी मङ्गल ग्रहलार्इ मान्ने गरिन्छ । मङ्गल ग्रह स्थिरताको प्रतीक हो । त्यसैले यस दिशामा भण्डारगृह बनाउँदा धन स्थिर हुने हुँदा अशुभ नै मानिंदैन तर धनमा बृद्धि नहुने हुँदा दक्षिण दिशाको स्टोररुम त्यत्ति शुभ हुन्न । अझ दक्षिण र पश्चिमको कुनामा स्टोररुममा राहु ग्रहको अधिकार हुन्छ । त्यसैले त्यस ठाउँमा परिश्रम र मिहिनेत गरी राखिएको धन टिक्दैन । तर गलत बाटोबाट आर्जन गरिएको धनका लागि दक्षिणपश्चिम अर्थात् नैऋत्य कुना ठिकै हुन्छ किनभने राहु र केतुले भ्रष्टाचार, कमिशन, दलाली आदि गैरकानुनी मार्गको धनलार्इ प्रश्रय दिने गर्दछन् ।
पश्चिमदिशा :- प्रत्येक घरमा पश्चिम दिशाको स्वामी शनिश्चर ग्रहलार्इ मान्ने गरिन्छ । यदि घरमूलीले आफू स्वयंले काम गर्दैन, सन्तति वा नोकरचाकरको सहयोगबाट धनार्जन गर्दछ भने पश्चिम दिशामा धनसङ्ग्रह गर्ने कोठाको निर्माण गर्नु उपयुक्त हुन्छ । तर आफैंले हातका नङ्ग्रा खियाएर वा बुद्धि लगाएर धनआर्जन गरेको छ भने यस ठाउँमा राखिएको धन सञ्चित हुनसक्दैन । पश्चिम र उत्तरको कुनालार्इ वायव्य दिशा भन्ने गरिन्छ, यस दिशामा केतुको अधिकार हुन्छ । यस स्ठानमा स्टोररुम बनाउँदा बजेट असन्तुलित हुने खतरा हुन्छ, त्यसैले वायव्य कुनामा भण्डारण कक्ष बनाउनु राम्रो मानिंदैन ।
उत्तरदिशा :- उत्तर दिशाको स्वामी ग्रह बृहस्पति हो । यस दिशालार्इ कुबेरको दिशा पनि भन्ने गरिन्छ । त्यसैले यस दिशामा भण्डारगृह वा स्टोररुम बनाउँदा अत्यत्तम हुन्छ । यस दिशामा सञ्चय गरिएको धन कहिल्यै नाश हुँदैन । निरन्तर धनागम हुने र सञ्चय हुने ठाउँ नै यसैलार्इ मान्ने गरिन्छ । उत्तर र पूर्वको कुनालार्इ र्इशान कुना भनिन्छ र यस ठाउँलार्इ र्इश्वरको दिशा मानिन्छ । सात्विक बुद्धिद्वारा आर्जन गरिएको धन यस ठाउँमा राख्ने गरिन्छ । यो स्थान पनि स्थिरता र सम्मृद्धिका लागि महत्त्वपूर्ण ठाउँ हो ।
नगद, जिन्सी, गहनागुरिया वा कागजपत्र राख्ने स्थान
प्रत्येक घरमा प्राय: आभूषण र रुपैंयापैसा आदि नगदीजिन्सी आलमारी वा लकरमा राख्ने गरिन्छ । वास्तुशास्त्रमा सामान्यतया घरको वा कोठाको दक्षिणी वा पश्चिमी भागमा आलमारी वा लकरलार्इ स्थापना गर्न निर्देश गरेको छ । सनातन हिन्दू धर्ममा कुबेरलार्इ धनधान्य र सम्मृद्धिका देवता हुन् भनिएको छ अनि उत्तर दिशालार्इ कुबेरको दिशा भनी तोकिएको छ । त्यसैले गृहनिर्माण गर्दा उत्तर दिशा वा पूर्व दिशामा खुल्ला राख्नुपर्छ भनिएको हो । उत्तर आगम (INPUT) को दिशा हो, अतः उत्तर वा पूर्व खुल्ला भएको घरमा धनधान्य र भोगविलासले पर्याप्तमात्रामा प्रवेश गर्न पाउने अनुकूलता हुन्छ त्यस्तै दक्षिण वा पश्चिम निगम (OUTPUT) हो, अतः दक्षिण वा पश्चिम खुल्ला भएको घरबाट धनधान्य र भोगविलासको बहिर्गमन हुने खतरा हुन्छ । यसको वैज्ञानिक कारण पनि छ, उत्तरी गोलार्द्धमा हाम्रो निवास छ, ध्रुवीय क्षेत्र पृथ्वीको गुरुत्वाकर्षणको केन्द्रबिन्दु हो । हामी बसेको ठाउँबाट दक्षिणी ध्रुवका तुलनामा उत्तरी ध्रुव नजिकै छ । त्यसैले हाम्रो वासस्थानको उत्तरी भागमा दक्षिणका तुलनामा बढी घनत्व हुन्छ । अतः धनसम्पत्तिको आगमन घनत्व भएको ठाउँबाट हुनु स्वाभाविक हो । अतः उत्तर र पूर्व दैलो उघ्रिने गरी लकर वा दराजलार्इ स्थापना गर्नु जायज हुन्छ । त्यसैले घर वा कोठाको दक्षिण वा पश्चिम दिशामा दराज, आलमारी वा लकर राख्नु उपयुक्त हुन्छ भनिएको हो । धनधान्य र सुखसम्मृद्धि माता लक्ष्मीको अनुग्रह वा कृपाबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । त्यसैले धनमा लक्ष्मीको निवास हुन्छ भन्ने गरिन्छ । अतः मुख्य आलमारी वा दराजको स्थापना गर्दा विधिवत् लक्ष्मीको पूजा गरी स्थापना गर्नुपर्दछ । आज यस आलेखमा आलमारी, लकर वा दराज कसरी राख्दा वास्तुसम्मत हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।
१- तपार्इंले नगद वा गरगहना राख्ने गरेको दराज, आलमारी, लकर वा क्यासबक्स कोठाको दक्षिण दिशामा भित्तामा टाँसिने गरी राख्नु पर्दछ । यसरी दराज वा आलमारी राख्दा दराजको मुख (ढोका) उत्तरपट्टि खुल्ला हुन्छ । उत्तर दिशाका मालिक कुबेरलार्इ मानिन्छ । कुबेर देवताका धनाध्यक्ष (Cashier) हुन् । त्यसैले दराज वा लकरको दैलो उत्तर दिशामा भएमा धनको बढोत्तरी हुने गर्दछ ।
२- वास्तुशास्त्रले दराज वा आलमारीको झुकाव अगाडि वा पछाडि कतै पनि हुनुहुँदैन भनेर बताएको छ । सामान्यतया दराज, लकर वा आलमारी ठिक ब्यालेन्समा स्थापना गर्नु पर्दछ । ब्यालेन्स मिलेन भने पनि यसको झुकाव चाहिं अगाडिपट्टि चाहिं कुनै हालतमा पनि हुनुहुँदैन । यदि तपार्इंको धनसंरक्षण गर्ने दराज वा लकर अगाडिपट्टि झुकेको छ भने त्यस घरको गृहस्वामीले घरायसी प्रयोजनका क्रियाकलापमा ध्यान पुर्याउन सक्दैन र उसको बसोबास प्रायः घरबाहिर नै हुने सम्भावना बढी हुन्छ ।
३- वास्तुशास्त्रले गाँसेको, टालेको वा क्षिद्र भएको दराज वा लकरमा धनधान्य सम्बद्ध वस्तु राख्न निषेध गरेको छ । यस्तो दराज वा आलमारीमा रकम वा कागजपत्र राखेमा मुसा, साङ्ला आदि जीवको प्रकोप बढी हुने सम्भावना त त्यसै पनि हुन्छ, त्यसमाथि घरमूलीमा मानसिक तनाव र चिडचिडेपना बढ्ने गर्दछ । परिणामतः घरमा कलह र शोकको वातावरण सिर्जना भइरहन्छ ।
४- वास्तुशास्त्र अनुसार जुन कोठामा धनधान्य वा रकमकलमको सञ्चय गरिन्छ, त्यस कोठाको रङरोगन गर्दा हलुका रङको प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैले यस कक्षको रङ छनोट गर्दा आकाशे, सुन्तले, धमिलो सेतो वा घिउ रङको चयन गर्नु उत्तम हुन्छ ।
५- सामान्यतया रुपैंयापैसा वा कागजपत्र राख्ने गरेको दराज, बाकस वा लकरमा कुनै देवीदेवताको मूर्ति वा चित्र राख्न मनाही गरिएको छ । तर तपार्इंले कमलको फूलको आसनमा पलेंटी मारेर बसेकी लक्ष्मीको प्रतिमा र उक्त प्रतिमाको दुबैतिर हात्तीले सुँड उचालिरहेको दृश्य भएको चित्र वा प्रतिमा राख्दा कुनै किसिमको दोष हुँदैन । त्यस्तै सेफ वा आलमारीको बाहिरपट्टि शुभलाभ लेख्ने र स्वस्तिकको चिह्न बनार्इ लक्ष्मीमाताको कुनै मन्त्रलार्इ अङ्कित गर्ने नियम वास्तुसिद्धान्तभित्र नै पर्दछ ।
६- रुपैयाँपैसा वा गहगहना राख्ने सेफ, तिजोरी वा बाकसलार्इ कहिल्यै पनि फोहोर हातले छुनु हुँदैन । त्यस्तै नगद कारोबार भइरहने दराजको ढोका जुत्ताचप्पल लगाएर खोल्नु हुँदैन ।
७- घरको भर्याङमुनि नगद र गरगहना राख्ने बाकस, दराज वा लकर राख्नु हुँदैन । त्यस्तै शौचालय (ट्वाइलेट) को सामुमा पर्ने गरी दराज वा लकर राख्नु हुँदैन । कोठाको ढोकाबाट छर्लङ्ग देखिने गरी दराज वा आलमारी राख्न वास्तुनियम विरुद्ध हुन जान्छ । अनि जुन कोठामा नगद कारोबारको बाकस, दराज वा लकर राखिएको हुन्छ, त्यस कोठामा माकुराको जालो, भित्तामा केरमेट गरेको र फोहोर, पुराना र काम नलाग्ने चिजबिज थुपार्नु हुँदैन । नगद, गरगहना वा सम्पत्तिको कागजपत्र राखिएको दराज भएको स्थानमा यी नकारात्मक ऊर्जा प्रवाहित गर्ने वस्तु राखिएमा त्यस घरमा खुसीउमङ्ग र सुस्वास्थ्यको कमी हुने गर्दछ, घरको आर्थिकपक्ष चौपट हुन्छ र ऋण वा कर्जाको भार कहिल्यै घट्दैन ।
८- प्रत्येक दिन घरको परम्परा र रीतिरिवाजअनुसार पूजाआजा गर्नु राम्रो हो । यसरी घरको नित्यपूजापछि नगद राखिएको लकर वा सेफबक्सको ढोका पूरै खोलेर लक्ष्मीको पूजा गर्दा धनसम्पत्तिको अभाव हुँदैन भन्ने मान्यता छ ।
९- क्यासबक्स, सेफ, तिजोरी वा ट्याङ्का घरको उत्तर र पूर्व दिशाको कुना अर्थात् र्इशान कुनामा राख्दा पनि शुभ नै हुन्छ । यसरी नगद सञ्चय गर्ने स्थान बनाउँदा घरका बालबालिका विशेषतः कन्या सन्तान टाठाबाठा हुन्छन् भन्ने मान्यता छ ।
१०- लकर, आलमारी वा दराजमा छुट्टै पर्स, ब्रिफकेस, खुत्रुके जस्ता धनसञ्चय गर्ने अर्को वस्तुको प्रयोग गर्नु हुँदैन । यसो गर्दा धनलक्ष्मीले आफूलार्इ विश्वास नगरी अर्को वस्तुको प्रयोग गरेको भनी रिसाउने र धनधान्यमा कमी आउने विश्वास गरिन्छ ।
१०- लकर, आलमारी वा दराजमा छुट्टै पर्स, ब्रिफकेस, खुत्रुके जस्ता धनसञ्चय गर्ने अर्को वस्तुको प्रयोग गर्नु हुँदैन । यसो गर्दा धनलक्ष्मीले आफूलार्इ विश्वास नगरी अर्को वस्तुको प्रयोग गरेको भनी रिसाउने र धनधान्यमा कमी आउने विश्वास गरिन्छ ।