रावणका सौतेनी दाजु कुबेर, जसले रावणलाई सुनको लङ्का प्रदान गरे

हिन्दु धर्मग्रन्थमा उल्लेख भएबमोजिम लङ्काधिपति रावणका कुम्भकर्ण र विभीषण नामका दुई जना भाइका अतिरिक्त अर्का एक जना दाजु पनि थिए, जसको नाम कुबेर थियो । रामायणमा लेखिएअनुसार महर्षि पुलस्त्य ब्रह्माका मानस पुत्र हुन् । उनको विवाह राजा तृणबिन्दुकी सुपुत्रीसित भएको थियो । पुलस्त्यका छोराको नाम विश्रवा हो । उनी पनि आफ्ना पितासरह सत्यवादी र जितेन्द्रिय थिए । विश्रवाका यी सद्गुणहरूबाट प्रभावित भई ऋषि भारद्वाजले आफ्नी छोरी इडविडाको विवाह उनीसँग गरिदिए । महर्षि विश्रवाका छोराको नाम सुरुमा वैश्रवण राखिएको थियो । यिनले कठोर तपस्याद्वारा ब्रह्मालाई प्रसन्न तुल्याई उत्तर दिशाको दिक्पाल र धनाध्यक्ष पद प्राप्त गरे । यसपछि यिनको नाम कुबेर रहन गयो । महर्षि विश्रवाकी अर्की पत्नी पनि थिइन्, जसको नाम कैकसी थियो, ती राक्षसकुलमा उत्पन्न भएकी थिइन् । कैकसीको गर्भबाट रावण, कुम्भकर्ण र विभीषणको जन्म भएको थियो । यसरी कुबेर चाहिं रावणका सौतेनी दाजु बन्न पुगेका हुन् ।

अंशवण्डा हुँदा मुनि विश्रवाले जेठा छोरा कुबेरलाई जीविकोपार्जनका निमित्त लङ्कापुरी प्रदान गरेका थिए । ब्रह्माले उनको साधना र तपस्याबाट प्रसन्न भएर उनलाई उत्तर दिशाको मालिक र धनाध्यक्षको अभिभारा सुम्पिएका थिए । त्यसबाहेक मनको गतिसमान तीव्रगति भएको 'पुष्पक' विमान पनि यिनले ब्रह्माको आशीर्वादबाट नै प्राप्त गरेका थिए । उत्तर दिशाको स्वामित्व र धनाध्यक्षको जिम्मेबारी प्राप्त गरेपछि पिता विश्रवाले उनले अंशमा प्राप्त गरेको लङ्कापुरी भाइ रावणलाई दिन आग्रह गरे । पिताको आज्ञालाई शिरोधार्य गरी उनले उक्त सुनै सुनले भरिएको लङ्कापुरी पछि भाइ रावणलाई सुम्पिदिए र पछि उनले कैलाश पर्वतमा अलकापुरी नामको नयाँ नगरको निर्माण गरी त्यहीं बसोबास गर्न थाले । रावणले विश्वविजयको अभियान चलाएका बखत अलकापुरीमाथि पनि आक्रमण गर्यो, जुनवेला रावण र कुबेरका बीचमा भयङ्कर युद्ध भयो, तर ब्रह्माबाट रावणले अजेय हुने वरदान पाएको हुनाले उनले आफ्नै भाइसित युद्धमा हार व्यहोर्नु पर्यो । उक्त युद्धमा जितेपछि रावणले दाजु कुबेरसँग भएको पुष्पक विमान पनि हरण गरेर लगेको थियो, जुन उसको मृत्युपछि भगवान् रामचन्द्रले लिनुभई पछि कुबेरलाई नै फिर्ता दिनुभएको थियो ।

कुबेरको जीवनगाथासम्बद्ध एउटा लोकआहान पनि प्रचलनमा छ । उनी पूर्वजन्ममा चोर थिए, चोरमध्ये पनि यस्तो उग्र र धूर्त चोर, जसले देवीदेउताका मन्दिरमा पसेर त्यहाँ भएको श्रीसम्पत्ति पनि विना हिचकिटाहट हरण गर्ने गर्दछ ।  पूर्वजन्ममा उनी ब्राह्मणकुलमा जन्मिएका गुणनिधि नामका चोर थिए । एकपटक चोरी गर्ने उद्देश्यले गुणनिधि ब्राह्मण एउटा शिवमन्दिरमा पसे । त्यस समयमा मन्दिरभित्र अनेकानेक आभूषण, गरगहना र रत्नादि राखिएका हुन्थे । मन्दिरमा राखिएका त्यस्ता बहुमूल्य वस्तु कहाँ होलान् भनी खोजी गर्न उनले दियो बाले । हावाको वेगले एक पटक बालेको दियो निभ्यो । उनले फेरिपनि बत्ती बाले । फेरि पनि निभ्यो । यसरी दियो बाल्ने र बालेपछि निभ्ने क्रम निकै पटक चल्यो । भोला स्वभावका भगवान् आशुतोष शिवशङ्करले गुणनिधिको यस क्रियाकलापलाई पनि उनले गरेको आराधना नै ठहर्याउनु भयो र प्रसन्न भएर उनलाई अर्को जन्ममा धनपति हुने वरदान प्रदान गर्नुभयो । परिणामतः मरणोपरान्त गुणनिधि कुबेरका रूपमा जन्मिन पुगे ।

कुबेरलाई शास्त्रानुसार समस्त भूपति (राजा) हरूका स्वामी तथा धनाध्यक्ष मान्ने गरिन्छ । उनी देवताहरूका खजान्ची अर्थात् कोषाध्यक्ष हुन् । त्यसैले यिनलाई राजाधिराज भन्ने गरिन्छ । गन्धमादन पर्वतमा भएको सम्पत्तिको एक चौथाइ भागमा यिनको अधिकारभित्र पर्दछ भन्ने गरिन्छ । त्यसै सम्पत्तिमध्ये षोडशांश (सोह्र भागको एक भाग) संसारमा भएका समस्त मानवहरूले उपभोग गर्ने सम्पत्ति हो भनिन्छ । त्यसैले पृथ्वीमा जेजति सम्पत्ति छ, त्यसको चार गुणा सम्पत्ति कुबेरको भण्डारमा छ भन्ने मान्यता छ । उनलाई नवनिधिका अधिपति पनि भन्ने गरिन्छ । यी नौ किसिमका निधिहरूमा पद्म, महापद्म, शङ्ख, मकर, कच्छप, मुकुन्द, कुन्द, नील र वर्चस पर्दछन् । यीमध्ये कुनै एउटा निधिले मात्र पनि अनन्त वैभव प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ । कुबेर देवाधिदेव महादेवका परम मित्र पनि हुन् । जसले कुबेरदेवको उपासना गर्दछ, उसले सम्पत्तिबाट कहिल्यै पनि विमुख हुनु पर्दैन र आपत्तिकालमा पनि कुबेरले उसको रक्षा गर्नुहुन्छ । प्रायः सबै यज्ञयागादि, पूजा, उत्सव र शुभकर्ममा दश दिक्पालमध्ये एउटा दिक्पालका रूपमा कुबेरको पूजा गरिन्छ ।

धर्मशास्त्रमा कुबेरको स्वरूपका बारेमा पनि चर्चा गरिएको छ । उनको भुँडीको आकार ठूलो छ र शरीरको रङ्ग पहेंलो छ । यिनी किरीट, मुकुट आदि आभूषण धारण गर्दछन् । उनको एउटा हातमा गदा र अर्को हातमा धनप्रदायक मुद्रा धारण गरिएको हुन्छ । उनको विमानको नाम पुष्पक विमान हो । उनलाई मनुष्यहरूले पालकीमा बोकेको अवस्थामा चित्रण गरिएको पाइन्छ । कुबेरदेवको अर्को नाम वैश्रवण हो भन्ने कुरा माथि नै बताई सकिएको छ । त्यसबाहेक उनका एडविड र एकाक्षपिङ्गल नाम पनि प्रचलनमा रहेका देखिन्छन् । यिनकी आमाको नाम इडविडा भएकाले उनको एउटा नाम एडविड रहन गयो भने उनको दाहिने आँखाको रङ्ग पहेंलो भएकाले उनको अर्को नाम एकाक्षपिङ्गल रहन गएको हो । भनिन्छ माता पार्वतीतर्फ निरन्तर हेरिरहेकाले उनको दाहिने आँखा पहेंलो भएको थियो ।

अलकापुरीमा कुबेरको मायावी सभा रहेको प्रसङ्ग विभिन्न पुराणहरूमा उल्लेख भएको पाइन्छ । महाभारतको सभापर्वको दसौं अध्यायमा उक्त सभाको विस्तार सय योजन लामो र सत्तरी योजन चौडाइ भएको कुरा उल्लेख गरिएको छ । त्यस सभामा अनेकानेक स्वर्णादि बहुमूल्य धातुबाट निर्मित कक्षहरू रहेका छन् । कक्षमा स्वर्ण र बहुमूल्य रत्न जडान गरिएका स्तम्भहरू रहेका देखिन्छन् । सभाको मध्यभागमा एउटा सुन्दर सिंहासन छ, जसमा पट्टरानी ऋद्धि र अन्य सय वटी रानीका साथमा कुबेरले आसन ग्रहण गर्दछन् । उक्त सभामा स्वयं महालक्ष्मी र अनेकानेक ऋषि, महर्षि आदिको निरन्तर उपस्थिति हुने गर्दछ । महाभारतमा पनि कुबेरको महल र दरबारका बारेमा एउटा प्रसङ्ग उल्लेख गरिएको छ । पाण्डवहरू वनवासमा रहेका वेला उनीहरू बदरिकाश्रममा बसोबास गर्दै थिए । एक दिन भीमसेन र द्रौपदीले एकान्त गरेका अवसरमा द्रौपदीले भीमलाई उक्त पर्वतमा धेरै राक्षसहरूको निवास भएको कुरा र त्यहाँ भएका सबै राक्षसहरू अन्तै गए बसोबास गर्न सजिलो हुने कुरा बताइन् ।  भीमसेनले द्रौपदीको इच्छा पूरा गर्ने प्रण गरे र आफ्नो हतियार बोकी राक्षसहरूलाई धपाउन गन्धमादन पर्वतमा विना हिचकिटाहट अघि बढ्दै गए । पर्वतको चुचुरोमा पुगेपछि उनले कुबेरको अलकापुरी देखे र उनी एक टक लगाएर अलकापुरीमा शोभायमान कुबेरको महल हेर्नथाले । त्यसपछि उनले आफ्नो शङ्ख बजाउँदै युद्धका निमित्त त्यस पुरीका सेनाहरूलाई ललकार्न थाले शङ्खको ध्वनि सुनेर अलकापुरीका यक्ष र राक्षसहरूले भीमसेनमाथि आक्रमण गरे । भीमले एक्ले ती सबैलाई परास्त गरिदिए । त्यसरी युद्ध गर्नेमध्ये एउटा मणिमान् नाम गरेको राक्षस थियो । ऊ कुबेरको मित्र थियो । उसको र भीमका बीचमा पनि भयङ्कर युद्ध भयो । भीमसेनले लडाइँमा त्यसलाई पनि परास्त तुल्याई उसको बध गरिदिए । युद्धको आवाज सुनेर युधिष्ठिर, नकुल र सहदेव भीमसेनको खोजी गर्दै त्यहीं पुगे । यता कुबेरले आफ्नो अधिकारको भूमिभित्र छिरेर भीमले आफ्ना असङ्ख्य सेवकहरूको बध गरेको कुरा चाल पाए । उनी पनि क्रोधित हुँदै रथमा सवार भई युद्धभूमिमा आइपुगे । तर त्यहाँ पुग्नासाथ उनले युधिष्ठिरलाई देखेपछि उनको रिसको पारो ओर्लियो, उनी शान्त भए । त्यसपछि उनले चित्त बुझाउँदै भने - राक्षसहरू काल आएर मरेका हुन्, भीमसेन त निमित्तमात्र हुन् । त्यसपछि कुबेरले स्वागत गरी पाण्डवहरूलाई आफ्नो महलमा लिएर गए । त्यस रात पाण्डवहरूले कुबेरको दरबारमा नै रात बिताएको प्रसङ्ग महाभारतमा उल्लेख भएको छ ।

कुबेरको आराधना र उपासनाबाट माया अर्थात् धनधान्यको प्राप्ति हुने गर्दछ । धनत्रयोदशी (धनतेरस) र दीपावली (लक्ष्मीपूजा) का दिन यिनको विशेष पूजा गर्ने शास्त्रीय विधान छ । यसबाहेक फाल्गुन शुक्ल त्रयोदशीबाट प्रारम्भ गरी हरेक महिनाको शुक्ल त्रयोदशीका दिन कुबेरका लागि छुट्टै व्रत लिने विधान पनि छ । धनका अधिपति भएका कारणले यिनलाई मन्त्रसाधनाद्वारा प्रसन्न तुल्याउनु पर्ने विधान बताइएको छ । कुबेर मन्त्रको जाप गर्दा दक्षिण फर्किएर जप्ने नियम छ । 


कुबेरले जुन स्थानमा बसेर ब्रह्माजीको तपस्या गरेका थिए, त्यस ठाउँलाई अहिले कुबेर तीर्थ भनेर चिन्ने गरिन्छ । यो ठाउँ भारतवर्षको मध्यभागमा पर्ने नर्मदा र काबेरी नदीको सङ्गमस्थलमा रहेको छ । महाभारतको युद्ध भएको स्थान कुरुक्षेत्र (हाल भारतको हरियाणा प्रान्त) मा भद्रकाली मन्दिरको छेउमा सरस्वती नदीको तटमा पनि कुबेर तीर्थ नामको स्थल छ, भनिन्छ यहाँ कुबेरले यज्ञ सम्पादन गरेका थिए ।

धनतेरसका दिन कुन राशिका व्यक्तिले के किन्ने ?

Comments