नेपाली समाज र श्रावण महिना

हाम्रो धार्मिक/सामाजिक पम्परामा श्रावण महिना कृषिको नयाँ जीवनचक्रको थालनीको समय हो । हुन त यसको आरम्भ असार महिनामा नै भएको हुन्छ तर असार महिनामा चाहिँ रोपाइँकै चटारोका कारण सामाजिक-धार्मिक क्रियाकलाप त्यसबेला अनुकूल हुँदैन । श्रावण महिनामा रोपाइँ लगभग सकिसकेको र खेतीपातीमा काम निकै हलुका भइसकेको हुन्छ । कृषि जीवनमा यो निकै फुर्सदिलो समय हुन्छ । त्यसैले कृषियुगदेखि नै यस महिनादेखि धर्मकर्मतिर बढी ध्यान गएको पाइन्छ । नेपालको प्राचीन धर्म भनेको महायानी बौद्ध र शैव हिन्दू धर्म हो । यी दुवैको यस महिनामा ठूलो महिमा छ ।

सनातन हिन्दू धर्मावलम्बीहरू माझ साउन महिनाको आफ्नै विशिष्ट स्थान छ।  वास्तवमा साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। पौराणिक कथा अनुसार साउन महिना देवाधिदेव महादेव अर्थात् शिवशङ्करको महिनाका रूपमा लिइन्छ। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाका रूपमा गणना गरिन्छ। तर साउनमा शिवजीको पूजा गर्ने र यसको महात्म्य जनाउने प्रसङ्गमा कुनै पनि आधिकारिक पुराण र धर्मग्रन्थहरूमा छुट्टै वर्णन गरिएको भेटिंदैन, हुन त प्रत्येक वर्षको श्रावण महिनामा रुद्राष्टाध्यायी मन्त्रको पाठ गर्नुपर्ने प्रसङ्ग भने शिवपुराणमा भगवान् शिवकै मुखारविन्दबाट व्यक्त भएको छ। यद्यपि धार्मिक क्रियाकलापले मानिसलाई पवित्र बन्न प्रेरित गर्ने गर्दछ। श्रावण महिनाको प्रचण्ड गर्मीमा निराहार रहेर सांसारिकता र भौतिक शरीरप्रति कुनै वास्ता नै नगरी व्रत सम्पादन गर्ने र शिवालयमा नाङ्गै खुट्टा हिंडेर दर्शन र पूजा गर्न जाने जस्ता आध्यात्मिक क्रियाकलापले आत्मिक शान्ति प्राप्त हुने हुँदा यो महिना भौतिक रूपले अध्ययन गर्दासमेत समुचित नै ठहरिन्छ, आध्यात्मिक दृष्टिकोणले त यसको विशेष महत्त्व छँदैछ। त्यसैले प्रत्येक वर्षको श्रावण महिनामा आशुतोष भगवान् शंकरको भक्तिआराधना र पूजाको विशेष महत्त्व छ। जुन व्यक्तिले दिनैपिच्छे पूजा गर्न अनुकूल हुँदैन, तिनले श्रावण महिनामा पर्ने सोमवारका दिन शिवपूजा गर्नुपर्दछ र व्रत लिनु पर्दछ। सोमवार भगवान् शंकरको प्रिय दिन हो, त्यसैले यसको महिमा अपरम्पार छ र श्रावण महिनामा पार्थिव शिवपूजाको विशेष महत्व छ। अत: यस महिनामा प्रतिदिन अथवा प्रति सोमवार र प्रदोषका दिन शिवपूजा वा पार्थिव शिवपूजा गर्नु आवश्यक ठानिन्छ। श्रावण महिनामा भगवान् शिवको पूजा गरी ॐ नमः शिवायः को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ। श्रावण महिनाका समस्त दिनहरूको महत्त्व विशिष्ट नै भए पनि महिनाभरि व्रत बस्न वा निराहार रहन कठिन हुने हुनाले भगवान् शिवकै प्रियतम मानिएको श्रावणको सोमबारलाई अझ बढी विशेष दिनका रूपमा लिने गरिन्छ। कृषिसंस्कृति झल्काउने हाम्रा चाडबाडहरू मध्ये यस महिनामा प्रकृतिसँग गाँसिएका विभिन्न परम्पराको निर्वाह गर्ने सामाजिकता हाम्रो समाजमा विद्यमान रहेको समेत देखिन्छ। यस महिनामा गर्मी हुनुका साथै वर्षा भई समस्त गाउँघर हिलाम्य हुने भएकाले जमिनमा जताजतै सर्प भेटिने सम्भावना हुन्छ। त्यसैले सर्पको आक्रमणबाट जोगिन र अकाल मृत्युबाट पन्छिन नाग देवताको आराधना गर्ने चलन पनि छ। अतः यस महिनामा खास गरी नागपञ्चमीमा र अन्य दिनहरूमा समेत नाग देवतालाई खुसी पार्न नागको पूजा र सर्पबाधाको शान्तिविधान गर्ने चलन पनि छ। शिवजीको पूजा आराधना गर्न श्रावण महिना नै किन उत्तम मानिन्छ भन्ने विषयमा शिव पुराणमा एउटा वृत्तान्त प्राप्त हुन्छ। उक्त वृत्तान्तमा परापूर्वकालमा हिमालय पर्वतकी सुपुत्री पार्वतीले श्रावण महिनाभरि भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न उहाँकै आराधना गर्दै व्रत बसी पूजासमेत गरेको हुँदा सुयोग्य पति प्राप्तिका लागि किशोरीहरूले श्रावण महिनाको सोमबारका दिन ब्रत बस्ने र शिब पार्वतीको पूजा आराधना गर्दछन्, त्यस्तै विवाहित महिलाहरूले भने पतिको आरोग्यता तथा प्रगतिको कामना गर्दै ब्रत बस्छन्। शिवको पूजा र उपासना शक्तिप्राप्ति, सौभाग्य एवं सम्पन्नतासँग समेत जोडिएको छ। समुन्द्र मन्थन गर्ने क्रममा देवताहरुले काली देवीलाई आरधना गरेको र कालीले शिवजीको प्रार्थना गरेको तथा देवता र दैत्यको घमासान युद्धको समयमा शिवको आराधना गरेर शक्ति प्राप्त गरेको प्रसङ्ग स्कन्द पुराण, शिव पुराणआदि धार्मिक ग्रन्थमा उल्लेख भएको छ। यति मात्र होईन,देवासुर सङ्ग्रामाको अन्त्यमा देव र दानवका बीचमा सन्धि भई समुद्र मन्थन गरिएको र उक्त क्रममा उत्पन्न भएको कालकुट विषलाई पिउने साहस गर्ने पराक्रमी देवताको रुपमा शिवको पुजा आरधना गरिँदै आईरहेको छ। शिवजीलाई ज्ञान र योगका सर्जकका रुपमा पनि उपनिषद्हरुमा चर्चा गरिएको पाइन्छ। आफ्नो आध्यात्मिक र बौद्धिक क्षमता र दक्षतामा अभिवृद्धि कामनाका साथ शिवलाई अन्तस्करणका देवताका रुपमा मान्दै समस्त नरनारीले यस महिनामा श्रद्धाभक्तिपूर्वक स्मरण गर्ने गर्दछन्। भगवान् योग र ध्यानका अधिष्ठाता देवता समेत हुन्। पाश्चात्य मुलुकका गैरहिन्दू विद्वानहरूले गरेको विश्लेषणमा समेत यिनलाई 'रहस्यमय देवता'का रूपमा परिभाषित गरिएको भेटिन्छ। यद्यपि सनातन धर्ममा त्रिदेवताको अवधारणाबमोजिम ब्रह्मालाई सिर्जनाका, विष्णुलाई सञ्चालन र पालनाका तथा शिवलाई संहार र विनाशका देवता मानिएको पाइन्छ, तापनि कतिपय अवसरमा शैव शक्तिको प्रभावबाट प्राणिमात्रको दुःख नाश भएको र सृष्टि सञ्चालनमा सघाउ पुगेको प्रमाण भेटिएको छ। जस्तै उदाहरणका लागि कालकुट विषपान र विभिन्न अत्याचारी दैत्यहरूको बधलाई लिन सकिन्छ। अन्य विभिन्न धर्म तथा सम्प्रदायमा समेत शिवतत्त्वको परिचर्चा र लोकप्रियता केही हदमा प्राप्त हुन्छ। कुनै धर्ममा पनि विश्वास नगर्ने मानिसहरुले पनि शिवलाई भौतिकतावादी र वैज्ञानिक देवताका रूपमा स्वीकार गरिएको पनि पाइन्छ। त्यसैले सम्भवतः शान्तिदूत बुद्धपछि शिवको प्रतिमा र मूर्ति नै सर्वाधिक बिक्री हुने गर्दछ।


शिवको पूजा आराधना गर्ने विधि र पद्धतिहरू भिन्नभिन्न किसिमका देखिन्छन्। योग विज्ञान र विज्ञान भैरव तन्त्र जस्ता ग्रन्थहरूमा शिवजीको पूजाआराधना तान्त्रिक प्रक्रिया अपनाएर गर्नुपर्ने उल्लेख गरिएको छ र परम्परागत सनातन हिन्दू पद्धतिमा मन्त्र तथा सामाग्री अर्पण गर्ने विधान बताइएको छ। त्यसैले अहिले पनि शिवजीलाई अत्यधिक मन पर्ने वस्तुका रूपमा बेलपत्र, धतुरो आदिलाई ग्रहण गरिएको पाइन्छ।

शिव आरधना र श्रावणको महत्वलाई एकै साथ विवेचना गर्ने हो भने बर्षाकालको अनिष्ट कम गर्न र पारिवारिक सुख शान्ति, सम्पन्नता, आरोग्यताका लागि रुद्री पुजा गर्ने चलन चलिआएको छ। अन्य महिनामा रुद्री पाठ गर्न जुराउन पर्ने तर श्रावण महिनामा जुराउनु नपर्ने चलन समेत छ। यही आस्था र विश्वासका साथ लघुरुद्री(१२१ आवृत्ति), अतिरुद्री(१३२१ आवृत्ति) तथा महारुद्री (१४६४१ आवृत्ति) पाठ गर्न लगाउनुका साथसाथै शिवपूजा गर्ने गरिन्छ। बेलपत्रबाहेक पञ्चामृत(दूध, दही, घ्यू, मह, चिनी ) 'ॐ नम:शिवाय' मन्त्रको उच्चारण गर्दै चढाउने र ब्राह्मणद्वारा रुद्रीपाठ गराउने प्रचलन रहिआएको छ। समुन्द्र मन्थन गर्दा उत्पन्न भएको विष सेवन गर्दा उत्पन्न भएको पीडा कम गर्न देवताहरुले जुन जुन सामाग्री भगवान् शिवसमक्ष समर्पण गरेका थिए तिनै उपचार सामाग्रीहरू दूध, दहि, घिउ, मह, चिनी आदि वस्तुहरू भगवान् शिवजीको प्रिय वस्तु हो भनेर  आराधनाका क्रममा अर्पण गर्न थालिएको चर्चा विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको छ।

यो महिनामा भगवान् भोलेनाथका अतिरिक्त भगवान् श्रीकृष्ण र राधाको महिमालाई उजागर गर्ने परम्परा पनि छ। राधाकृष्णको प्रेमप्रसङ्गलाई अनुसरण गर्ने महिनाका रूपमा यस महिनाको छुट्टै विशेषता छ। त्यसैले खासगरी वैष्णव सम्प्रदाय भक्तहरूले यस महिनामा राधाकृष्णको झूलनोत्सव मनाउने गर्दछन्। ठाउँठाउँमा स्थापना र सुसञ्चालनमा रहेका राधाकृष्ण मन्दिर, राम मन्दिर. विष्णु मन्दिर आदिमा सुन्दर कोक्रो बनाएर त्यसमा भगवान् श्रीकृष्ण र राधाको प्रतिमा राखी हल्लाउने गर्दछन्। यसै प्रकृयालाई झुला भन्ने गरिन्छ। चान्द्रमासअनुसार श्रावण महिनाको पूर्णिमाका दिन जनैपूर्णिमा भन्दै ऋषितर्पणी, रक्षाबन्धन र श्रावणी पर्व मनाउने गरिन्छ। तागाधारीहरूले यस पूर्णिमाका दिन पुरानो जनै फेरी नयाँ जनै लगाउने र अन्य सबैले ब्राह्मणका हातद्वारा रक्षासूत्र बाँध्न लगाउने चलनछ, त्यस्तै तराई क्षेत्रमा यस दिन दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधिदिन्छन्। नेवारहरूले गेडागुडी ढड्याएर पोषिलो झोल पकाएर खाने परम्परा छ, यसलाई क्वाँटी खाने भन्दछन्।

सोमवारको व्रतका दिन प्रातःकालमा नै नित्यकर्म सम्पादन गरी मन्दिर, देवालय वा आफ्नो घरैमा श्री गणेशको पूजा गरेर शिवपार्वती र नन्दीको पूजा गर्नुपर्छ। व्रत लिने भक्तजनले यस दिन पूजासामाग्रीका रूपमा शुद्धजल वा गङ्गाजल, दूध, दही, मह, घिउ, चिनी, जनै, चन्दन, रोली, बेलपत्र, भाङ्ग, धतूरो, धूप, दीप र दक्षिणासँगै नन्दी साँढेका निमित्त भनेर घाँस वा पिना र पिठो मोलेर भगवान् भोलेशङ्करलाई चढाउँदछन् र पूजा गर्दछन्। सन्ध्याकालमा घिउ र कपूरसहित धूपदीप र आरती गरेर शिव महिमा र भजनकीर्तन गर्ने गरिन्छ। लगभग श्रावण महिनाका समस्त सोमवारका दिन यही प्रक्रिया दोहोर्याउने गरिन्छ। श्रावण महिनामा लघुरुद्राभिषेक, महारुद्राभिषेक अथवा अतिरुद्राभिषेक जस्ता महायज्ञको आयोजना समेत गर्ने चलन छ। त्यस्तै यस महिनामा प्रत्येक सोमवारका दिन शिवलिङ्गमा मुष्टिदान गर्ने परम्परा पनि छ। त्यसरी मुष्टिदान गर्ने श्रद्धालुले मुष्टिदान गर्दा निम्न अन्नहरूको दान गर्ने शास्त्रीय विधान छ -

·        श्रावण महिनाको पहिलो सोमबारका दिन चामल वा अक्षता एकमुठ्ठी
·        श्रावण महिनाको दोस्रो सोमबारका दिन सेतो तिल एकमुठ्ठी
·        श्रावण महिनाको तेस्रो सोमबारका दिन सग्ला मुँगका दाना एकमुठ्ठी र
·        श्रावण महिनाको चौथो सोमबारका दिन जौका दाना एकमुठ्ठी
·        अनि श्रावण महिनामा पाँचौ सोमबार पनि रहेछ भने त्यस दिन सातु एकमुठ्ठी

भगवान् शिवको पूजामा बेलपत्रको ठूलो महत्त्व छ। भगवान् शिवले देवासुर सङ्ग्राममा चराचर जगत् र प्राणिहरूको कल्याणका निमित्त  विषपान गर्नु भएको र त्यस कालकूट विषको डाहा शान्त बनाउन पतितपावनी गङ्गालाई शिरोधार्य गर्नुभएको छ। त्यसैले भक्तजनले पनि भगवान् भोलेशङ्करको शिरमा श्रद्धानुसार जलाभिषेक, दुग्धाभिषेक आदि गर्नुपर्दछ। एउटा कथाप्रसङ्गमा उल्लेख भएबमोजिम विष्णुपत्नी जगज्जननी लक्ष्मीले शङ्कर भगवानको आराधना गर्ने उद्देश्यले कुनै एउटा श्रावण महिनाभरि प्रतिदिन १००१ वटा श्वेतकमल चढाउने निर्णय गरिछन्। एउटा सुनको किस्तीमा ती कमल गनेर सङ्ख्या पूर्ण गरी लक्ष्मी शिवमन्दिर गईन्। तर मन्दिरमा पुग्दा त्यस किस्तीमा राखेका ३ वटा कमलहरू घटेर ९९८ वटा मात्र भए। त्यसपछि उनले ती बाँकी रहेका कमलमा जलसिञ्चन गरिन्। लक्ष्मीले पानी छर्किएपछि तिनै कमलहरूको माझबाट एउटा बिरुवा उत्पन्न भयो। त्यो बेलको रुखमा परिणत भयो। लक्ष्मीले प्रतिदिन त्यही रुखबाट त्रिदल बेलपत्र टिप्दै भगवान् शिवमा समर्पण गरिन्। उक्त त्रिदल कहिल्यै घटेन र लक्ष्मीको सङ्कल्पले पूर्णता पायो र लक्ष्मीले भक्तिपूर्वक आफ्ना सामर्थ्यमा सिर्जना गरेको बेलपत्र भगवान् भोलेशङ्करलाई अतिप्रिय हुनगयो। जसरी लक्ष्मी अर्थात् सुखसम्मृद्धि, वैभव र धनसम्पत्ति कहिल्यै पुरानो र बासी हुँदैन त्यसरी नै लक्ष्मीले उत्पन्न गरेको बेलपत्र पनि कहिल्यै पुरानो बासी र अशुद्ध हुँदैन। ताजा बेलपत्र प्राप्त नभएको अवस्थामा भगवानलाई अर्पण गरिसकिएको बेलपत्र टिपेर पुनः चढाउँदा समेत दोष लाग्दैन। त्यसैले बेलको बोट प्रकृतिले मनुष्यलाई प्रदान गरेको अनुपम वरदान हो।

सौभाग्यवती महिलाले श्रावण महिनाको सोमबारका दिन व्रत लिनाले अखण्ड सौभाग्यको प्राप्ति हुन्छ भनेर विविध धर्मग्रन्थहरूमा वर्णन गरिएको छ। प्रेमीप्रेमिकाले यस दिनको व्रत सम्पादन गर्दा मनले इच्छाएको वर वा कन्या प्राप्त गर्दछन्। छात्रछात्राले सोमवारका दिन व्रत लिनाले र शिवालयमा गई जलाभिषेक गर्नाले विद्या र बुद्धि बढ्छ। बेरोजगार र अकर्मण्य जातकहरूले यस व्रतको प्रभावबाट रोजगारी प्राप्त गर्दछ र उसको आयको मार्ग सरल हुन्छ अनि मानप्रतिष्ठा र सम्मान आर्जन गर्दछ। गृहस्थ, पेसाकर्मी, व्यवसायी वा व्यापारीले निष्ठापूर्वक श्रावण महिनाको सोमवारका दिन व्रत लिनाले धनधान्य र सुखसम्मृद्धिमा अभिबृद्धि हुन्छ। समग्रमा जुनसुकै पेसा, व्यवसाय, वर्ग, तह र तप्काका व्यक्तिले यस दिन व्रत सम्पादन गरेमा उन्नति, प्रगति र कल्याण हुने बताइन्छ।

श्रावण महिनामा भगवान् शिवका ज्योतिर्लिङ्गमा गएर दर्शन गर्ने परम्परा पनि छ। भोलेनाथका द्वादश ज्योतिर्लिङ्गको परिचर्चा विभिन्न धार्मिक ग्रन्थमा गरिएको पाइन्छ। सनातन हिन्दू धर्मका धर्मग्रन्थहरूमा उल्लेख भएबमोजिम भगवान् शिव जुनजुन ठाउँमा स्वयं आभिर्भाव हुनुभयो ती ठाउँमा भगवानको एकएक वटा ज्योतिर्लिङ्ग पनि प्रकट भयो। त्यस्ता ज्योतिर्लिङ्ग प्रकट भएका स्थानहरू जम्मा बाह्रवटा छन्। समुच्चयमा तिनै स्थानलाई बुझाउने सन्दर्भमा द्वादश ज्योतिर्लिङ्ग भन्ने गरिन्छ। ती ज्योतिर्लिङ्ग रहेका ठाउँहरू निम्नानुसार छन् -

o   श्री सोमनाथ (सौराष्ट्र प्रदेश, भारतको गुजरातको काठियावाड़)
o   श्री मल्लिकार्जुन (श्रीशैल)
o   श्री महाकाल  (उज्जयिनी, भारतको मध्यप्रदेश प्रान्तको उज्जैनमा),
o   श्री ॐकारेश्वर अथवा अमलेश्वर ,
o   श्रीवैद्यनाथ बाबाधाम,(भारतको झारखण्ड प्रान्तको देवघर परलीमा)
o   श्री भीमशङ्कर (डाकिनी नामक स्थानमा)
o   श्री रामेश्वर (दक्षिण भारतको तमिलनाडु प्रान्तको सेतुबन्धमा)
o   श्रीनागेश्वर (दारुकावनमा)
o   श्री विश्वनाथ (भारतको उत्तरप्रदेश प्रान्तमा पर्ने काशी अर्थात् बनारसमा)
o   श्री त्र्यम्बकेश्वर (गौतमी अर्थात् गोदावरी नदीको किनारमा)
o   श्री केदारनाथ (भारतको उत्तराखण्ड प्रान्तमा)
o   श्री घुश्मेश्वर (शिवालयमा)

द्वादश ज्योतिर्लिङ्गको स्तोत्र -

सौराष्ट्रदेशे विशदेऽतिरम्ये ज्योतिर्मयं चन्द्रकलावतंसम्।
भक्तिप्रदानाय कृपावतीर्णं तं सोमनाथं शरणं प्रपद्ये॥१॥
श्रीशैलशृङ्गे विबुधातिसङ्गे तुलाद्रितुङ्गेऽपि मुदा वसन्तम्।
तमर्जुनं मल्लिकपूर्वमेकं नमामि संसारसमुद्रसेतुम्॥२॥
अवन्तिकायां विहितावतारं मुक्तिप्रदानाय च सज्जनानाम्।
अकालमृत्योः परिरक्षणार्थं वन्दे महाकालमहासुरेशम्॥३॥
कावेरिकानर्मदयोः पवित्रे समागमे सज्जनतारणाय।
सदैवमान्धातृपुरे वसन्तमोङ्कारमीशं शिवमेकमीडे॥४॥
पूर्वोत्तरे प्रज्वलिकानिधाने सदा वसन्तं गिरिजासमेतम्।
सुरासुराराधितपादपद्मं श्रीवैद्यनाथं तमहं नमामि॥५॥
याम्ये सदङ्गे नगरेऽतिरम्ये विभूषिताङ्गं विविधैश्च भोगैः।
सद्भक्तिमुक्तिप्रदमीशमेकं श्रीनागनाथं शरणं प्रपद्ये॥६॥
महाद्रिपार्श्वे च तटे रमन्तं सम्पूज्यमानं सततं मुनीन्द्रैः।
सुरासुरैर्यक्ष महोरगाढ्यैः केदारमीशं शिवमेकमीडे॥७॥
सह्याद्रिशीर्षे विमले वसन्तं गोदावरितीरपवित्रदेशे।
यद्धर्शनात्पातकमाशु नाशं प्रयाति तं त्र्यम्बकमीशमीडे॥८॥
सुताम्रपर्णीजलराशियोगे निबध्य सेतुं विशिखैरसंख्यैः।
श्रीरामचन्द्रेण समर्पितं तं रामेश्वराख्यं नियतं नमामि॥९॥
यं डाकिनिशाकिनिकासमाजे निषेव्यमाणं पिशिताशनैश्च।
सदैव भीमादिपदप्रसिद्दं तं शङ्करं भक्तहितं नमामि॥१०॥
सानन्दमानन्दवने वसन्तमानन्दकन्दं हतपापवृन्दम्।
वाराणसीनाथमनाथनाथं श्रीविश्वनाथं शरणं प्रपद्ये॥११॥
इलापुरे रम्यविशालकेऽस्मिन् समुल्लसन्तं च जगद्वरेण्यम्।
वन्दे महोदारतरस्वभावं घृष्णेश्वराख्यं शरणम् प्रपद्ये॥१२॥
ज्योतिर्मयद्वादशलिङ्गकानां शिवात्मनां प्रोक्तमिदं क्रमेण।
स्तोत्रं पठित्वा मनुजोऽतिभक्त्या फलं तदालोक्य निजं भजेच्च॥१३॥

इति द्वादश ज्योतिर्लिङ्गस्तोत्रं संपूर्णम्॥

साउन महिना र बोलबम 

साउन महिनाको अर्को विशेषता भनेको बोलबम जाने परम्परा वा संस्कृति पनि हो । बोलबम संस्कृतिको विकासमा खासगरी भारतको झारखण्डमा पर्ने देवघर तीर्थस्थलमा रहेको वैद्यनाथ बाबाधामको प्रभाव र खासगरी भारतको पूर्वी उत्तरप्रदेश, उत्तरी बिहार र नेपालको पूर्वी तराईका मधेशीहरुको भूमिका उल्लेखनीय छ। यो संस्कृति मूलतः भारतको बाबाधाम वा वैद्यनाथधामबाट नै भएको हो र नेपालमा चतराधाम, पिण्डेश्वर हुँदै नेपालभरि फैलिएको हो। पिठ्युँमा गेरु रंगको कपडाको सिलाइएको सानो झोला, हातमा कमण्डलु, बोलबम लेखिएका गेरु रंगको स्यान्डो भेस्ट, हाफ पैन्टमा चिट्ट परेका पुरुषहरु र गेरु रंगकै सारी लगाएका महिलाहरुले बोलबम बोलबम भन्दै जयजयकार गर्दा त्यस वरिपरिको वातावरण आनन्दानुभूतिमा परिणत भएको भान हुन्छ। साउनको महिना भगवानको शिवको प्रिय महिना मानिंदै आएकोले यस महिनामा नजिकैको नदी, पोखरी, कुण्ड, ताल, तलैयाबाट जल ल्याई शिवालयमा गएर अर्पण गर्ने चलन छ। जलाशयमा गएर जल भरेर शिव मन्दिरमा अर्पण गर्ने संस्कृति बसेको छ । यो संस्कृति हिन्दु समाजको निजी संस्कृति हो । यसलाई जोगाउन तथा विकसित गर्नमा मधेशी तथा तराईबासी हिन्दूहरूको मुख्य भूमिका रहेको छ। मधेशमा पनि पश्चिम नेपालका तुलनामा पूर्वतिर बोलबमको मेलाले आस्थाको अमिट जरो गाड्दै गइरहेको छ। गेरु वस्त्र धारण गरी बोलबममा विधिपूर्वक सहभागी हुने भक्तजनहरुलाई बम भनिन्छ। बमहरु लोकल बम र डाक बम गरी दुई किसिमका हुन्छन्। जलाशयमा जल भरेर त्यहाँबाट शिवालयसम्म पुग्ने उद्देश्यले खालीखुट्टा पैदल हिँडेर वा दगुरेर मन्दिरसम्म पुगी जलाभिषेक गर्ने बमलाई डाकबम भनिन्छ र कुनै यातायातका साधनमा चढी मन्दिरसम्म पुग्ने बमलाई लोकलबम भन्ने गरिन्छ। बोलबमको मेला तथा कार्यक्रमहरु राजधानीको पशुपतिनाथ र त्यसबाहेक धरान, पोखरा, दाङ आदि विभिन्न पहाडी बस्ती तथा सहरहरुमा समेत हुन थालेको पाइन्छ। कतैकतै मोटरसाइकल र्याली समेत निकालिन्छ। हरेक सोमबार देशभरिका शिवालयहरूमा शिवकथा र भजनकीर्तनको आयोजना हुने गर्दछ।


बोलबम संस्कृतिको महत्त्वपूर्ण र काँवरियाहरूले सबैभन्दा लामो पैदलयात्रा गर्नुपर्ने तीर्थस्थल भारतको झारखण्डमा पर्ने देवघर हो। जसलाई ठूलो बाबाधाम पनि भनिन्छ। जहाँ भगवान भोलेनाथको द्वादश ज्योतिर्लिङ्गमध्ये एउटा ज्योतिर्लिङ्ग रहेको छ। यो शिवालयमा श्रावण महिनामा जलाभिषेक गर्न चाहने भक्तजनहरू पहिले भारतको विहार प्रान्तमा पर्ने सुल्तानगञ्ज पुग्दछन्। सुल्तानगञ्जबाट देवघर १०५ किलोमिटरको दूरीमा छ। सुल्तानगञ्जमा रहेको पतितपावनी पवित्र नदी गङ्गाबाट कमण्डलुमा जल लिएर भक्तजनहरू नाङ्गै खुट्टामा हिंडेर देवघरसम्म पुग्ने गर्छन्। कुनैकुनै भक्तहरू शौचादि आधारभूत क्रिया समेत सम्पादन नगरी देवघर पुग्ने लक्ष्य लिएर हिँडेका हुन्छन्। अन्य भक्तहरूले पनि दिशापिसाब गरेर पुनः स्नानादि गरी शुद्ध हुनु आवश्यक मानिन्छ।

नेपालका भक्तजनहरू पनि श्रद्धाआस्थाअनुसार कोही देवघर जान्छन् भने कोही आफ्नै गाउँघर नजिकै रहेको पवित्र शिवालयमा गई जल चढाउछन् । नेपालमा खासगरी धरानको पिण्डेश्वर, खोटाङ्गको हलेसी. रुपन्देहीको पर्रोहा, राजधानीको पशुपतिनाथ, झापाको अर्जुनधारा, जलेश्वर, महोत्तरीको जलेश्वरनाथ महादेव आदि धेरै शिवमन्दिरमा अहिले बोलबम बोलबम भन्दै काँवरियाहरूको घुइँचो देखिन थालेको छ र प्रत्येक साउन महिनामा हरेक शिव मन्दिरलाई देवघरजस्तै पवित्र सम्झेर त्यहाँकै पारामा जल चढाउने र काँवर बोक्ने संस्कृति विकसित भएको छ।

बौद्ध परम्परामा श्रावण महिना
नेपाली महायानी बौद्ध परम्परामा श्रावण बुद्धको गुण स्मरणको महिना हो । नेपाल संवत् अनुसार यो नवौँ महिना हो, त्यसैले यसलाई गुँ-ला (नवौँ महिना) भनिन्छ भन्ने भनाइका साथै यो बुद्धको गुण स्मरण गरिने महिना भएकोले यसलाई गुणि/गुण-ला -गुण-महिना) भनिएकोमा अपभ्रंस भई गुँला भएको हो भन्ने भनाइ पनि पाइन्छ । अचेलको चलनचल्तीको पात्रो अनुसार यो महिना श्रावण शुक्ल परेवादेखि भाद्र कृष्ण औँसीसम्म पर्दछ । गुँला भनेको उपत्यकाली वागमती सभ्यतामा विहार यात्रा र बुद्ध पूजाको मास हो जसरी शैव धर्ममा यही महिना जलाशयदेखि शिवमन्दिर यात्राको महिना हो । यस महिनामा बौद्ध नेवारहरूले रोपाइँको बेला (कुमार षष्ठीको भोलि वा पर्सिपल्टदेखि) थन्क्याएको बाजागाजा झिकी बिहानै आआफ्ना खलकको समूह समूहमा बौद्ध विहार घुम्ने गर्छन्। यस्तो यात्रामा नौ अङ्कलाई खुबै महत्त्व दिइएको हुन्छ।

श्रावण महिना, हरियो चुरा र मेहन्दी
साउन महिनालाई महिलाहरूले विशेष महत्त्वका साथमा लिने गर्दछन्। श्रावण महिनामा भगवान शिवलाई जल चढाउने संस्कृतिसँगै नेपाली नारीहरूले हरियो चुरा, हरियो पोते, हरियै पहिरन र हातमा मेहन्दी लगाउने चलन पनि केही वर्षयता मौलाउँदै गएको छ। शास्त्रीयआधार नभेटिए पनि यसलाई भिन्नभिन्न व्यक्तिले बेग्लाबेग्लै ढङ्गले विश्लेषण गरेको पाइन्छ। हुन त श्रावण महिना त्यसै पनि हरियाली हुने महिना हो र यस महिनामा भगवान् शिवलाई प्रसन्न तुल्याउने उद्देश्यले हरियो बेलपत्र, भाङ्ग, धतुरो र बिभिन्न नैवेद्य सामाग्रीहरु तयार पारी शिवको पूजाअर्चना गर्नुका साथै उनकै प्रतीक मानी हरेक नारीका हातमा हरियो चुरा र मेहेन्दी सजिसजाउ भएको देख्न पाइन्छ । कुनै शास्त्रीय ग्रन्थमा उल्लेख भएको नभेटिए पनि प्रत्येक वर्षको साउन महिनामा नारीहरुले हरियो चुरा लगाउनु पर्छ भन्ने लोकमान्यता जस्तै भइसकेको छ। त्यसैले नै हुनसक्छ असारको १५ बित्न नपाउँदै हिन्दूधर्मावलम्बी प्रत्येक नारीका हातमा हरियो चुरा र मेहन्दीको रङ्गले सजिन थाल्छ।
(नागपंचमी बारेमा थप जानकारी प्राप्त गर्न यहाँ क्लिक् गर्नुहोस्)