अाखिर सब हो - माटो

यो संसार विचित्रको छ, जसले जसरी बुझ्यो, त्यसरी नै यसको व्याख्या हुन्छ, अर्थात् संसारलाई हाम्रो भावना र कल्पनाको साकार रूप नै हो भन्दा फरक पर्दैन । संसार हाम्रो मनोवादको एउटा बिम्ब हो । हामी स्वयं जस्तो विचार गर्छौं, जुन कल्पनाहरूमा रूमल्लिन खोज्छौं, ठिक त्यस्तै बनिदिन्छ हाम्रो परिवेश, त्यस्तै नै अरूलाई पनि सम्झन्छौं । आफ्नो व्यक्तित्वमुताबिक हामी अरूको चरित्रलाई तुलना गर्दछौं, जाँच्दछौं र निर्क्यौल गर्छौं र ठोकुवा गर्दछौं, उनीहरू राम्रा–नराम्रा के हुन् ? साँच्चै भन्ने हो भने संसारमा व्यक्ति ऐनाजस्तै हो, जसमा हाम्रो प्रतिबिम्ब देखिन्छ । हाम्रो विचार, मन्तव्य, भावना, योजना, कल्पना आदि सबै यसै दुनियामा साकार हुन्छन् ।

व्यक्तिव्यक्तिका गुण र दोषहरू पहिल्याउनु मानवीय स्वभाव हो । तर जुन व्यक्तिमा हामी गल्ती, त्रुटि र दोषमात्र देख्दछौं, बिस्तारैबिस्तारै हाम्रो मनमा उसविरुद्ध एक किसिमको अन्धविश्वासको जग तैयार हुन्छ । त्यसपछि हामीलाई उक्त व्यक्तिमा दोषै दोषको सागर देखिन थाल्दछ । तर वास्तवमा त्यस्तो होइन, अर्कामा देखिने दोषहरूको मूल उसभित्र हुँदैन, त्यसको चुरो हाम्रै मनभित्र छ, स्वयं हामीभित्र पनि अवगुण र दोषहरू भरिएको छ । विचार गर्नुस् न, एउटा सरल मानिसले सबैलाई सरल नै ठानेर व्यवहार गरिरहेको हुन्छ, अनि एउटा फटाहाले आफूबाहेक सबैमा फट्याइँ छ कि भनेर खोतली रहेको हुन्छ । अतः हाम्रा आफ्नै दोषहरू त्यस व्यक्तिमा प्रतिविम्बित भएको हो । परदोष दर्शन एउटा मनोरोग हो । जसको मनमा यो रोग उत्पन्न हुन्छ, उसले अरूमा अविश्वास, भद्दापन, मानसिक वा नैतिक कमजोरीमात्र देखिरहेको हुन्छ । राम्रा व्यक्तिहरूमा पनि उसलाई त्रुटि र दोषको प्रतिविम्बमात्र देखिन्छ । आफ्ना असफलताहरूको ढाकछोप गर्न पनि उसले अरूलाई दोषी ठहर्‍याउने गर्छ ।

संसार एक प्रकारको खेत हो । किसानले खेतमा जस्तो बीउ रोप्छ, त्यसको बिरुवा र फल पनि तदनुरूप विकसित हुन्छ । प्रकृतिले आफ्नो गुण कहिले पनि त्याग्दैन, त्यसरी प्रकृतिले धर्म छाड्ने हो भने धान रोपेको खेतमा मकै फल्थ्यो होला । त्यसैले हामीले जस्तो बीउ रोप्छौं, त्यस्तै नै फल हामीलाई प्राप्त हुन्छ । बीउको गुण वृक्षको हरेक पात र अणुमा विद्यमान रहन्छ । हाम्रा भावना र कल्पना पनि यस्तै बीउ हुन्, जसलाई हामीले समाजमा रोप्छौं र कालान्तरमा त्यसको प्रतिफल प्राप्त गर्दछौं । हामीले हाम्रा धारणा, इच्छा, भावना र कल्पनाअनुसार आफ्नो संसार, परिवेश, नातागोता र छरछिमेकीहरूलाई राम्रो वा नराम्रो भनेर बुझेका हुन्छौं र तदनुरूप व्यवहार गरिरहेका हुन्छौं । स्वयं आफूभित्र जेजस्ता भावनाहरू मँडारिई रहेका हुन्छन्, त्यसरी नै आफ्नो परिवेश र संसारको सिर्जना गर्दछौं । एउटा ऐनाका बारेमा घोत्लिनुस्, ऐनाले हामीलाई कुन नौलो कुरो दिन्छ र उसले दिने कुरा केही पनि हुँदैन, उसमा अर्काको प्रतिबिम्ब देखाउने सामर्थ्य हुन्छ, त्यसैले उसले तपाईं जस्तो हुनुहुन्छ, त्यसैको प्रतिबिम्ब देखाई दिन्छ । ठीक त्यस्तै हो, यो संसार । यसले तपाईंको व्यवहारबमोजिम तपाईंको जीवन, घरपरिवार र परिवेश ठड्याउने काम गर्दछ । वास्तवमा समाजरूपी ऐनामा हामी स्वयंले आफ्नो आन्तरिक स्थितिको प्रतिबिम्ब प्रति दिन र प्रति पल पढिरहेका हुन्छौं ।

एउटा कुरूप व्यक्ति आफूलाई संसारको सबैभन्दा सुन्दर ठान्ने गर्दथ्यो । संयोगले ऊ एक पटक घुमफिर गर्दै नदीका किनारमा पुगेछ, पानीमा उसले आफ्नै छाया देखेछ । सुरुमा उक्त छाया देखेर ऊ डराएछ पनि । त्यो आफ्नै प्रतिबिम्ब हो भन्ने कुरामा उसलाई विश्वासै लागेन । हतारहतार घर आयो, अनि ऐनामा आफ्नो प्रतिविम्ब हेर्‍यो, अनि मात्र उसलाई वास्तविकताको ज्ञान भयो । हामीले पनि हरपल त्यस्तो ऐनाको खोजी गर्नुपर्छ, जसले आफूभित्रका कुभावना, विकार, दुर्विचार र कुकल्पनाको फोटो देखाओस्, तिनको मूर्त रूप प्रदान गरोस् । अनिमात्र हामी छक्क पर्नेछौं, हाम्रो अन्तरकुन्तरमा कति फोहोर र विकारहरू रहेछन् भनी थाहा पाउन सक्छौं । सारांशमा भन्ने हो भने हामीभित्र गुजुमुल्टिएर बसेका आन्तरिक दोष, विकार र फोहोरको थुप्रोका कारण नै हामीलाई यो सुन्दर संसार कुरूप र दोषयुक्त देखिन्छ, मनजस्तो छ, हाम्रो वातावरण पनि त्यस्तै दृष्टिगोचर हुन्छ । हामीले जस्तो दिन्छौं, त्यस्तै प्रतिफल प्राप्त गर्दछौं । जे रोप्छौं, त्यही फिर्ता लिन्छौं । जब हामी अनिष्टकर दोषदर्शन भएको दुष्प्रवृत्ति लिएर संसारमा निस्कन्छौं, तब बदलामा हामीलाई दोष, असफलता, प्रमाद, झूट, कपट, मिथ्याचार मात्र प्राप्त भइरहेको हुन्छ ।

हरेक व्यक्तिको सुखको वास्तविक कारण उसभित्र सल्बलाउने सद्भावना र असल विचार हो । सुविचार, अरूप्रतिको उदार भावना, सच्चिन्तन, परगुणदर्शन यी दिव्य मानसिक बीज हुन्, जसलाई संसारमा रोपेर हामीले आनन्द र सफलताको मधुरता प्राप्त गर्न सक्छौं । शुभ भावनाको प्रतिविम्ब शुभ नै हुन्छ । गुणदर्शन एउटा यस्तो सद्गुण हो, जसले हृदयमा शान्ति र मनमा पवित्र प्रकाश उत्पन्न गर्छ । अरूको सद्गुणलाई हेरेर हाम्रो गुणहरूको स्वत: विकास हुन्छ । हामीलाई सद्गुणहरूको यस्तो सुसुप्ति प्राप्त हुन्छ, जसमा हाम्रो देवत्व विकसित भइरहेको हुन्छ । सद्भाव शुद्धता र पवित्रताका निमित्त अत्यावश्यक छ । यसमा हाम्रा कल्पना, भावना र सुकर्महरू स्थापित र विकसित भई फलित पुष्पित हुन्छन् । हामीलाई भित्रैदेखि  निरन्तर एउटा यस्तो सामर्थ्य प्राप्त हुन्छ, जसले निरन्तर हाम्रो उन्नति भइरहन्छ ।

श्रीमद्भगवद्गीतामा लेखिएको छ - विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि । शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ॥ज्ञान र विवेकले युक्त व्यक्तिले विद्या र विनयसम्पन्न ब्राह्मणजनमा तथा गाई, हात्ती, कुकुर र चाण्डालमा समेत समानभाव राख्ने गर्दछन् ।) अतः शुभ विचार, शुभ भावना र शुभ कार्यले मनुष्यलाई सुन्दर बनाउँछ । यदि सुन्दर हुनु छ भने मनबाट ईर्ष्या, द्वेष र वैरभाव त्यागेर केवल रमणीयता, सौन्दर्य र आनन्दको भावना निसृत गर्नुपर्दछ । कुरूपता, विषाद, शोक र दुःखतर्फ ध्यानकेन्द्रित हुन दिनुहुँदैन । सुन्दर मूर्ति र पवित्र विचारको कल्पना गर्नुपर्दछ । मन र शरीरलाई स्वस्थ तुल्याउन प्रात:काल स्नानशौचादि र नित्यकर्म सकेर तपाईंले यस्ता स्थानहरूमा घुम्न जानुपर्छ, जहाँको परिवेश शान्त होस्, मनोहर होस्, जसले तपाईंमा सद्भावना बढाआेस्, धार्मिक, आध्यात्मिक र सांस्कृति खुराक प्रदान गरोस्, जुन ठाउँ मधुर सङ्गीत गुञ्जायमान होस्, राम्राराम्रा फूलहरू फुलिरहेका होउन्, पक्षीहरूले चिरिबिरी गरेको होस् वा फुत्तफुत्त एक ठाउँबाट अर्को ठाउँमा उडिरहेका होउन्, मन प्रसन्न रहोस्, अशान्ति, कोलाहल, द्वन्द्व र बहसबाट टाढा बस्न पाइयोस् । एकाबिहानै आफ्नो मनमा सुन्दर पहाडपर्वतहरू, हराभरा वनजङ्गलहरू, नदी वा तालतलैयाका सुरम्य तटहरूको सौम्यता र रमणीयता उब्जनु पर्दछ । दिनको प्रारम्भमा बृद्धावस्थाका तनाव र थकानका भावनाहरूको काम छैन, बरु भर्खरै यस दुनियामा प्रवेश गरेको हँसिलो बच्चाको सौम्यता र आभा प्राप्त गर्ने प्रयास गर्नुपर्छ, यसरी आफ्ना भावना र कल्पनालाई दूषित बन्नबाट जोगाउनु हवस्, अनि विचार गर्नुहोस्, आनन्द केलाई भनिंदो रहेछ ।

मानव जीवनको उच्चतम लक्ष र आनन्द प्राप्तिको सहज मार्ग हो, मनभित्रको आनन्द, सुविचार, सन्मार्ग र सद्भावनाको प्राप्ति । जीवनलाई सुसज्जित गर्ने बहुमूल्य आभूषण भनेका यिनै हुन् र यिनलाई ग्रहण गर्ने व्यक्ति नै वास्तवमा भाग्यमानी कहलिन्छन् । त्यस्तै व्यक्तिले संसारमा सुखको अनुभूति गर्न पाउँछ । उसैले पवित्रता र सत्यताको रक्षा गर्न सक्दछ । उसले आफूलाई मात्र होइन, आफ्नो सम्पर्कमा आउने हरेक व्यक्ति, परिवेश र समाजलाई प्रसन्न तुल्याउने भूमिका निर्वाह गर्न सक्दछ । समग्र जीवन र जिजीविषालाई प्रेरणा प्रदान गर्न सामर्थ्य हुन्छ, उसमा । अतः तपाईं सुन्दर र स्वस्थ मन नै सर्वत्र सुख, प्रेम, समृद्धि र आनन्द उब्जाउने कल्पवृक्ष हो । त्यसैले मनमा सदैव सद्भावनाहरू राखौं । भनिएको छ नि, आखिर सब हो - माटो