मकर राशिको प्रतीक चिह्न गोही (मकर) हो र यस राशिको मालिक शनि ग्रहलाई मान्ने गरिन्छ । यस राशिमा जन्मिएका जातक अत्यन्त महत्त्वाकांक्षी हुन्छन् । कसरी सम्मान र सफलता प्राप्त हुन्छ भन्ने सोचमा रहनु यिनको विशेषता हो । राजसी स्वभाव र गम्भीर व्यक्तित्वका धनी हुने भएकाले यिनीहरु आफ्ना लक्ष्य र उद्देश्यमा पुग्न हरदम कठिन परिश्रम गर्ने गर्दछन् । भ्रमण र पर्यटन पनि यिनीहरुको रुचिको क्षेत्र हो । गम्भीर र शालीन स्वभाव भएकाले यिनीहरुको मित्र र साथीसंगीको संख्या थोरै हुन्छ, भएका साथीभाइ पनि कार्यालय, प्रतिष्ठान, संघसंस्था र व्यवसायमा आबद्ध हुन्छन् । थोरै बोल्नु, ठूलाबडा र प्रतिष्ठित व्यक्तिहरुसँग उठबस गर्नु र धार्मिक, आध्यात्मिक विषयवस्तुप्रति आकर्षित रहनु यस राशिका व्यक्तिको गुण हो । सामान्यतया यिनीहरुको दाम्पत्य जीवन त्यत्ति सहज हुँदैन । जीवनसाथीसित तालमेल कमैमात्र मिलेको देखिन्छ । हेर्दा भद्दा र अल्छी शरीर देखिए पनि यिनीहरु मानसिक रुपमा सबल र फुर्तिला हुन्छन् । यिनीहरुमा राम्रो व्यवस्थापकीय क्षमता हुन्छ, जुनसुकै कामलाई लामो चिन्तन र योजनापछि मात्र सम्पादन गर्ने बानी हुन्छ । यिनीहरु प्रायशः शान्त र मौन रहने गर्दछन्, जीवनसाथीले यिनीहरुको यो स्वभावलाई बुझ्नसके वैवाहिक जीवन पनि जीवनकालको उत्तराद्र्धमा राम्रै रहेको देखिन्छ । यिनीहरुले साथीभाइ वा जीवनसाथीका माध्यमबाट उन्नतिप्रगति गरेको देखिन्छ । यस राशिमा जन्मिएका स्त्रीहरु सामान्यतया लामो कदकाठीका हुन्छन्, खेलकुद, नृत्य र व्यायाम रुचिको विषय हुन्छ, संगीसाथीको संख्या धेरै हुन्छ, पारम्परिक मूल्य र मान्यतालाई निर्वाह गर्दछन् अनि ससाना वाक्यमा आफ्ना धारणा व्यक्त गर्दछन् । यस राशिमा जन्मलिने पुरुषहरु घरपरिवार र घरायसी काममा ध्यान दिन्छन्, तर स्त्रीहरुले घरबाहिरको काममा ध्यान दिएको पाइन्छ । मकर राशिमा मनुष्यको जन्म भएमा उसको राशिस्वामी शनिश्चर ग्रह, चर संज्ञा, शीतल (नरम) स्वभाव, कफ प्रकृति भएको, वात प्रकृति, स्थूल शरीर, तमो गुण (घमण्डी), बाटुलो चेहरा, श्याम (कालो) वा गहुँगोरो वर्ण, एकमात्र पुत्र वलवान् हुने, वैश्य वर्ण, कोमल वाणि, तर कृपणी, दक्षिण दिशाको स्वामी हुन्छ । मकर राशिमा तीन वटा नक्षत्र (उत्तराषाढा, श्रवण र धनिष्ठा ) र नौ वटा अक्षर हुन्छन् – भो, ज, जी, खि, खु, खे, खो, गा, गी । नक्षत्रअनुसार मकर राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । जुन यस प्रकार छ :–
उत्तराषाढा नक्षत्रको जन्मफल
उत्तराषाढा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – भे, भो, ज, जी । तर यी अक्षरमध्ये सुरुको अक्षरबाहेक भो, ज, जी मात्र मकर राशिमा पर्दछ, त्यसैले यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको उत्तराषाढा नक्षत्र र मकर राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू सुन्दर, आकर्षक, तीक्ष्ण मस्तिष्कवान्, लाज मान्ने तथा उच्च व्यवसाययुक्त व्यक्ति हुन्छन्, साथै उत्तम व्यवहार भएको एवं किसिमकिसिमका खूबी र कलाले भरिपूर्ण व्यक्तित्व हुन्छ । स्वाभिमानी त हुन्छन् नै, साथै निर्णय लिन सक्ने उच्च क्षमता पनि हुन्छ । आफ्ना विरोधीहरूलाई सजिलै परास्त तुल्याउन सक्दछन् । धार्मिक र परोपकारी स्वभावका हुन्छन् । परिवारका सदस्यहरू अझ सन्तानले असाध्यै मन पराउँछन् । पारिवारिक जीवन सुखी र शान्तिपूर्ण हुन्छ । रौसे स्वभावका व्यक्ति हुन्छन्, हाँसखेल र मनोरञ्जन औधी मन पर्छ । सभ्य र संस्कारी हुन्छन्, प्रचलित परम्परा र नियमको पालना गर्छन् एवं विधि र कानुनप्रति पूर्ण निष्ठा हुन्छ । आशावादी हुन्छन्, जस्तोसुकै परिस्थितिमा हार मान्दैनन् र अगाडि आउने चुनौतीको हिम्मतका साथमा सामना गर्छन् । शिक्षा र पठनपाठनका दृष्टिकोणले विचार गर्दा चलाख हुन्छन्, शिक्षा र अध्ययनमा गहिरो रुचि हुन्छ । कतिपय विषयमा गहिरो ज्ञान राख्ने गर्छन् र विषय विशेषको विद्वान् मानिन्छन् । आजीविकाका दृष्टिकोणले जागिर÷नोकरी र व्यवसाय दुबैमा सफल र प्रतष्ठित हुन्छन् । कठिन परिस्थितिलाई पनि हाँसीहाँसी सामना गर्नु यिनीहरूको वैशिष्ट्य हो, त्यसैले अनुहारमा निराशाका भावना कहिल्यै देखा पर्दैन । प्रत्येक व्यक्तिसित प्रेमभाव र आफ्नोपन दर्शाउने गर्छन् । आफ्नो स्वभावमा भएको यो गुणका कारण सामाजिक सम्बन्ध कायम राख्छन् र जनसेवा एवं परोपकारी कार्यमा सहभागी हुन्छन्, परिणामतः समाजमा गरिमापूर्ण स्थान प्राप्त हुन्छ । मित्रताको दायरा ठूलो हुन्छ, मनैदेखि मित्रताको भावना व्यक्त गर्छन् र मित्रवर्गबाट पारस्परिक सहयोग र सहायता प्राप्त गर्दछन् । धन र वैभवको राम्रो सम्भावना हुन्छ, जीवनमा धनको कमी हुँदैन । कुनै बेला परिस्थितिवश धनको अभाव भइहाल्यो भने पनि आफ्नो बुद्धिमानी र हिम्मतको उपयोग गरी परिस्थितिलाई नियन्त्रण गर्न सक्षम हुन्छन् र आर्थिक सङ्कटबाट उम्कन सफल हुन्छन् । यस नक्षत्रको स्वामी ग्रह सूर्य हो। यस नक्षत्रका अधिदेवता हुन् – विश्वदेव । कटहरको रुखलाई उत्तराषाढा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले कटहरको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा कटहरको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
उत्तराषाढा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘भो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०६ १२ १३ १४ १५ २१ २२ २३ २४ २५ २६ ३४ ३५ ३६ ३७ ३८ ३९ ४० ४१ ४२ ४८ ४९ ५० ५२ ५३ ५४ ५५ ५६ ६२ ६७ ६८ ६९ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘ज’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ ११ १२ १३ १९ २० २१ २२ २३ २४ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ३९ ४० ४६ ४७ ४८ ४९ ५१ ५२ ५३ ५४ ६७ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘जि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०३ ११ १७ १८ १९ २० २१ २२ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ४४ ४५ ४६ ४७ ५१ ५२ ६६ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
श्रवण नक्षत्रको जन्मफल
श्रवण नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – खि, खु, खे, खो । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको श्रवण नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू उदारवादी हुन्छन् साथै स्वच्छ मन र उच्च विचार भएका व्यक्तित्व हुन्छन् । आधुनिक र नयाँनयाँ फेसनका लताकपडा मन पर्दछन् । शिक्षित, बुद्धिमान्, बाठा र लगनशील हुन्छन् । बढी शङ्कालु प्रवृत्तिले गर्दा व्यवसायिक उन्नति भने अलि ढिलो हुने देखिन्छ । यिनीहरूले यश र सम्मान त पाउँछन् नै, पारिवारिक जीवन पनि आनन्दपूर्वक र सुखपूर्ण ढंगले बित्दछ । आफ्ना महान् विचारका कारणले प्रसिद्ध हुनपुग्छन् । आन्तरिक ऊर्जाले भरिपूर्ण र लगनशील हुन्छन् । सधैं सक्रिय रहनु यिनीहरूको विशेषता हो, खाली बस्न मन पराउँदैनन्, जति वेला पनि केही न केही गरी रहने स्वभाव हुन्छ । उच्च महत्त्वाकाङ्क्षाले भरिपूर्ण हुन्छन्, सानातिना र खित्रिङमित्रिङ काम गरेर सन्तुष्ट हुन सक्दैनन्, ठूला र दमदार काम गर्ने रुचि हुन्छ । रहस्यात्मक स्वभाव हुने भएकाले स्वभाव बुझ्न सामान्य मानिसका लागि गाह्रो हुन्छ, कार्यशैलीका बारेमा अनुमान लगाउन पनि गाह्रो हुन्छ र कहिले के गर्छन् भन्ने अड्कल गर्न पनि सकिंदैन । जुन कुरो प्राप्त गर्ने इच्छा राख्छन्, त्यसलाई प्राप्त गर्न जेजस्तो संघर्ष गर्नु परे पनि पछि पर्दैनन् । उत्ताउलोपन र चञ्चलता, छिटो रिस उठ्ने बानी, योजना नबनाई काम गर्नु आदि यिनको कमजोरी हो । शत्रुभाव राख्नेसँग जाइ लाग्छन् र प्रतिशोधको भावना पछिसम्म लिने गर्छन् । कुनै उपाय र दबाबका आधारमा वशमा लिन सकिंदैन, वशमा राख्न मेलमिलाप र प्रेमभाव दर्शाई फकाइफुल्याइ गर्नुपर्छ । उत्तम र आदर्श मित्र बन्नसक्छन्, छल कपटबाट टाढा रहने गर्दछन् र साँचो मित्रता निर्वाह गर्छन् । आफ्ना सँगीसाथी र मित्रका लागि जेजस्तो सहयोग गर्नु परे पनि तत्पर रहने गर्दछन् । देख्दा कठोर र क्रूर देखिए पनि वास्तवमा कोमल हृदयका हुन्छन् । बाल्यावस्था संघर्षका साथ बित्दछ । वास्तवमा एकोहोरो र जिद्दी स्वभावका हुन्छन्, चिताएको कुरा पूर्ण नहुञ्जेल विश्राम लिन मन पराउँदैनन् । यस नक्षत्रका अधिदेवता व्यवस्थापक हुन्। यस नक्षत्रमा उत्पन्न जातकले भगवान् विष्णुको व्रत र पूजाआजा गर्दा शुभफलमा अझ बृद्धि हुने विश्वास गरिन्छ। यस नक्षत्रको मुख्य ग्रह चन्द्रमालाई मानिन्छ। आँकको बिरुवालाई श्रवण नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले आँकको बोटको पूजा गर्नुपर्छ अथवा आफ्नो घर वरपर कतै खाली ठाउँमा आंकको बोट रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ ।
श्रवण नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘खि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०७ ०८ ०९ १० १६ १७ १८ १९ २० २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५० ६३ ६४ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘खु’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०७ ०८ ०९ १५ १६ १७ १८ १९ २० २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ४२ ४३ ४४ ४५ ४७ ४८ ४९ ५० ६३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘खे’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०७ ०८ ०९ १५ १६ १७ १८ १९ २० २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ४२ ४३ ४४ ४५ ४७ ४८ ४९ ५० ६३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘खो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०७ ०८ ०९ १५ १६ १७ १८ १९ २० २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ४२ ४३ ४४ ४५ ४७ ४८ ४९ ५० ६३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
धनिष्ठा नक्षत्रको जन्मफल
धनिष्ठा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – गा, गि, गु, गे । तर यीमध्ये सुरुका दुईवटा अक्षरहरु गा र गी मात्र मकर राशिमा पर्दछन् । अतः यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको धनिष्ठा नक्षत्र र मकर राशि हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू असल विचार र उच्च लक्ष्य भएको आदर्शवादी व्यक्तित्व भएका हुन्छन् । सकारात्मक सोच र उत्तम व्यवहारका माध्यमबाट आफ्नो कार्य सम्पादन गर्न सक्छन् । विविध व्यवसाय र पेसामा आबद्ध भई धेरै धनार्जन गर्न सक्छन् । जीवन आनन्दमय हुन्छ । समाजमा प्रसिद्धि प्राप्त गर्नुका साथै आफ्नो सामाजिक सञ्जाल दिनप्रतिदिन फिंजाउँदै अघि बढ्दछन् । आन्तरिक ऊर्जाले भरिपूर्ण हुन्छन् । चुप लागेर बस्न सक्दैनन् र जति बेला पनि केही न केही गरिरहन्छन् । आफ्नो लगनशीलता र सक्रियताका कारण आफ्नो लक्ष्य र उचाइ प्राप्त गर्दछन् । अत्यधिक महत्त्वाकाङ्क्षी हुन्छन् र जुन कुरो मनमा उठ्छ, त्यसलाई पूर्ण गर्न अन्त्यसम्म निडर, साहस र हिम्मतका साथमा खट्न सक्दछन् र लक्ष्यमा पुगेर मात्रै विश्राम लिन्छन् । त्यस्तै आफ्नो अधिकार र वर्चस्व स्थापना गर्न अग्रणी हुन्छन् । मानिसहरूमा आफ्नो वर्चस्व र प्रभाव कायम राख्न मन पर्छ । जुनसुकै काम गर्दा पनि सावधानी अपनाउँदछन् र । स्वाभिमानको मात्रा अत्यधिक हुन्छ, तर कलह र विवादबाट टाढा रहन प्रयत्न गर्दछन्, यद्यपि कलह र विवादलाई टार्न सक्दैनन् र उग्र बन्न पुग्छन्, उग्रता बढ्दै जाँदा हिंस्रक पनि बन्दछन् । राम्रो बौद्धिक क्षमता हुन्छ र कुनै पनि विषयमा तुरुन्त निर्णय लिन सक्दछन् । निर्णयात्मक क्षमता राम्रो हुनाले जीवनमा उच्च सफलता प्राप्त गर्दछन् । जागिर÷नोकरीमा बढी रुचि राख्छन्, यद्यपि लागि जागिर÷नोकरी र बन्दव्यापार÷व्यवसाय दुबै क्षेत्र सफल नै मानिन्छ । दुबैमध्ये जुन क्षेत्रमा लागे पनि उच्च सफलता हासिल गर्न समर्थ हुन्छन् । इन्जिनियरिङ्को क्षेत्र वा प्राविधिक क्षेत्र बढी सफल रहेको देखिन्छ । व्यापारमा लाग्दा हार्डवेयरको क्षेत्रमा बढी अनुकूलता हुन्छ । त्यस्तै घरजग्गाको कारोबारबाट पनि राम्रो लाभ पाउन सक्दछन् । समग्रमा असाध्यै पराक्रमी हुन्छन्, आफ्ना पराक्रमका बलमा जीवनमा आउने अप्ठ्यारा र विपरीत परिस्थितिहरूलाई डटेर सामना गर्छन् । आफ्नो मानसम्मान र मर्यादालाई जीवनमा सबैभन्दा धेरै महत्त्व प्रदान गर्दछन् र स्वाभिमानमा आँच आउँदा उग्र हुन पुग्छन् । यद्यपि शान्तिपूर्ण जीवन यापन गर्ने लालसा हुन्छ, जुनसुकै विवादबाट टाढा रहन चाहन्छन् र बढी महत्त्वाकाङ्क्षी बन्दैनन् । गीतसङ्गीत र कलामा लगाव हुन्छ । मङ्गल ग्रह यस नक्षत्रको स्वामी हो। यस नक्षत्रका अधिदेवता अष्टवसु हुन्। यस नक्षत्रमा जन्मने जातकले अष्टवसुको व्रत र पूजा गर्ने गर्दछन्। शमीको रुखलाई धनिष्ठा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले शमीको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा शमीको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
धनिष्ठा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘ग’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०५ ०६ ०७ ०८ १५ १६ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ४६ ४७ ४८ ४९ ५० ५२ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६० ६१ ६२ ७० ७३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘गि’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०५ ०६ ०७ ०८ १४ १५ १६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ४५ ४६ ४७ ४८ ४९ ५२ ५३ ५४ ५५ ५७ ५८ ५९ ६० ६१ ६२ ७० ७२ ७३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
नक्षत्र बमोजिम यी बेग्लाबेग्लै स्वभाव देखिए पनि मकर राशिका जातकमा पाइने साझा विशेषताहरु निम्नानुसार छन् :
शारीरिक गठन : यस राशिमा जन्म लिने व्यक्तिको ठूलो टाउको र लामो नाक हुन्छ । यस जातकको गर्दननेर वा घाँटी नजिक कालो कोठी वा तिल वा दाग आदि हुनसक्छ । मकर राशिका स्त्रीको आँखा गहिरो र सुन्दर हुन्छ । यिनीहरूको कद अग्लो तर शरीर पातलो हुने गर्दछ, शरीर पुष्ट र गहुँगोरो वर्ण हुन्छ, मुखाकृति सानो हुन्छ, वाटुला राम्रा तर थोरै लालिमायुक्त आँखा भएकी, छाती र मुखमा तिलकोठी भएकी, पेटकी दीर्घरोगी, धार्मिक स्वभाव भएकी, खर्चबर्चमा नियन्त्रण गर्नसक्ने, सन्ततिसुखले सुख भए पनि जीवनपर्यन्त परिश्रम गर्ने र कर्मबाट मात्र सुखहुन्छ भन्ने मान्यता राख्ने, पातलो कम्मर भएकी हुनेछ । यी निहुरिएर र आँखा झुकाएर हिंड्ने गर्दछन् ।
व्यवसाय : काठको काम, छालाजुत्ता, सिमेन्ट, खाने तेल र पेट्रोलियम पदार्थ, ढुंगामाटो र बहुमूल्य पत्थर, ठेक्कापट्टा, अनुसन्धानात्मक र अन्वेषणात्मक कार्य, कार्यालयको हाकिमको अधीनस्थ कर्मचारी, मोटरवाहन, राजनीतिक र कूटनीतिक काम, बैंक, वित्तीयसंस्था, सुरक्षा निकाय, स्पोटर्स, फलाम र मिलमेसिनरीको काम, सबै खाले धातुको किनबेच, घरघडेरी र जमिनजायदातको कारोबार, चिरफारको काम, हातहतियार र सुरक्षा सामग्री, वैदेशिक र कुटनैतिक क्षेत्रका कामधन्दा र व्यवसायमा मकर राशिका व्यक्ति सफल हुने गर्दछन् । यस राशिका जातक रङ्गमञ्च, लागुपदार्थ वा मादक पदार्थको क्रयविक्रयकर्ता, उच्च सरकारी पदाधिकारी, श्रेष्ठ पौडीवाज आदि पनि हुने गर्दछन् ।
आर्थिक पक्ष : मकर राशिका जातकको आर्थिक पक्ष त्यत्ति बलियो हुँदैन । यिनीहरु परम्परा, भाग्य र नियतिमा आस्था राख्ने भएकाले छलछाम तथा ठगी प्रवृत्तितर्फ नलागी मिहिनेत, लगनशीलता र परिश्रमका माध्यमले धनार्जन गर्दछन् । यिनीहरू हँसिला हुन्छन् र अर्काको सक्दो मद्दत गर्दछन् । खर्च गर्न हिचकिचाउँदैनन्, तर जीवनयापनमा सरलताका निम्ति यिनीहरूले बचत गर्ने बानी बसाल्नुपर्छ । यिनीहरुले आकस्मिक धनलाभ (चिट्ठा, अपुताली आदि) गर्ने सम्भावना पनि हुन्छ । मूलतः प्राविधिक काम र सीपमूलक व्यवसाय, जस्तै मिलमेसिनरी र धातु, सुरक्षा निकाय, औषधीको कार्य, जग्गाजमिन, प्लटिंग, ढुंगा, गिट्टी, रोडा आदिबाट जीविका सञ्चालन र धनोपार्जन गर्ने स्वभाव यस राशिमा प्राप्त हुन्छ । यस्ता व्यक्तिले अध्ययन, भ्रमण, व्यवसाय र रोजगारीका लागि पश्चिम र दक्षिण दिशा गएमा लाभ पाउने सम्भावना हुन्छ ।
चारित्रिक विशेषता : सामान्यतया मकर राशिका व्यक्तिहरु परोपकारी, सहयोगी, मिलनसार र धार्मिक स्वभावका हुने गर्दछन्, तर यस राशिका पुरुषको किशोरावस्था र प्रारम्भिक युवावस्था खराब संगत र विकृतिमा बित्ने सम्भावना हुन्छ । शनिको राशि भएकाले यस राशिका जातक परिश्रमी, मिहिनेती र कर्मशील हुन्छन्, तर यिनको भाग्योदय सामान्यतया ३६ वर्षमा मात्र हुने गर्दछ, त्यसैले व्यक्तित्व विकास, पेसा, व्यवसाय र घरायसी सुख आदि सबै ढिलो क्रियाशील हुने गर्दछ । आफूसामुको मानिस जति बुज्जगी हुन्छ, यस राशिमा जन्म लिने व्यक्ति त्यति नै समझदार हुन खोज्छन् । यस्ता व्यक्ति नराम्रा विचार सहन गर्न सक्दैनन् ।
आजीविका : मकर राशिका जातकहरु मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ । यस्ता मानिसहरू जति मिहिनेती हुने गर्दछन्, कहिलेकाहीं त्यति नै अल्छी पनि हुनपुग्छन् । यस्ता व्यक्ति दृढनिश्चयी र संयमी हुने गर्दछन् । जीवनमा आइपर्ने बाधासित डराउँदैनन्, बरु तिनलाई डटेर सामना गर्दछन् । यस्ता मानिसहरूले बदला लिनु पर्यो भने पछि पर्दैनन् । यस्ता मानिसहरूमा थोरै समयमा जस्तोसुकै परिस्थितिमा पनि आफूलाई परिवर्तित तुल्याउन सक्ने गुण हुन्छन् । यस राशिका जातकमा प्रायशः जीवनकालको ३६ औं वर्षपछिमात्र काममा तल्लीनता र स्थिरता देखिने भएकाले त्यसअघि वैदेशिक रोजगारी, मार्केटिंग, खेलकुद, सुरक्षा निकाय, पर्वतारोहण, तालिम र सेमिनार सञ्चालन हुने काम, ड्राइभिंग, आयातनिर्यात र सामाजिक कार्यक्रम आदिमा काम गर्नु राम्रो हुन्छ ।
प्रेमसम्बन्ध : मकर राशिका व्यक्ति बाहिरबाट हेर्दा सामान्यतया कठोर स्वभावका देखिन्छन् । त्यसैले यिनीहरु हाकाहाकी प्रेमभावना र कोमलता प्रकट गर्दैनन् । बोलीवचनमा खरोपना देखिन्छ, हम्मेसी अपरिचित व्यक्तिहरु यिनीहरुसित हच्किन्छन् । यिनीहरु कल्पना र भावनामा छिटो डुब्ने गर्दछन्, भावुक हुन्छन्, मनका आरोहअवरोहलाई रोक्न सक्दैनन् र तुरुन्त निराशा र वैराग्यका भावना प्रकट गर्न थालिहाल्छन् । सातौं राशिमा चन्द्रमाको प्रभाव हुनाले यिनीहरुको प्रेमभावनामा वासना र कामुकताले समेत प्रवेश गर्दछ, चर राशि भएकाले यिनीहरुको प्रेमसम्बन्ध विश्वासयोग्य बन्न सक्दैन । तर विवाहोपरान्त यिनीहरु दाम्पत्यजीवनप्रति विशेष गम्भीर बन्ने गर्दछन् र आफ्ना कर्तव्यनिर्वाह गर्दछन् ।
इष्ट मित्र : मकर राशिका जातक आफन्तमा विश्वासिला र भरपर्दा हुन्छन् । यिनीहरु कर्तव्यपालक, हक्की स्वभाव, सहयोगी भावना, मिलनसार र दयालु हुन्छन् । यिनका इष्टमित्रको संख्या अत्यधिक हुन्छ, तर प्रायः पुरुष जातकहरु २० देखि २५ वर्षको उमेरको बीचमा संगतको दुष्प्रभाव, व्यभिचार र गैरकानूनी क्रियाकलापबाट जोगिन सक्दैनन् । त्यस्तै यिनीहरु आफ्नो स्वार्थका निमित्त र पारिवारिक प्रयोजनका लागि जानाजानी कुनै गलत तरिकाले काम गर्न चाँहदैनन्, त्यसैले पनि यिनीहरुका केही कमजोरीका वावजुद समाजमा लोकप्रिय हुने गर्दछन् ।
रूचि र चासो : हरेक विषयमा यिनीहरूको रूचि हुन्छ र हरेक क्षेत्रमा सफलता पाउन खोज्छन् अनि मिहिनेत र लगनशीलताले सफलता हासिल पनि गर्छन् । विशेषतः सुरक्षाक्षेत्र, प्राविधिक क्षेत्र र न्यायिक क्षेत्रमा चासो राख्छन् । कहिले कसैलाई धोका दिंदैनन् । यस्ता व्यक्ति असफल भएमा धेरै छिटो निराश हुनपुग्छन्, तर केही बेर एकान्तमा बसेपछि सोचविचार गरेर निराशाबाट मुक्त हुन्छन् । यिनीहरू जीवनमा प्रशस्त इच्छा गर्दछन् र यिनीहरूका तीमध्ये अधिकांश इच्छा पूर्ण पनि हुन्छन् ।
विवाह एवं दाम्पत्य जीवन : दाम्पत्य जीवन सकारात्मक नै हुन्छ, उत्तम गुण र शीलस्वभावले युक्त जीवनसाथी प्राप्त गर्दछन्, तर यिनीहरुले पति वा पत्नीको वशमा रहनु पर्दछ । वैवाहिक जीवनको केही वर्षपछि पतिपत्नीमा कलह, वैमनस्य र झैझगडा हुने सम्भावना हुन्छ, यद्यपि यस्तो झगडा लामो समय रहँदैन, अनि बुढेसकालमा एकअर्काका परिपूरक र सहयोगी भई जीवन बिताउने गर्दछन् ।
व्यक्तित्व : यस राशिमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ, त्यसैले शनिको सम्पूर्ण गुणदोष यस राशिमा विद्यमान हुन्छ । पति वा पत्नीको स्वरुप, आयु र स्वभावमा वेमेल भए पनि यिनीहरु एकअर्काका अतिप्रिय, पुत्रवान, मातृपितृभक्त, धनवान्, दाता, सुन्दर, नोकरचाकरले युक्त परिवार भएका, दयालु, बन्धुबान्धवको पूर्णसुख पाउने, घमण्डी, सर्दी र चिसोको चपेटामा परिरहने, मिथ्या धर्म गर्ने, साहित्य, कला र संगीतमा झुकाव नभएको, नमिलेको र शिथिल शरीर भएका व्यक्ति हुने गर्दछन् । यस्ता व्यक्ति फाल्तु कुरामा अल्मलिदैनन् र भविष्यप्रति सचेत हुन्छन् । यस्ता मानिसहरू परोपकारी हुने गर्दछन् र अनुशासन मन पराउँछन् । आफ्नो सिद्धान्तलाई निर्वाह गर्दछन् । धैर्य र अनुशासन यस राशिको गुण हुने गर्दछ ।
शिक्षा : यस्ता व्यक्तिको स्मरणशक्ति राम्रो हुन्छ र केही पनि भुल्दैनन्, त्यस्तै चाहिने वा नचाहिने प्रत्येक चीजबीजको संग्रहमा यिनीहरुको रुचि हुन्छ । यिनीहरुको अध्ययनअध्यापनको स्तर उत्तम हुन्छ । घरपरिवारले वास्ता नगर्नाले र अनुशासनमा राख्न नसक्नाले यिनीहरुको पढाइको क्रम छिट्टै रोकिने सम्भावना हुन्छ, तर अनुशासन र प्रेरणाप्रद वातावरण प्राप्त गर्न सकेमा यिनीहरुले इन्जिनियरिंग, गणित, वन, वातावरण, खाद्यविज्ञान, भूगर्भशास्त्र, कृषिशास्त्र, पशुचिकित्सा, चिरफार, बालबालिका र पेटको डाक्टर आदि क्षेत्रमा उन्नति गर्दछन् ।
स्वास्थ्य : सामान्यतया यस राशिका जातकहरु निरोगी नै हुन्छन् । आहारविहारमा सतर्क हुन नसक्दा यिनले रोगलाई निम्त्याउने गर्दछन्, जस्तै अमिलो र पिरो खानेकुराको सेवनबाट शरीरमा वात प्रकृति बढ्नाले कठिनाइ हुनसक्छ । सामान्यतया यिनीहरु ताप, पाचनप्रक्रिया र हड्डीका रोगी हुन्छन् ।
घरायसी वातावरण : मकर राशि भएका व्यक्तिको पारिवारिक वातावरण र घरायसी सुख राम्रो हुन्छ । यस राशिका जातक उदारमना, परोपकारी र सहयोगी हुन्छन् । मनका कुरा हाँसीहाँसी खुलेर बताउने गर्दछन् । स्वाभिमानी हुन्छन् तर घमण्डी हुँदैनन्, त्यसैले यिनीहरु मातापिता, दाजुभाइ र परिवारजनसँग मिलेर बस्ने इच्छा राख्छन् । तर चौथो चर राशि मेष हुनाले यिनीहरुले जीवनको अधिकांश समय अर्काको घरमा, डेरामा वा परदेशमा बिताउनु पर्दछ ।
देवता : भगवान् शिवजी, भैरव देवता
भाग्यशाली रत्न : राशिको रत्न : नीलम, भाग्यरत्न : पन्ना
अशुभ रत्न : माणिक
शुभ महिना : आषाढ, मार्गशीर्ष र चैत्र
अशुभ महिना : वैशाख, भाद्र, पौष
शुभ राशि : बृष, कर्कट, कन्या र मकर
अशुभ राशि : मिथुन, सिंह, धनु
शुभ दिन : बुधबार, शुक्रबार, शनिबार
अशुभ दिन : आइतबार र सोमबार
शुभ दिशा : दक्षिण र पश्चिम
अशुभ दिशा : पूर्व
शुभ अंक : २, ३, ६, ७
अशुभ अंक : ५
शुभ रंग : नीलो, कालो
अशुभ रंग : रातो, कलेजी