प्रणय दिवस

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, यो सनातन संस्कृति र हिन्दूहरूको आफ्नो र मौलिक पर्व होइन, तर विगतका केही वर्ष यता यो दिन युवाहरूको विशेष पर्वका रूपमा नेपालमा पनि धुमधामका साथमा मनाउन थालिएको छ । अहिलेको युवा पुस्ताले इलेक्ट्रोनिक र साइबर पुस्ताका रूपमा आफ्नो आधुनिकतम परिचय बनाउँदै गर्दा खास गरी फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, भाइबर, स्काइपि आदि सोसल साइटमा भ्यालेन्टाइन डेको रौनक देख्न पाइन्छ । यस दिनको आगमन हुनुभन्दा एक वा दुई हप्ताअघि नै युवायुवतीका आ–आफ्ना स्ट्याटस र चित्रमा भ्यालेन्टाइन डेको रङ पोतिन थालिसकेको हुन्छ, तिनका प्रणय भावले भरिएका कथन, गीत, कविता, मुक्तक र तुक्काहरू जताजतै छताछुल्ल हुन थालेका हुन्छन् । तर प्रेम र प्रणयको चर्चा धेरै पहिलेदेखि अर्थात् मानवविकास सँगसँगै प्रारम्भ भएको हो । पूर्वीय दर्शनअन्तर्गतका वेद, पुराण, उपनिषद् र अन्य धार्मिक ग्रन्थमा पनि प्रेम र प्रणयको चर्चा यत्रतत्र भएको देखिन्छ, तर सनातन संस्कृतिले प्रेम र प्रणयसम्बन्ध तथा वैवाहिक जीवनलाई अनुशासन र मर्यादाको कसीमा राखेरमात्र चर्चा परिचर्चा गरेको देखिन्छ । प्रेमप्रस्तावकै चर्चा गर्ने हो भने भगवान् श्रीकृष्णलाई रुकमिणीले ब्राह्मणका हातमा पठाएको प्रेमपत्रलाई हामीले बिर्सनु हुँदैन । श्रीमद्भागवतको दशम स्कन्धमा रहेका रुकमिणीका अभिव्यक्ति मानिएका सातवटा श्लोकहरू नै विश्वको पहिलो प्रेमपत्र हो भन्दा फरक पर्ने छैन । प्रस्तुत छ ती श्लोकहरू :-

श्रुत्वा गुणान्‌ भुवनसुन्दर शृण्वतां ते
निर्विश्य कर्णविवरैर्हरतोऽङ्गतापं।
रूपं दृशं दृशिमतां अखिलार्थलाभं
त्वय्यच्युताविशति चित्तमपत्रपं मे॥१ 

हे भुवनसुन्दर ! तपाईका गुणलाई श्रवण गर्ने जसकसैले पनि ती सद्गुणहरूलाई हृदयमा प्रवेश गराई उसका हरेक अङ्गमा रहेका ताप र क्लेशको लोप गरी जन्म-जन्मान्तरको चक्रलाई समेत नाश गराउन सफल हुन्छ, हजुरको दिव्य रूपको दर्शन गर्नासाथ व्यक्तिले धर्म, अर्थ, काम र मोक्ष यी चारवटै पुरुषार्थको फल र स्वार्थ/परमार्थ सबै सिद्ध गर्न सक्षम हुन्छ । त्यसैले हे अच्चुत ! मेरो चित्त पनि परम्परा, परिवेश र लोकलाजलाई त्यागी हजुरमा प्रवेश गरिसकेको छ।

का त्वा मुकुन्द महती कुलशीलरूप
विद्यावयोद्रविणदामभिरात्मतुल्यं।
धीरा पतिं कुलवती न वृणीत कन्या
काले नृसिंह नरलोकमनोऽभिरामं॥२ 

हे प्रेमस्वरूप श्यामसुन्दर ! जुनसुकै दृष्टिबाट हेरे पनि कुल, शील-स्वभाव, सुन्दरता, विद्या, अवस्था, धन, धाम आदि सबै पक्षले हजुर अद्वितीय हुनुहुन्छ, कसैसँग हजुरको तुलना हुनसक्दैन । पृथ्वीतलमा जेजति प्राणी छन्, ती सबैले हजुरको दर्शन गर्नाले मात्र पनि शान्तिको अनुभूति गर्दछन् । यस्ता हजुरलाई पतिका रूपमा वरण गर्न कुनचाहिँ कुलवती, महागुणवती र धर्मवती कन्या राजी नहोलिन् र ?

तन्मे भवान्‌ खलु वृतः पतिरङ्ग जाया-
मात्मार्पितश्च भवतोऽत्र विभो विधेहि।
मा वीरभागमभिमर्शतु चैद्य आरात्-
गोमायुवद्‌ मृगपतेर्बलिमंबुजाक्ष॥३

त्यसैले हे प्रियतम ! मैले हजुरलाई पतिका रूपमा वरण गरिसकेकी छु, हजुर अन्तर्यामी हुनुहुन्छ, मेरो अंतर्हृदयको व्यथा पनि हजुरले चाल पाइसक्नु भएको छ । अतः हजुर यहाँ (कुण्डिनपुरमा) आएर मलाई पत्नीका रूपमा वरण गर्नुहोस् । हे कमलनयन ! हे प्राण वल्लभ ! मेरो चित्त हजुरजस्तो वीरपुरुषमा समर्पित भईसकेको छ, त्यसैले सिंहको भागमा परेको शिकार श्यालले ग्रहण गरे झैं हजुरकी अनन्या प्रेयसीलाई शिशुपालरूपी स्यालले स्पर्श गर्न नपाओस् ।

पूर्तेष्टदत्तनियमव्रतदेवविप्र-
गुर्वर्च्चनादिभिरलं भगवान्‌ परेशः।
आराधितो यदि गदाग्रज एत्य पाणिं
गृह्ण्णातु मे न दमघोषसुतादयोऽन्न्ये॥४

मैले पूर्वजन्ममा केही शुभकर्म गरेकी छु भने (यहाँ शुभकर्मका रूपमा पूर्त {कुवा,तलाउ आदि खनाउनु}, ईष्ट {यज्ञादि गर्नु} ,दान, नियम ,व्रत, तथा देवता/ब्राह्मण र गुरुमार्फत परमेश्वरको आराधना भन्ने भाव प्रस्तुत गरिएको छ।) हजुरले आएर मेरो पाणिग्रहण गर्नुहोस्, शिशुपाल तथा अन्य कुनै पुरुषले मेरो स्पर्श गर्न नसकोस् ।

श्वोभाविनि त्वमजितोद्वहने विदर्भान्
गुप्तः समेत्य पृतनपतिभिः परीतः।
निर्म्मथ्य चैद्यमगधेन्द्रबलं प्रसह्य
मां राक्षसेन विधिनोद्वह वीर्यशुल्कां॥५ 

हे प्रभु ! हजुर अजेय हुनुहुन्छ । जुनदिन शिशुपालसँग विवाह गर्ने भनी मुहूर्त तय भएको छ, त्यसभन्दा एकदिन अगावै गोप्य ढंगले हजुर हाम्रो राजधानीमा पाल्नुहोस् र वीरताको उदाहरण प्रस्तुत गर्दै शिशुपाल, जरासन्ध आदि ठूलाठूला सेनापतिहरूलाई नाश गरी बलपूर्वक राक्षस विधिले मेरो पाणिग्रहण गर्नुहवस् ।

अन्तःपुरान्तरचरीमनिहत्य बन्धुं
स्त्वामुद्वहे कथमिति प्रवदाम्युपायं।
पूर्वेद्युरस्ति महती कुलदेवियात्रा
यस्यां बहिर्न्नवावधूर्ग्गिरिजामुपेयात्॥६

म दरबारको अन्तःपुरमा हुनेछु र हजुरले मेरा माइतका भाइबन्धुको बध नगरी यो काम सम्भव हुँदैन भन्ने ठान्नुहुन्छ भने त्यसको पनि उपाय छ । हाम्रो कुलपरम्परा अनुसार विवाहको एक दिन पहिले गिरिजा भगवतीको पूजा र दर्शन गर्न दरबारबाहिरको मन्दिरमा जाने नियम छ, हजुरले मलाई त्यहींबाट हरण गर्न सक्नुहुन्छ ।

यस्याङ्घ्रिपङ्कजरजस्नपनं महान्तो
वाञ्चन्त्युमापतिरिव्वत्मतमोपहत्यै
यर्ह्यम्बुजाक्ष न लभेय भवत्प्रसादं
जह्यामसून् व्रतकृशाञ्छतजन्मभिः स्यात् ॥७

हे कमलनयन ! उमापति भगवान् महादेवलगायत ठूलाठूला सिद्ध, सन्त, ऋषिगणहरू पनि हजुरका चरणरज (खुट्टाको धुलो) द्वारा स्नान गर्ने मनोकाङ्क्षा राख्दछन् । यदि मैले त्यो हजुरको चरणकमलको सेवा गर्ने अनुकूलता प्राप्त गर्न सकिन भने मेरो यो शरीरलाई सुकाएर समाप्त बनाउने छु । मैले जति जन्म लिनु परेपनि हजुरलाई नै वरण गर्छु । हजुरविना म एक्लै रहन सक्दिन । अतः हजुरले मलाई स्वीकारिबक्सियोस् ।

वास्तवमा पूर्वीय दर्शनमा प्रेम भनेको योग हो भनिएको छ । योगको अर्थ हुन्छ जोड्नु । प्रेमले पनि प्रेमी प्रेमी बीचमा योग गराउँछ । जहिले पनि प्रेम अन्तरङ्गमा हुन्छ । काम, वासना, मोह इत्यादि कुराहरू चाहिँ बहिरङ्गमा अर्थात् बाहिरी रूपमा हुन्छ । प्रेमलाई त्यागको अपेक्षा चाहिन्छ भने मोहलाई उपभोगको । प्रेम विरहबाट पुष्ट हुन्छ भने मोह संयोगबाट पुष्ट हुन्छ । वियोगमा प्रियपात्रको सतत स्मरण भइरहन्छ संयोगावस्थाको अपेक्षामा विरहावस्थामा प्रेमपात्रका साथ तादात्म्य धेरै हुन्छ । त्यसकारण वियोगलाई एक विशेष प्रकारको योग मानिन्छ । जसले विरह—व्याकुल भएर प्रेमी प्राप्त गर्दछ, ऊ निकै प्रेमीको सान्निध्यमा हुन्छ ।


यसरी प्रणय दिवस धेरै पहिलेदेखि नै मनाउँदै आएका उदाहरण र तथ्य खोज्दै जाने हो भने प्रशस्त भेटिन्छन् । अहिलेको प्रणय दिवसको परिवेश पूर्वीय दर्शन र यहाँको संस्कृति होइन । यो पच्छिमा मुलुकको सामाजिकता र संस्कारको अनुकरणबाट भित्रिएको पर्व हो । सर्वव्यापी किंवदन्तीअनुसार भ्यालेन्टाइन डे ईस्वी सन् २६० तिर प्रेमको प्रचार गर्ने रोमका एक पादरी भ्यालेन्टाइनको नामबाट यो दिवस मनाउन थालिएको हो।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस 'भ्यालेन्टाइन डे' को इतिहासलाई पूर्वावलोकन गर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरे । यसरी एउटा सामान्य नागरिक र सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको सम्राट्लाई सह्य हुने कुरो भएन र तिनलाई राजाले मृत्युदण्ड दिए । यसरी प्रेम र विवाहको चर्चा गर्ने पादरी भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिन फेब्रुअरी महिनाको चौध तारिक परेको थियो । त्यसै हुनाले उक्त दिन 'भ्यालेन्टाइन्स डे' का रूपमा प्रख्यात भयो र यो दिन संसारभरि प्रणय दिवसका रूपमा स्थापित हुनपुग्यो । त्यसैले विवाह र प्रेमका पक्षधर प्रेमिक पादरी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष  फेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने गरेका हुन् । अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको परिधि र सीमा नाँघ्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ । वास्तवमा 'भ्यालेन्टाइन डे' मनाउनुमा अप्ठेरो छैन, तर हाम्रो संस्कृतिको संरक्षणमा समेत ख्याल राख्नुपर्ने हुन्छ । निष्कर्षमा भन्दा प्रेम अपरिमेय वस्तु हो,जो जति गऱ्यो उति बढ्दै बढ्दै जान्छ । 

'भ्यालेन्टाइन डे' मा प्रेमप्रेमिकाबीच सबैभन्दा धेरै रातो रङको गुलाफको फूल आदानप्रदान हुन्छ । यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ । 

अब कुन रङको गुलाफको फूलको प्रतीक के हो यसबारेमा केही जानकारी लिनु उपयुक्त हुन्छ :-

रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतीक
रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक हो । 'भ्यालेन्टाइन डे' मा सबैभन्दा धेरै रातो रङको गुलाफको आदानप्रदान हुन्छ । यसलाई प्रेमी वा प्रेमिकालाई दिंदा प्रेमप्रस्तावका रूपमा दिइएको देखिन्छ, अतः रातो गुलाफ स्वीकार गर्नु भनेको प्रेम प्रस्ताव स्वीकार गर्नु हो ।

गुलाफी गुलाफ : मित्रता र मुटुको धड्कनको प्रतीक
यो रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । 'भ्यालेन्टाइन डे' मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ अर्थात् मेरो मुटु तिम्रो लागि हो भन्नु हो ।

पहेंलो गुलाफ : मित्रताको प्रतीक
पहेंलो गुलाफलाई मित्रताको प्रतीक मानिन्छ । 'फ्रेन्डसिप डे' अर्थात् मित्रता दिवसका दिन पहेंलो गुलाफ प्रदान गरिन्छ, यद्यपि हिजोआज मित्रताको प्रतीकका रूपमा 'भ्यालेन्टाइन डे' मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

सेतो गुलाफ : साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक
सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो । त्यसैले स्वच्छ मन, कल्पना र भावनाले ओतप्रोत भई कसैलाई सेतो गुलाफ दिइयो भने उसले सहजै स्वीकार गर्ने चलन छ । अतः स्वच्छ अनुराग र सफा मन भएको मित्रताकाे सन्देश प्रदान गर्न सेतो गुलाफको महत्त्वपूर्ण भूमिका हुन्छ ।

कालो गुलाफ : विदाइको प्रतीक
कालो गुलाफलाई विदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेमसम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो काम पूरा हुन्छ भन्ने मान्यता छ ।

प्रेम व्यक्त गर्न फूलहरू मात्र नभएर अन्य प्रतीकहरू पनि प्रचलित छन् । यस्ता प्रतीकहरूमध्ये एउटा वाणले हृदय चिरेर गएको प्रतीक सबैभन्दा प्रचलित छ । प्रेमीप्रेमिकाहरूका लागि हृदयभन्दा राम्रो प्रतीक अरू हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई सर्वस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो सङ्केतले तपाईंको हृदय उसको प्रेमको वाणले घाइते भएको छ भन्ने देखाउँछ । प्रेम पक्षी (लडबर्ड) पनि प्रेमको प्रतीक हो । प्रेमप्रेमिकाको साथ विना अर्थात् जोडी नभइकन यो पन्छी बस्न सक्दैन भन्ने धारणा छ । त्यस्तै ईशाइ धर्ममा प्रेम पक्षी (लडबर्ड) लाई निर्मलता र प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसै कारणले 'भ्यालेन्टाइन डे' का दिन लडबर्डको प्रयोग अत्यधिक हुने गरेको हो ।

भ्यालेन्टाइन र राशिको प्रभाव

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई छिट्टै फकाउन सक्ने क्षमता हुन्छ । मेष राशिमा जन्मनेहरू प्रायशः हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम दिगो भएको देखिंदैन । यिनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडामा रुमल्लिएर जीवनलाई बर्बाद हुनबाट पनि जोगिने स्वभाव मेष राशिका जातकमा पाइन्छ । तपाईंको प्रेमी वा प्रेमिका मेष राशिको छ भने तपाईंले उसका लागि सामान्यतया रातो वा गुलाफी रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । मेष राशिका व्यक्तिका निमित्त प्रायशः कन्या र बृश्चिक राशिको मित्रता दिगो हुन सक्दैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वृष राशिका मानिस प्रेमप्रसङ्गमा उत्तम श्रेणीका मानिस ठहरिन्छन् । प्रेममा चाँडै पर्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूमा अत्यधिक कल्पनाशक्ति र भावुकता हुन्छ । प्रेमी वा जीवनसाथीलाई उनीहरू अधिक माया गर्छन् । दिगो सम्बन्धमा उनीहरूको विश्वास हुन्छ । यिनीहरूको दाम्पत्य जीवन सुखमय हुन्छ । तपाईंको प्रेमी वा प्रेमिका बृष राशिको छ भने तपाईंले उसका लागि सामान्यतया सेतो वा बहुरङ्गी (मल्टी कलर) रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । बृष राशिका व्यक्तिका निमित्त प्रायशः तुला र धनु राशिको मित्रता दिगो हुन सक्दैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
मिथुन राशि भएका मानिस जीवनमा धेरै जनासँग प्रेमसम्बन्धमा बाँधिने गर्दछन् । उनीहरूले बहुविवाह गर्ने सम्भावना पनि बढी हुन्छ । विपरीत लिङ्गीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । अरूको मनसँग खेल्ने उनीहरूको स्वभाव हुन्छ । विवाहलाई त्यति महत्त्व दिँदैनन् र विवाहेत्तर सम्बन्धमा रुचि राख्छन् । उनीहरूको मन चञ्चल हुन्छ । तपाईंको प्रेमी वा प्रेमिका मिथुन राशिको छ भने तपाईंले उसका लागि सामान्यतया हरियो रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । मिथुन राशिका व्यक्तिका निमित्त प्रायशः बृश्चिक र मकर राशिको मित्रता दिगो हुन सक्दैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
कर्कट राशि भएका मानिस ‘मुडी’ हुन्छन् । तर, प्रेम सम्बन्धप्रति उनीहरू इमानदार हुन्छन् र इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्छन् । परिवारको हस्तक्षेपका कारण उनीहरूको प्रेम र वैवाहिक जीवनमा बारम्बार समस्या आउने गर्छ । प्रेमी अथवा प्रेमिकाको भावनालाई उनीहरू सम्मान गर्छन् । बिहेपछिको उनीहरूको जीवन प्रायशः सुखमय हुन्छ । तर अहं मौकामा प्रेमसम्बन्धी निर्णय लिने क्षमता उनीहरूमा कमजोर हुन्छ । तपाईंको प्रेमी वा प्रेमिका कर्कट राशिको छ भने तपाईंले उसका लागि सामान्यतया सेतो वा घिउरङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । कर्कट राशिका व्यक्तिका निमित्त प्रायशः धनु र कुम्भ राशिको मित्रता दिगो हुन सक्दैन ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिंह राशि भएकाहरूको बोली असाध्यै मीठो हुन्छ । स्त्रीलाई आकर्षित गर्न सिंह राशि भएका पुरुषले आफ्नो बोलीलाई हतियार बनाउँछन् । उनीहरू उदार विचारका हुन्छन् । उनीहरूको प्रेम अक्सर सफल हुन्छ । सिंह राशि भएका मानिस आदर्श प्रेमी हुन्छन् । जीवनसाथी अथवा प्रेमी–प्रेमिकाप्रति उनीहरू इमानदार हुन्छन् । तपाईंको प्रेमी वा प्रेमिका सिंह राशिको छ भने तपाईंले उसका लागि सामान्यतया रातो वा कलेजी रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । सिंह राशिका व्यक्तिका निमित्त प्रायशः मकर र मीन राशिको मित्रता दिगो हुन सक्दैन ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
कन्या राशि भएका मानिस ‘महान् प्रेमी’ बन्न सक्दैनन्, तर ‘असल प्रेमी’ भने बन्न सक्छन् । तर घरपरिवारको दबाबमा यिनीहरूको प्रेमसम्बन्ध भङ्ग हुन्छ । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । विपरीत लिङ्गीलाई आकर्षित गर्न उनीहरू खप्पिस हुन्छन् । परिवार र श्रीमतीप्रति निष्ठावान् भएकाले उनीहरूको वैवाहिक जीवन बलियो हुन्छ । प्रेममा शारीरिक सुखलाई मात्र प्राथमिकता नदिने उनीहरूको स्वभाव हुन्छ । तपाईंको प्रेमी वा प्रेमिका कन्या राशिको छ भने तपाईंले उसका लागि सामान्यतया हरियो वा आकासे रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । कन्या राशिका व्यक्तिका निमित्त प्रायशः मेष र कुम्भ राशिको मित्रता दिगो हुन सक्दैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तुला राशि भएकाहरू महान् प्रेमीको श्रेणीमा पर्छन् । उनीहरूले प्रेमको गहिराइ बुझेका हुन्छन् । एक्लै रहन मन पराउँदैनन् । दुःख परेका वेला साथीभाइ अथवा प्रेमी–प्रेमिकाबाट साथ खोज्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । प्रेमलाई पवित्र बन्धन मान्ने स्वभाव उनीहरूमा हुन्छ । यिनीहरू परोपकारी मिजासका हुन्छन् । तपाईंको प्रेमी वा प्रेमिका तुला राशिको छ भने तपाईंले उसका लागि सामान्यतया उज्यालो, सेतो वा छिर्केमिर्के बुट्टे रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । मेष राशिका व्यक्तिका निमित्त प्रायशः बृष र मीन राशिको मित्रता दिगो हुन सक्दैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
बृश्चिक राशि भएका मानिस स्वाभिमानी र खरो प्रकृतिका हुन्छन् । सामान्यतया यिनीहरू आदर्श र मान्यताका पिछलग्गु हुने भएकाले प्रेम र मनोरञ्जनमा विश्वास गर्दैनन् । तर यिनीहरूले कसैलाई साथ दिने वाचा गरिहाले भने त्यसको पालना जुनसुकै अवस्थामा पनि गर्ने गर्दछन् । अतः प्रेमका निम्ति जस्तोसुकै त्याग गर्न पनि उनीहरू हरहमेसा तैयार हुन्छन् । उनीहरूमा ईर्ष्याभाव पनि बढी हुन्छ । आदर्श र कर्तव्यप्रति यिनीहरू वफादार हुन्छन्, तर कल्पना, भावना र रोमान्स यिनलाई मन पर्दैन । तपाईंको प्रेमी वा प्रेमिका बृश्चिक राशिको छ भने तपाईंले उसका लागि सामान्यतया रातो वा गुलाफी रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । बृश्चिक राशिका व्यक्तिका निमित्त प्रायशः मेष र मिथुन राशिको मित्रता दिगो हुन सक्दैन ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
धनु राशि भएका प्रेमी संवेदनशील र हाँसखेल गर्ने स्वभावका हुन्छन् । असल प्रेमी–प्रेमिका भए पनि लामो समयसम्म सम्बन्ध कायम राख्न भने उनीहरू असमर्थ हुन्छन् । जोडी फेरिरहने उनीहरूको स्वभाव हुन्छ । प्रेममा धोका पाएलगत्तै उनीहरू तुरुन्तै अर्को प्रेमको जोहो गरिहाल्छन् । यिनीहरू प्रेमी वा प्रेमिकाको प्रेमभावका साथमा योग्यता, क्षमता र कर्तव्यपरायणताको निगरानी गरिरहेका हुन्छन् । तपाईंको प्रेमी वा प्रेमिका धनु राशिको छ भने तपाईंले उसका लागि सामान्यतया गुलाफी वा पहेंलो रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । धनु राशिका व्यक्तिका निमित्त प्रायशः बृष र कर्कट राशिको मित्रता दिगो हुन सक्दैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
मकर राशि भएका मानिस मिहिनेती र परिश्रमी स्वभावका हुन्छन् । उनीहरूको कर्मप्रति विश्वास हुन्छ । प्रेम, भावना, कल्पना र अध्यात्मप्रति खास चासो हुँदैन । हठ र जिद पनि यिनीहरूको साथी नै हुने गर्दछ, त्यसैले यस्ता मानिसहरूको प्रेम जीवनमा बारम्बार समस्या उत्पन्न हुने गर्छ । प्रेमी अथवा जीवनसाथीलाई अधिक माया गरे पनि जिद्दी स्वभावका कारण उनीहरूको सम्बन्धमा खटपट परिरहन्छ । तपाईंको प्रेमी वा प्रेमिका मकर राशिको छ भने तपाईंले उसका लागि सामान्यतया कालो, खैरो, खरानी वा ध्वाँसे रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । मकर राशिका व्यक्तिका निमित्त प्रायशः मिथुन र सिंह राशिको मित्रता दिगो हुन सक्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुम्भ राशि भएका मानिस बढ्ता भावुक हुन्छन् । दिमागले भन्दा पनि मानसिक उतारचढावबाट यिनीहरूको जीवन परिचालित हुन्छ । ‘मुडी’ हुने भएकाले उनीहरूको प्रेम चिरस्थायी हुँदैन । कुनै अपरिचित व्यक्ति नै किन नहोस्, उनीहरू निस्वार्थ प्रेम गर्न पुग्छन् । जीवनसाथीलाई आँखा चिम्लिएर विश्वास गर्ने स्वभाव उनीहरूमा हुन्छ । तपाईंको प्रेमी वा प्रेमिका कुम्भ राशिको छ भने तपाईंले उसका लागि सामान्यतया नीलो, आकासे, धमिलो सेतो आदि रङ उपहारको छनोट गर्नु राम्रो हुन्छ । कुम्भ राशिका व्यक्तिका निमित्त प्रायशः कर्कट र कन्या राशिको मित्रता दिगो हुन सक्दैन ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
मीन राशि भएका प्रेमी बढ्ता भावुक र आन्तरिक रूपमा जिद्दी स्वभावका हुन्छन् । विपरीत लिङ्गीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । मीन राशि भएका मानिसलाई मायामा पार्न सजिलो हुन्छ । उनीहरू अटुट सम्बन्ध कायम राख्न चाहन्छन् । धोका पाउनेमा यिनीहरू नै अगाडि हुन्छन् । सबैलाई आफ्ना अधीनमा राखी नेतृत्व लिनखोज्ने बानी भए पनि यिनीहरू अरुलाई दबाबमा राख्न चाहँदैनन् । साथ दिने कोही नभेटे पनि बरु एक्लै हिंड्न मन पराउनु यिनको विशेषता हो । तपाईंको प्रेमी वा प्रेमिका मीन राशिको छ भने तपाईंले उसका लागि सामान्यतया पहेंलो, बैजनी वा रातो रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । मीन राशिका व्यक्तिका निमित्त प्रायशः सिंह र तुला राशिको मित्रता दिगो हुन सक्दैन ।