फाल्गुन महिनाको कृष्णपक्षमा पर्ने एकादशीको नाम विजया एकादशी हो । यस एकादशीको व्रतकथा तथा महात्म्यको विवरण पद्मपुराणलगायत अन्य पुराणहरूमा पनि उल्लेख गरिएको छ । पद्मपुराणको एउटा प्रसङ्गमा धर्मराज युधिष्ठिरले भगवान् श्रीकृष्णसित यस एकादशीको व्रतविधि र महात्म्यका बारेमा बताउन अनुरोध गरेपछि बालमुकुन्द भगवान् श्रीकृष्ण भन्नुहुन्छ - फाल्गुन महिनाको कृष्णपक्षको एकादशीको नाम विजया एकादशी हो । व्रतका लागि अपनाउनु पर्ने पूर्ण विधिका साथमा सम्पादन गरेमा यस एकादशीको प्रभावले मनुष्यले आफूभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता आन्तरिक शत्रुका साथमा सांसारिक जीवनका समस्त प्रतियोगी, प्रतिस्पर्द्धीलगायत डाहा र ईर्ष्या गर्ने शत्रुहरूमाथि विजय प्राप्त गर्न सकिन्छ । यो व्रत सबै व्रतहरूमध्ये उत्तम व्रत हो । एक पटक देवर्षि नारदले लोकपितामह ब्रह्मासँग जिज्ञासा राख्दै प्रश्न गर्नुभयो - 'हे पिताजी ! हजुरले मलाई विजया एकादशीको व्रतविधान र महात्म्यको वर्णन गर्नुहोस् ।' नारदको जिज्ञासालाई शान्त तुल्याउँदै ब्रह्माले भन्नुभयो - 'हे नारद ! विजया एकादशीको व्रतले पुराना र नयाँ दुबै किसिमका पापहरूलाई नाश गर्दछ । विजया एकादशीको विधिका बारेमा मैले आजसम्म कसैलाई भनेको छैन । यसले मनुष्यमात्रका निमित्त सबै किसिमको विजय प्रदान गर्दछ । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले यस एकादशीको व्रत लिनु भएको थियो ।' ब्रह्माका मुखबाट सृष्टि, स्थिति र प्रलयका आधार भगवान् नारायणका अंशावतार भगवान् रामचन्द्रले समेत यस एकादशीको व्रत लिएको प्रसङ्ग सुनेपछि नारदले फेरि सोध्नुभयो - 'हे जगत्पिता ! रामचन्द्र त भगवान् स्वयं नारायणका अवतार हुनुहुन्थ्यो । तथापि उहाँले एकादशीको व्रत लिनुपर्ने परिस्थिति कसरी आइलाग्यो ? अतः मर्यादा पुरुषोत्तम रामचन्द्रले कुन प्रसङ्गमा विजया एकादशीको व्रत लिनु परेको थियो, यो प्रसङ्ग पनि सविस्तार वर्णन गर्नुहोस् ।'
त्यसपछि ब्रह्माले पुनः भन्न थाल्नुभयो - त्रेता युगमा पृथ्वीको अयोध्या नगरीमा राजा दशरथले राज्य गर्दथे । त्यस वेला भारतवर्षको दक्षिणी भूभागमा क्षारसमुद्रका बीचमा रहेको लङ्का नगरीमा रावणको राज्य थियो । पराक्रमी र प्रतापी भए पनि रावणले मर्त्यलोकका समस्त मनुष्यलगायत देव, दानव, यक्ष, राक्षस, गन्धर्व, नाग आदिलाई क्रूरतापूर्वक शासन गरेको थियो । उसको शासनकालमा पृथ्वीमा वेद, धर्म र परोपकारको लोप भएको थियो । धार्मिक र वैदिक क्रियाकलापको कमीले पृथ्वीमा पापी, पाखण्डी र दुराचारीहरूको दबदबा बढ्न थालेको थियो । समस्त देवताहरूको पृथ्वीको भार हरण गरी धर्मको स्थापना गर्न गरेको अनुरोधलाई स्वीकार गरी भगवान् नारायणले आफ्ना सम्पूर्ण अंशसहित तिनै दशरथकी रानी कौशल्याका गर्भमार्फत धराधाममा रामचन्द्रका रूपमा अवतार ग्रहण गर्नुभयो । भगवान् रामको सहयोगार्थ नारायणका पार्षदहरू शेषनाग, सुदर्शन चक्र र कौमोदकी गदाले क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नका रूपमा रामका भाइ भएर अवतार लिए । यज्ञोपवित संस्कारपछि रामले ऋषि विश्वामित्रको आश्रममा गई विद्याध्ययन गर्नुभयो । विश्वामित्रको आश्रममा विध्याध्ययन पूर्ण भएउपरान्त रामको मिथिलाका राजा जनककी पुत्री सीतासँग शुभविवाह सम्पन्न भयो ।
विवाहोपरान्त पिताजीको वचन पूर्ण गर्न रामचन्द्र चौध वर्षका निमित्त वनवास जानुभयो । त्यतिवेला लक्ष्मण र सीताका साथमा उहाँले पञ्चवटीमा निवास गर्नु भएको थियो । रावणले छल गरी सीताको हरण गर्यो । सीताहरणपछि पत्नीको खोजीमा रामचन्द्रले भाइ लक्ष्मणका साथमा वनैवनमा निकै भौंतारिनु परेको थियो । रावणले सीतालाई हरण गरी लग्दै गरेको दृश्य पक्षीराज जटायुले देखेका थिए । घुम्दाघुम्दै रामसँग जटायुको भेट भयो र भगवान् रामले सीताको सम्पूर्ण वृत्तान्त थाहा पाउनु भयो । केही समयपछि रामचन्द्रको भेट हनुमान् र सुग्रीवसँग भयो । सुग्रीवलाई सहायता गर्न उहाँले बालीको बध गर्नुभयो । हनुमानले लङ्कामा पुगेर माता सीतालाई भेटेर आए । श्रीरामले हनुमान् र सुग्रीवादि वानरसेनाको सहयोग लिई रावणसित युद्ध गर्ने अभिलाषा राखी लङ्कातर्फ प्रस्थान गर्नुभयो । उहाँ समुद्रको किनारसम्म त पुग्नुभयो तर त्यस विशाल जलचरले युक्त भएको समुद्रलाई कसरी पार गर्ने भन्ने दुविधा उत्पन्न भयो । भगवान् श्रीरामलाई दुविधामा परेको देखेर लक्ष्मणले भने - 'हे भ्राताश्री ! हजुर पुराण पुरुषोत्तम हुनुहुन्छ, हजुरले नजानेको विषय केही पनि छैन । यहाँबाट आधा योजन टाढा कुमारी नाम गरेको द्वीप छ, जहाँ वकदालभ्य नाम गरेका ऋषिले निवास गर्नुहुन्छ । उहाँको असाध्यै लामो आयु छ, उहाँले आफ्नै जीवनकालमा अनेकौं ब्रह्माहरूको दर्शन गर्ने अनुकूलता पाउनु भएको छ । त्यसैले यस क्षारसमुद्रलाई कसरी तर्ने भन्ने प्रसङ्गमा उहाँलाई सोधेर उपाय पत्ता लगाउनु पर्छ ।' भाइ लक्ष्मणको कुरामा रामलाई चित्त बुझ्यो र उहाँ वकदालभ्य ऋषिको आश्रमतर्फ लाग्नुभयो ।
आश्रममा पुगेर तपस्यारत ऋषिलाई यथोपचार वन्दना गरी भगवान् ऋषिका सामु पलेंटी कसेर बस्नुभयो । केही समयमा ऋषिको ध्यानभङ्ग भयो । तिनै लोकका मालिक भगवान् नारायण एउटा सामान्य मनुष्यको रूपमा पत्नीवियोगले व्याकुल चेहरा बनाई बसेको देखेर मुनिहृदय पुलकित भयो र श्रीरामलाई आश्रममा आउनु पर्ने कारण के हो ? भनी सोधनी गर्नुभयो । रामचन्द्रले सरल भावमा उत्तर दिंदै भन्नुभयो - 'हे मुनिवर ! म मेरी पत्नीलाई हरण गर्ने रावणको राज्य लङ्कामाथि विजय प्राप्त गर्न चाहन्छु, त्यसैले अहिले आफूसँग भएका वानरसेनाको सहयोगमा लङ्का नगरीमा प्रवेश गर्ने उद्देश्यले यहाँ आइपुगेको हुँ । समुद्र तर्ने कुनै सरल उपाय छ कि भनी हजुरसँग सोधनी गर्न यहाँ उपस्थित भएको छु । वकदालभ्यले भगवान् नारायणको लीलालाई बुझेका थिए, यद्यपि रामचन्द्रका जिज्ञासाको जवाफ दिंदै उनले भने - हे पुरुषोत्तम ! फाल्गुन महिनाको कृष्णपक्षमा पर्ने एकादशी शत्रुमाथि विजय प्राप्त गराउने उत्तम साधन हो । अतः उक्त एकादशीको व्रत सम्पादन गर्नुभएमा हजुरले समुद्र पार गरी सहजै विजय प्राप्त गर्नुहुनेछ । यस व्रतको विधि यस्तो छ - यस एकादशीको एक दिनअघि पर्ने दशमीका दिनदेखि नै एकादशीका प्रक्रिया सुरु हुन्छन् । दशमीका दिन सामर्थ्यअनुसार सुन, चाँदी, तामा वा माटोको एउटा घडा निर्माण गरी उक्त घडाभित्र शुद्ध जल र मुखमा पञ्चपल्लव राखी त्यसलाई एउटा वेदीको निर्माण गरी, वेदीमा सुरुमा सप्तधान्य राखी त्यसमाथि उक्त घडा स्थापना गर्नुपर्दछ । कलशमाथि एउटा अष्टदलको रचना गरी त्यसमा जौका दाना र त्यसमाथि भगवान् नारायणको प्रतिमा स्थापना गर्नुपर्दछ । भोलिपल्ट एकादशीका दिन स्नानादि नित्यकर्मबाट निवृत्त भई आवाहन, आसन, पाद्य, अर्घ्य, आचमन, पुनराचमन, स्नान, पञ्चामृत, शुद्धजल, धूप, दीप, नैवेद्य, यज्ञोपवीत, दक्षिणा, आरती, पुष्पाञ्जली आदिका साथमा यथाशक्ति षोडशोपचार पद्धतिले उक्त कलशमा भगवान् नारायणको पूजा गरिदिनु पर्दछ । पूजापछि दिनभरि त्यसै कलशका अगाडि पद्मासनमा बसी नारायणको नामसङ्कीर्तन गर्दै समय बिताउनु पर्दछ । रात्रीकालमा पनि उक्त कलशका सामुमा बसी भजन, कीर्तन र पुराणादि श्रवण गर्दै जागरण गर्नुपर्दछ । द्वादशीका दिन प्रातःकालका नित्यकर्मबाट निवृत्त भई पुनः पूजादि गरी भोजन र दक्षिणाका साथमा उक्त कलश र प्रतिमा ब्राह्मणलाई दान गर्नुपर्दछ । हे राम ! यसरी विधिविधानपूर्वक यस व्रतको सम्पादन गर्नुभयो भने पक्का पनि हजुरले विजयश्री प्राप्त गर्नु हुनेछ । ऋषि वकदालभ्यको उपदेशबमोजिम रामचन्द्रले विजया एकादशीको व्रत लिनुभयो । यसको प्रभावले श्रीरामले रावणमाथि सहजै विजय प्राप्त गर्नुभयो । त्यसैले यस एकादशीको नाम पनि विजया एकादशी रहन गयो ।
युधिष्ठिरलाई श्रीकृष्ण भन्नुहुन्छ - हे राजन् ! जुन मनुष्यले यसरी विधिपूर्वक विजया एकादशीको व्रत सम्पादन गर्दछ, उसले आन्तरिक र बाह्य सबै किसिमका शत्रुमाथि रामले रावणलाई जिते झैं सहजै विजय प्राप्त गर्दछ । यस एकादशीको कथा श्रवण गर्नाले तथा पाठ गर्नाले मात्र पनि मनुष्यले जन्मजन्मान्तरदेखि सञ्चित रहेका समस्त पापराशिको नाश गर्ने अवसर प्राप्त गर्दछ । सृष्टिकर्ता ब्रह्माले नारदजीसँग भन्नुभएको थियो - 'हे पुत्र ! जसकसैले यस एकादशीको महात्म्य पढ्दछ वा सुन्दछ, उसले वाजपेय यज्ञको फल प्राप्त गर्दछ ।'