कृष्णप्रसाद कोइराला
सह-प्राध्यापक
ने.सं.वि., पिण्डेश्वर विद्यापीठ, धरान
ने.सं.वि., पिण्डेश्वर विद्यापीठ, धरान
जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य हो । यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य नै हो । जुनसुकै धर्म, वर्ण, जाति जनजातिका आफ्ना पितृ हुन्छन् । देवता, असुर गन्धर्व, नाग, राक्षस, किन्नरका पितृहरू हुन्छन् । पितृहरूलाई सम्झने वा उनीहरूप्रति श्रद्धाभाव जनाउने परम्परा विश्वभरि नै पाउन सकिन्छ । हिन्दु संस्कृतिमा भने अन्यत्रभन्दा फरक किसिमले पितृहरूलाई सम्झने चलन छ - १. पितृहरू दिवङ्गत भएको तिथिमा र २. आश्विन कृष्ण पक्षअन्तर्गत पर्ने पितृपक्षमा श्राद्ध गरेर ।
पितृहरू देवताका पनि देवता मानिन्छन् । उनीहरूको स्वरूप शुद्ध, निर्मल तथा पवित्र हुन्छ । पितृहरू दक्षिण दिशामा निवास गर्छन् । जसरी पृथ्वीमा प्राणीहरूले आकाशबाट जल वर्षाको अपेक्षा गर्छन् त्यसरी नै पितृलोकमा अवस्थित पितृहरू आफ्ना जीवित सन्ततिबाट श्राद्ध/तर्पणको अपेक्षा गर्छन् । ब्राह्मण जातिका पितृहरू सोमप, क्षेत्रीयका हविष्मत, वैश्यका आज्यस् र शुद्रका सुकालीन भनी मनुस्मृतिमा उल्लेख गरिएको छ । ब्राह्मणका पितृहरू पनि अग्निदग्ध, अनग्निदग्ध काव्य, बर्हिषद, अग्निष्वाता र सौम्य गरी ६ प्रकारका छन् ।
सनातन संस्कृतिमा वेदादि शास्त्रहरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूप्रति गर्नुपर्ने कार्यलाई नैं श्राद्ध भनिन्छ । श्रद्धया क्रियते यत् तत् श्राद्धम्.... अर्थात् श्रद्धापूर्वक गरिने कार्यलाई नै श्राद्ध भनिएको छ । पितृकार्य अन्य कार्यको तुलनामा श्रद्धापूर्वक गर्नुपर्ने भएकोले पनि पितृहरूको उपासना गर्ने कार्यलाई श्राद्ध भनिएको हो । यसकारण दुग्धादि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नै श्राद्ध हो । यसैगरी पितृहरूको स्मरण गर्दै ब्राह्मणहरूलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नै हो । शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट, एकपार्वण, पार्वण, आभ्युदयिक र तीर्थश्राद्ध सामान्यत: व्यवहारमा परिरहने श्राद्ध हुन् ।
चान्द्रमानको पात्रोअनुसार वर्षमा २४ वटा पक्ष रहेका हुन्छन् । यी नै २४ वटा पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । सोह्रदिन श्राद्ध गरिने भएकाले यसअवधिलाई सोह्रश्राद्ध भनिएको हो । वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने भए पनि विविध कारणले गर्न नसकेका कारण यसबेलाको अवधिलाई आफ्ना पितृहरूमध्ये पिता, पितामह वा प्रपितामहको तिथिलाई आधार बनाएर श्राद्ध गरिन्छ । शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि तिनैको तिथिलाई आधार मानेर श्राद्ध गरिन्छ ।
सोह्रश्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ । पर्व अर्थात् औंसीमा गरिने श्राद्ध भएकाले सोह्रश्राद्धलाई पार्वण श्राद्ध भनिएको हो । सोह्रश्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ । महालय भन्नाले पितृहरूको ठूलो आश्रयस्थल भन्ने बुझिन्छ । एकोद्दिष्ट श्राद्ध अर्थात् तिथिको श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । तर पितृपक्षमा श्राद्ध गर्दा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीनपुस्तालाई र कतैकतै अाफूले तर्पण गरिने जति सबैलाई पिण्ड दिने चलन छ ।
श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ । आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेदलाई नै मान्दछन् । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पितामाताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूको निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दुधर्मले दिएको छ । अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र द्यु (स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ । श्राद्धको फलबाट द्युलोकमा पितृहरू दीर्घकालसम्म रहन्छन् र सुख पाउँछन् भन्ने कुरा वेदमा प्रष्ट्याइएको छ । श्राद्ध शब्दलाई जुन ढंगले बुझे पनि र जुन तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो – पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । चान्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । आश्विन कृष्णपक्षमा श्राद्ध गर्नुपर्ने निर्देशन र महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । जस्तै -
आषाढीमवधिं कृत्वा यः पक्षः पञ्चमो भवेत् ।
तत्र श्राद्धं प्रकुर्वीत कन्यास्थोऽर्को भवेन्न वा ।
॥ मनुस्मृतिः ॥
सुदुष्कृतो यमः प्रेतान् पितृश्चापि यमालयात् ।
विसर्जयति मानुष्ये कृत्वा शून्यं स्वकं पुरम् ।
क्षुधार्ताः कीर्तयन्तश्च दुष्कृतञ्च स्वकं कृतम् ।
कांक्षन्ति पुत्रपौत्रेभ्यः पायसं मधुसंयुतम् ।
तस्मात्तांस्तत्र विधिना तर्पयेत्पायसेन तु ।
मध्वाज्यतिलमिश्रेण तथा शीतेन चाम्भसा ।
ग्रासमात्रं परगृहादन्नं यः प्राप्नुयान्नरः ।
भिक्षामात्रेण यः प्राणान् सन्धारयति वा स्वयम् ।
यावत्संबर्धयेद्देहं प्रत्यहश्चात्मविक्रयात् ।
श्राद्धं तेनाऽपि कर्तव्यं तैस्तैर्द्रव्यैः सुसञ्चितैः ।
पुत्रानायुस्तायुस्तथाऽऽरोग्यमैश्वर्यमतुलं तथा ।
प्राप्नोति पञ्चमे दत्वा श्राद्धं कामांश्च पुष्कलान् ॥
॥ आदित्यपुराण॥
वर्षे वर्षे तु कुर्वीत मातापित्रोस्तु सत्कृतिम् ।
अदैवं भोजयेच्छ्राद्धं पिण्डमेकं तु निर्वपेत् ॥
नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धमथापरम् ।
पार्वणं चेति विज्ञेयं श्राद्धं पञ्चविधं बुधैः ॥
अक्षया स्यात्पितॄणाञ्च स्वर्गप्राप्तिर्ध्रुवा तथा ।
इत्युक्तं पार्वणं श्राद्धं पितॄणां ब्रह्मलोकदम् ॥
॥ गरुडपुराण १,२१८.३४ ॥
पार्वणेन विधानेन संवत्सरिकमिष्यते ।
प्रतिसंवत्सरं कार्यं विधिरेष सनातनः ॥
॥ कूर्मपुराण २,२३.८९ ॥
आश्विन महिनाको कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्न सक्छ । मूलतः आश्विन कृष्ण पक्षको पूर्ण अवधि पितृपक्ष हो । एउटा पक्षमा सामान्यतया १५ दिनमात्र हुन्छ, अझ तिथिक्षय भएमा कहिलेकाहीं पक्ष खुम्चिएर १३ दिनको पनि हुने गर्दछ । पक्ष खुम्चिएर सानो भए पनि तिथिको सङ्ख्यामा भने घटबढ हुँदैन र १५ वटै तिथिको एउटा पक्ष हुन्छ । पितृपक्ष सुरुहुनु एक दिनअघि भाद्र शुक्ल पूर्णिमाका दिन प्रौष्ठपदी श्राद्ध गर्ने विधान छ । कसैले प्रौष्ठपदी श्राद्ध समेत जोडेर श्राद्धको सङ्ख्या सोह्र वटा पुर्याएको देखिन्छ । त्यस्तै आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिन मावली बाजे (मातामह) को श्राद्ध गर्ने विधान भएकाले कसैले पितृपक्षमा मातामह श्राद्ध जोडेर सोह्रश्राद्ध भन्ने गरेको पाइन्छ । प्रौष्ठपदी र मातामह श्राद्ध दुबै जोड्दा श्राद्धको सङ्ख्या १७ हुन आउँछ । जे होस्, पितृपक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन् । जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनले पितृपक्षभित्र पर्ने केही विशिष्ट तिथिहरू समातेर श्राद्ध गर्ने गर्दछन् ।
महाभारतमा श्राद्धस्य ब्राह्मणः काल: अर्थात् जतिवेला सुपात्र ब्राह्मण प्राप्त हुन्छ, त्यतिबेला नै श्राद्धको उपयुक्त समय हुन्छ भनिएकोले योग्य ब्राह्मण प्राप्त गर्नासाथ जुनसुकै समय, तिथि वा मितिमा श्राद्ध गरे पनि हुने भन्ने अर्थ लाग्छ । नियमपूर्वक व्रतको पाालना गरेर मघा नक्षत्रमा हात्तीको शरीरको छायामा बसेर हात्तीकै कानद्वारा हात्तीको शीतल हावामा अन्नविशेष चामलले बनेको पायस (खीर) अथवा लौहशाकको श्राद्धको अपेक्षा पितृहरूले गर्छन् भनी महाभारतमा उल्लेख गरिएको छ । पितृहरूलाई जल, फूल, फल, फलको गुदी, अन्न जे जस्तो दान भए पनि मधुमिश्रण गरेपछि त्यस दानले अनन्तकालसम्म पितृहरू तृप्त हुन्छन् । श्राद्धमा विद्वान् मानिसले कुल, शील, अवस्था, रूप, विद्या एवं पूर्वजहरूको निवास स्थान आदि के हो ब्राह्मणलाई परीक्षा गरेर मात्र निमन्त्रणा गर्नुपर्छ । पाङ्क्तेय अथवा पङ्क्तिदूषक बारे ध्यान दिनुपर्छ, सोमरस बिक्री गर्नेलाई श्राद्धान्न दिनुहुन्न । कुकुर तथा पङ्क्तिदूषक ब्राह्मणको दृष्टि नपर्ने ठाउँमा श्राद्ध गर्नुपर्छ । तिल रहित तथा क्रोधपूर्वक गरिएको श्राद्धको हविष्य राक्षस र पिशाचले हर्छन । विद्या र वेदव्रतमा स्नातक ब्राह्मण यदि सदाचारपूर्वक जीवन निर्वाह गर्छन् भने उनीहरूलाई पूर्वपावन सम्झिनु पर्छ । जुन श्राद्धकर्ताको घरमा भोजनमा मित्रहरूको सङ्ख्या बढी हुन्छ, त्यस्ता श्राद्धकर्ताको हविष्य एवं श्राद्धले पितृ सन्तुष्ट हुँदैनन् । श्राद्धमा भोजन गराएर मित्रता गास्ने श्राद्धकर्ता मृत्युपश्चात् देवमार्गबाट जान सक्दैन, अतः श्राद्धलाई मित्रताको साधन बनाउनु हुँदैन । श्राद्धलाई मित्रताको साधन बनाउने मानिस स्वर्गलोकबाट भ्रष्ट हुन्छ । ब्रह्मा, पुलत्स्य, वशिष्ठ, पुलह, अङ्गिरा, ऋतु र महर्षि कश्यप यी ७ ऋषि नै महान् योगेश्वर एवं पितृहरू मानिएका छन् । प्रेत(मृतक आदि) पिण्डको सम्बन्धबाट प्रेतत्वको कष्टबाट मुक्तिप्राप्त गर्छन् । श्राद्धमा तिल, कुतप, नाती यी वस्तु शुद्ध मानिन्छन्, कुतप भन्नाले दिनको आठौं भाग भन्ने अर्थ हुन्छ । स्वाध्यायहीन ब्राह्मणलाई श्राद्धदान गर्नु हुँदैन ।
पितृहरूको भक्तिले पुष्टि, आयु, वीर्य र लक्ष्मी प्राप्त गर्न सकिन्छ । अतः सदैव पितृपूजन, तर्पण गर्नु कल्याणकामी मानवको कर्तव्य हो । श्राद्धमा तीन पिण्डको शास्त्रीय विधान छ । तीन पिण्डमध्ये प्रथम पिण्ड जलमा बगाउनुपर्छ । मध्य पिण्ड श्राद्धकर्ताको पत्नीले भोजन गर्नुपर्छ, तेस्रो पिण्ड अग्निमा राखिदिनुपर्छ भनिएको छ । जलमा बगाएको प्रथम पिण्डले चन्द्रमालाई तृप्ति प्राप्त हुन्छ । चन्द्रमा तृप्त भएपछि देवता तथा पितृहरू तृप्त हुन्छन् । दोस्रो पिण्ड जुन श्राद्धकर्ताको पत्नीले खानुपर्ने विधान छ, पितृहरू प्रसन्न भएर पुत्रको इच्छा राख्ने मानिसलाई पुत्र प्राप्ति हुन्छ । अग्निमा राखिएको तेस्रो पिण्डबाट पनि पितृहरू तृप्त हुन्छन् तथा श्राद्धकर्ताको समस्त मनोकामना पूर्ण गरिदिन्छन् । तर हिजोआज एकोपार्वण श्राद्धमा मात्र ३ वटा पिण्डको प्रयोग गरिन्छ, महालयमा ६ वटा पिण्ड दिने चलन छ र व्यवहारमा सबै पिण्ड गाईलाई खुवाउने, जलमा प्रवाहित गरिदिने वा शुद्ध ठाउँमा माटोले पुरिदिने चलन छ ।
जुनसुकै कठिनाई वा आपत-विपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु नहुने कुराको उल्लेख श्रुति, स्मृति र पुराणमा पाइन्छ । शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने बताइएको छ । यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राह्मण पनि सदाचारी हुनुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ । जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाईभन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ । देवताहरूभन्दा पितृ रिझाउन कठिन हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने कुरामा जोड दिइएको छ ।
श्राद्धवेत्ताहरूले श्राद्धकल्पमा हविष्यबारे चर्चा गरेका छन् । तिल, जौ, ब्रीहि, मास, फल, मूलको हविष्यले पितृहरू एक महिनासम्म तृप्त हुन्छन् । तिलको मात्रा श्राद्धमा अधिक प्रयोग गर्नुपर्छ, यसले श्राद्ध अक्षय हुन्छ । श्राद्धसम्बन्धी सम्पूर्ण भोज्य पदार्थमा तिलको प्रयोग हुनु राम्रो हुन्छ । सम्भव भए पितृहरूको पूजा प्रत्येक दिन गर्नुपर्छ । पितृपूजामा तर्पण श्राद्ध, पिण्डदान आदि पर्छन् ।
के गरिन्छ श्राद्धमा ?
श्राद्धको प्रमुख अङ्ग तर्पण, सिधादान, पिण्डदान र ब्राह्मण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन । अन्य अङ्ग पनि त्यति नै महत्वपूर्ण छन् । पिण्डदान अगाडि पितृसूक्त पाठ गर्ने नियम छ । हिन्दू संस्कृतिमा भूखण्डमा आश्रय लिएका बहुविध जीवसँग मात्र नभई स्वर्गका देवता, पातालका नागजाति, पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको छ । त्यसैले श्राद्धमा पितृलाई उद्देश्य राखी तर्पण दिंदा आफन्त र बन्धुबान्धवलाई मात्र नभई आब्रह्मस्तम्भपर्यन्त अर्थात् ब्रह्मादेखि कीटपतङ्गसम्मको तृप्तिको कामना गरिएको हुन्छ ।
पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ । पितृपक्षमा प्रतिपदादेखि औंसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रका तिथिहरूमध्ये कुनै एउटा पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो, तर यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा सो तिथिमा श्राद्ध नगर्नू भन्ने शास्त्रीय वचन पाइन्छ ।
अन्य श्राद्धको विधि जस्तै सुरुमा देव-मनुष्य-दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यस श्राद्धमा चारजना ब्राह्मणको प्रतीक कुशको व्राह्मण थापिन्छ । पार्वण श्राद्धका ब्राह्मणलाई पितृ र विश्वदेव ब्राह्मण भनिन्छ । पिता-पितामह-प्रपितामह र मातामह-प्रमातामह-बृद्धप्रमातामह -पत्नीसहित) तीन पिँढीलाई क्रमशः वसु-रुद्र-आदित्य स्वरूप मानिन्छ । शास्त्रअनुसार वसु, रुद्र र आदित्यलाई क्रमशः पिता र मातामह, पितामह र प्रमातामह तथा प्रपितामह र बृद्धप्रमातामहका पोषक प्रतिनिधि मानिन्छन् । यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ । (पहिले पहिले कुशको प्रतीकात्मक ब्राह्मणको सट्टामा साँच्चिकैका ब्राह्मणलाई स्थापना गरी तिनलाई अघिल्लै दिन निम्तो गरिन्थ्यो ।) ब्राह्मण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिन्छ र चारै जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । पितृहरूलाई पिण्डदान गर्नु अघि अग्नि र सोमलाई अग्नये कल्पवाहनाय स्वाहा तथा सोमाय पितृमते स्वाहा भनेर चढाउने विधान छ ।
यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो । पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको थियो, जुन कालान्तरमा लोप भयो । श्राद्धको स्थान पवित्र एवं निर्जन हुनुपर्छ । वन, बाटिका आदि पवित्र भूमिमा अथवा नदीको तटमा गएर तर्पण, पिण्डदान गर्नाले पितृहरू सदैव सन्तुष्ट रहन्छन् । पितृहरूलाई यथासम्भव चाँदी अथवा तामाको भाँडामा श्रद्धापूर्वक दिइएको जल अक्षय सुखको लागि हुन्छ । पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ, तर घरमै भए पनि श्राद्ध गर्दा जमिन (भुइँ) मा नै गर्नुपर्ने नियम छ । त्यस्तै पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रीय नियम छ । अपराह्न भनेको दिनमानको पाँच भागमध्ये तेस्रो भागमा पर्ने समय हो । कुन श्राद्ध कुनसमयमा गर्ने भन्ने विषयमा शास्त्रको वचन यस्तो छ -
पूर्वाह्णे दैविकं श्राद्धमपराह्णे तु पार्वणम् ।
एकोद्दिष्टन्तु मध्याह्णे प्रातर्वृद्धिनिमित्तकम् ॥
(विवाहव्रतबन्धादिमा गरिने अाभ्युदयिक अादि श्राद्ध प्रातःकालमा, नित्यश्राद्ध पूर्वाह्णमा, एकोद्दिष्ट श्राद्ध मध्याह्नमा र पार्वण श्राद्ध (पर्वविशेषमा गरिने तथा सोह्रश्राद्ध) अपराह्नमा गर्नुपर्दछ ।)श्राद्धको निमित्त शुद्ध वस्त्र र शुद्धभोजन अनिवार्य छ । श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन गरी एक छाक मात्र खानुपर्दछ । यो कर्मलाई एकभक्त (हविष्य भोजन) पनि भनिन्छ । केशमुण्डन गर्ने समय वा फुर्सद नमिलेमा गहुँत र कुशपानीले टाउको नुहाई पवित्र हुने र एउटा छुट्टै गोदान गर्ने चलन छ । श्राद्ध गर्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ । देवताहरूभन्दा पितृ रिझाउन कठिन हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने बताइएको छ ।
श्राद्धमा गरिने खर्च दुःखी वा गरिबहरूका लागि खर्चे हुन्न ?
शास्त्रका विभिन्न प्रसङ्गबाट पनि के प्रष्ट हुन्छ भने जीवित हुँदा राम्ररी पालनपोषण गर्नु सन्तानको कर्तव्य हो भने मरेर अज्ञातस्थलमा पुगेका पितृको श्राद्ध गर्नु पनि उनीहरूको कर्तव्य नै हो । मनुस्मृतिमा अत्यन्त धनी भए पनि श्राद्धकर्ममा देखावट गर्न नहुने श्रद्धापूर्वक र शुद्ध मन्त्रहरू प्रयोग गरी श्राद्ध गरे थोरै खर्च गरे पनि पितृले पाउँछन् भन्ने कुराको उल्लेख गरिएको छ । यसरी शास्त्रहरूले देखावट वा लोकाचारको लागि मात्र गरिने श्राद्धलाई निरुत्साहित गरेका छन् । हिजोआज बाबुआमा बृद्ध भएपछि हेरविचार नगर्ने, तिरस्कार गर्ने, मरेपछि लोकाचारको लागि मन्दिर वा बाटोमा भेटिने अपरिचित बाहुनलाई समातेर घर लगी श्राद्ध गर्ने चलन बढेको छ । यसैगरी फजुल खर्च गरेर भोज गरी आफू पितृभक्त भएको देखाएको प्रशस्त देखिन्छ । जसले गर्दा श्रद्धाले गर्नुपर्ने श्राद्धजस्तो पवित्रकर्मलाई दूषितकर्मको रूपमा परिणत गराइएको छ ।
मातृदेवो भव, पितृदेवो भव, अचार्यदेवो भव, अतिथिदेवो भव जस्ता हाम्रा वैदिक शिक्षाका आदर्श वाक्यहरू हुन् । संक्षेपमा भन्नुपर्दा जुनसुकै श्राद्ध यही महान् वाणीमा आधारित छ । श्राद्धले कर्तव्य र अनुशासनको बोध गराउँदै प्राचीन संस्कार परम्परामा निहित आदर्शलाई सिकाउँछ । हिन्दु संस्कारको जन्मदेखि मृत्युपर्यन्त गरिने धार्मिक कृत्य, कर्मकाण्ड र अनुष्ठानका विधिलाई सूक्ष्म रूपले अध्ययन गर्दा सर्वव्यापकता र ईश्वरीय महिमा प्रष्ट हुन आउँछ । निश्चय नै पुर्खाहरू अगुवा हुन् र उनीहरूले नै गरेको कष्ट र साधनाबाट वर्तमान पिंढी तयार भएको हो । अतीत विनाको वर्तमान हुन सक्दैन । त्यसैले पितृहरूलाई वर्षमा एक दिन भए पनि सम्झना गर्नुपर्दछ । मूलतः श्राद्धले दिन खोजेको मूल सन्देश यही नै हो ।
मातृदेवो भव, पितृदेवो भव, अचार्यदेवो भव, अतिथिदेवो भव जस्ता हाम्रा वैदिक शिक्षाका आदर्श वाक्यहरू हुन् । संक्षेपमा भन्नुपर्दा जुनसुकै श्राद्ध यही महान् वाणीमा आधारित छ । श्राद्धले कर्तव्य र अनुशासनको बोध गराउँदै प्राचीन संस्कार परम्परामा निहित आदर्शलाई सिकाउँछ । हिन्दु संस्कारको जन्मदेखि मृत्युपर्यन्त गरिने धार्मिक कृत्य, कर्मकाण्ड र अनुष्ठानका विधिलाई सूक्ष्म रूपले अध्ययन गर्दा सर्वव्यापकता र ईश्वरीय महिमा प्रष्ट हुन आउँछ । निश्चय नै पुर्खाहरू अगुवा हुन् र उनीहरूले नै गरेको कष्ट र साधनाबाट वर्तमान पिंढी तयार भएको हो । अतीत विनाको वर्तमान हुन सक्दैन । त्यसैले पितृहरूलाई वर्षमा एक दिन भए पनि सम्झना गर्नुपर्दछ । मूलतः श्राद्धले दिन खोजेको मूल सन्देश यही नै हो ।