अजा एकादशी

प्रत्येक वर्षको भाद्र महिनाको कृष्ण पक्षको एघारौं दिनलाई अजा एकादशी भन्ने गरिन्छ । यो एकादशी चतुर्मासा अन्तर्गतको तेस्रो एकादशी हो । सामान्यतया अन्य एकादशीजस्तै यस एकादशीको पनि छुट्टै र विशिष्ट महत्त्व छ । यस एकादशीको महात्म्य र व्रतकथा विभिन्न पुराण र धर्मग्रन्थमा उल्लेख गरिएको छ । पद्मपुराणमा उल्लेख भएअनुसार कुन्तीपुत्र युधिष्ठिरको जिज्ञासालाई शान्त पार्ने उद्देश्यले स्वयं श्रीकृष्णले यस एकादशीको महिमा र विशिष्टता बताउनु भएको हो । युधिष्ठिरको प्रश्नको जवाफमा भगवान मधुसूदन श्रीकृष्णबाट आज्ञा भयो - भाद्र महिनाको कृष्णपक्षको एकादशीको नाम 'अजा' हो। यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका समस्त पापराशि नष्ट हुन्छन् । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधिलाई पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गर्नुपर्छ । स्कन्दपुराणमा उल्लेखभए अनुसार भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित स्थानको रचना गरी उक्त स्थानमा आफ्नो दैवीशक्तिसहित आफू स्वयं उपस्थित भई यज्ञयागादि र धार्मिक कृत्य निर्बाध ढंगले सुसञ्चालन गर्न ऋषिहरूलाई प्रदान गरेको भूमि ऋषिकेश हो र भगवानले ऋषिकेशस्वरूपमा उपस्थिति जनाई यज्ञपुरुषको भूमिका निर्वाह गर्ने गर्नुहुन्छ । यसरी जसले यस दिन भगवान् ऋषिकेशको पूजाआजा गरी व्रत गर्दछ उसले आजीवन सांसारिक भौतिक जीवनको उपभोग गरी मरणोपरान्त वैकुण्ठलोक प्राप्त गर्दछ र सायुज्यमुक्ति पाउँछ । यस एकादशीको व्रतकथा यस प्रकार छ :-

प्राचीनकालमा हरिश्चन्द्र नामक एकजना चक्रवर्ती राजा राज्य गर्दथे । उनले कुनै कर्मका वशीभूत भएर आफ्नो सम्पूर्ण राज्य एवं धन त्याग्नु परेको थियो । त्यसपछि आजीविकाका लागि उनले असाध्यै दुःख र विपत्तिहरूको सामना गर्नु परेको थियो । यतिसम्म कि हरिश्चन्द्रले आफ्ना पत्नी, पुत्रलगायत स्वयं आफूलाई समेत बेच्नु परेको थियो । अन्त्यमा उनले चाण्डालको दास भएर मृतकहरूको अन्तिम संस्कारको व्यवस्थापन गर्दै तिनै मृतकका अन्नपात र वस्त्रादि ग्रहण गरी जीवन धान्नु परेको थियो । तर जस्तोसुकै अप्ठ्यारो परिस्थिति र विपत्ति आइलागे पनि उनी सत्यबाट विचलित भएनन् । यसरी नियम, कर्तव्य, निष्ठा र सदाचारको पालना गर्दागर्दै पनि दुःख र कष्टको पराकाष्ठामा पुगेका वेला राजा चिन्तामग्न भई मनमा कुरा खेलाउँदै सोच्दथे - मैले मेरा यी विपत्ति र दुःख निवारणका लागि के गरौं ? कहाँ जाऊँ ? आदि । राजाले लामो समयसम्म विपत्ति र अनिष्टको सामना गर्नुपर्यो । यसरी कष्टमय जीवन धानेर बसिरहेका वेला उनको ऋषि गौतमसँग भेट भयो । उनले गौतम ऋषिलाई यथोपचार अभिवादन गरी आफ्ना कष्ट र वेदनाले भरिएको जीवनगाथा सुनाए । राजाको दयनीय जीवनकथा सुनेर ऋषि गौतमलाई दया पलायो । राजा र राजपरिवारको त्यस्तो बिजोग र वेदनापूर्ण जीवनयापनबाट कसरी मुक्ति दिलाउने भन्ने विषयमा ऋषिले निकैबेर चिन्तन गरे र राजालाई उपाय सुझाउँदै भन्न थाले - हे राजन ! तिम्रो भाग्यले आजको सात  दिनपछि भाद्र महिनाको कृष्ण पक्षको एकादशीको आगमन हुनेछ, उक्त एकादशीको नाम 'अजा' हो । त्यस दिन विधिपूर्वक व्रत लियौ भने तिम्रा समस्त दुःख र कष्टको नाश हुनेछ ।

राजाले ऋषिको भनाइलाई शिरोपर गरी अजा एकादशी आएपछि विधिपूर्वक व्रत बसी जागरण गरे । त्यस व्रतको प्रभावले राजाका जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापराशिको नाश भयो । उनले गुमाएका पत्नी र पुत्रलाई पुनः प्राप्त गरे । धनवैभव र सम्पत्तिको पुनरागमन भयो । गुमेको राज्य र सुखसम्पदा पनि पुनः प्राप्त गरे । आजीवन विभिन्न भौतिक सुखसुविधा, नाम, दाम र प्रतिष्ठा कमाई विभिन्न धार्मिक र सांस्कृतिक यज्ञयागादि र व्रतउत्सवको आयोजना गरी मरणोपरान्त वैकुण्ठ धाम जाने सुअवसर प्राप्त गरे ।

श्रीकृष्ण युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नु हुन्छ - हे राजन ! यो संपूर्ण चमत्कार अजा एकादशीको प्रभावबाट नै भएको हो । अत: जसले यत्न र विधिपूर्वक यस एकादशीको व्रतलाई पालना गर्दै रात्रिको समयमा जागरण गर्दछ, उसका समस्त पाप नष्ट भएर जीवनका यावत सुखसुविधाको भोग गर्दै अन्त्यमा ऊ वैकुण्ठधाम पुगी जन्ममरणको चक्रबाट मुक्त हुन पुग्दछ । यस एकादशीको कथाको श्रवणमात्रले पनि अश्वमेध यज्ञको फल प्राप्त हुन्छ ।