हामीले गाउँघरमा कसैकसैले कहिलेकाँही 'टाउकोमा धनको
भूत सवार भयो भने मानिसको मति भ्रष्ट हुन्छ' भन्ने गरेको सुन्नु भएको छ होला । सुन्दा
कुनै धनीमानी वा धेरै सम्पत्ति आर्जन गरेको व्यक्तिको आरिस गरी आलोचनाका क्रममा गर्न
नसक्ने वा गरिबगुरुबाले व्यक्त गरेको भनाइ हो जस्तो लाग्छ अनि हामी त्यो कुरोलाई सुन्छौं,
मुसुक्क हाँस्छौं, सामान्यतया सहमति जनाउँछौं र बिर्सिदिन्छौं । तर शास्त्रीय ढंगले
विचार गर्ने हो भने यो भनाइमा गम्भीर अर्थ र सन्दर्भ गाँसिएको छ अनि यस उक्तिमा केही
सत्यतथ्य विषयवस्तु पनि जोडिएको पाइन्छ ।
मस्तिष्क मानिसको मन र बुद्धिलाई नियन्त्रण गर्ने प्रमुख निकाय हो ।
जब माया जीवको मस्तिष्कमा हाबी हुन्छ, अनि बुझ्नुहोस् मानिस विनाशको मार्गमा प्रवृत्त
हुन्छ र सखाप नभई पुनः यथास्थानमा फिर्ता आउँदैन । धनसम्पत्ति, विलासिता, वैभव र सुखसुविधा
मायाका प्रतीकात्मक वस्तु हुन् र यी सबै वस्तुमाथि माता लक्ष्मीको अधिकार हुन्छ । त्यसैले
सर्वसाधारण निरन्तर धनप्राप्ति, गृहसुख, भोगविलासयुक्त जीवन आदिका लागि माता लक्ष्मीको
उपासना गर्ने गर्दछन् । माता लक्ष्मी प्रकृतिको मायावी शक्तिको रजोभावलाई प्रतिनिधित्व
गर्ने देवी हुन् । माया तत्त्वमा बुद्धिपक्ष कमजोर हुन्छ, त्यसैले जहिल्यै पनि लक्ष्मीको
पूजा गर्दा भगवान् गणेशको पूजाआजा सँगै भएको देखिन्छ । गणेशजी बुद्धिका देवता हुनुहुन्छ
। धनप्राप्त हुनासाथ बुद्धिको नाश हुने सम्भावना हुन्छ, त्यसैले बुद्धिको साधना र संयमताका
लागि लक्ष्मी र गणेशको सँगै पूजा गर्ने पद्धतिको विकास भएको हो । लक्ष्मी शिरमा सवार
हुँदा धनवैभवको नाश हुन्छ भनेर किन भनिएको हो भन्ने प्रसङ्गमा गर्ग संहिता र वायु पुराणमा
भएको पौराणिक कथा उल्लेख गर्नु सान्दर्भिक ठहरिन्छ : -
एक पटक असुरराज जम्भासुर र देवताहरूका बीचमा भयङ्कर ठूलो युद्ध भयो
। असुर पक्षका सेनाले देवताहरूलाई हराएर देवलोक स्वर्गमा कब्जा गरे । देवगुरु बृहस्पतिको
सल्लाहमा देवताहरू ऋषि दत्तात्रेयको शरणमा गए र आफ्नो वेदना पोख्दै विपत्ति सुल्झाउन
उपायका निमित्त बिन्ती गर्न थाले । देवताहरूले
सहयोग मागेपछि दत्तात्रेयले इन्द्रादि सकल देवतालाई आश्वासन दिंदै भन्नुभयो, यसको एउटा
उपाय छ, तर त्यसको सम्पादनमा केही कठिनाइ हुनसक्छ । त्यस उपायको अवलम्बन गरेमा असुरहरूको
बुद्धिभ्रष्ट हुन्छ र तपाईंहरूले पुनः देवलोक प्राप्त गर्न सक्नुहुनेछ । दत्तात्रेयका
यस्ता आशापूर्ण कुरा सुनेपछि देवराज इन्द्रले हात जोड्दै तुरुन्त अनुरोध गरे – हे प्रभो,
हजुरले उपायमात्र वर्णन गर्नुहोस्, त्यसलाई सम्पादन गर्न हामी हिचकिचाउँदैनौं, जेजति
कठिन र सङ्कटप्रद भए पनि त्यसको कार्यान्वयन गरी छाड्छौं ।
इन्द्रले यत्ति बिन्ती गरेपछि दत्तात्रेयले उपाय बताउनु भयो – हे इन्द्रादि
देवताहरू ! तपाईंहरूले माता लक्ष्मीको उपासना गर्नुहोस् । माता लक्ष्मी तपाईंहरूको उपासनाबाट
प्रसन्न हुनुहुनेछ । त्यसपछि लक्ष्मीसँग राक्षसहरूको शिरमा गई बसिदिन अनुरोध गर्नुहोस्
। लक्ष्मीको शिरमा बास हुनासाथ जम्भासुरको विनाश प्रारम्भ हुनेछ र ऊ पाताललोकमा भासिने
छ । तपाईंहरूले उनीहरूमाथि विजय हासिल गर्नुहुनेछ, साथै देवलोकमा पुनः सुखभोग र वैभवपूर्ण
जीवन बिताउन पाउनु हुनेछ ।
दत्तात्रेयको सुझावपछि इन्द्रादि सकल देवताहरू वैकुण्ठलोकमा गई माता
लक्ष्मीको आराधना गर्न थाले । केही समयमा देवताहरूलाई लक्ष्मीले दर्शन दिनुभयो । इन्द्रादि
देवताले प्रसन्न भएकी माता लक्ष्मीलाई दत्तात्रेयले बताउनु भएको कुरो अनुरोध गरे ।
इन्द्रका कुरा सुनेपछि माता लक्ष्मीले उनलाई अह्राउनु भयो – इन्द्र ! तपाईं गएर जम्भासुर
राक्षसलाई युद्धको आह्वान गर्दै ललकार्नु होस् । जब युद्धभूमिमा राक्षसहरू आउनेछन्,
त्यसपछि तपाईंहरू युद्धभूमिबाट पलायन हुनुहोस् । तपाईंहरू भागेको देखेपछि उनीहरूले
पछ्याउने छन् । उनीहरूलाई आफ्नो पछिपछि लगाउँदै छल गर्दै ऋषि दत्तात्रेयको आश्रममा
लिएर आउनुहोस् । जम्भासुर त्यसरी त्यहाँ आइपुग्यो भने म छल गरी तिनको शिरमा आरोहण गर्नेछु
र तपाईंहरूले विजय प्राप्त गर्नुहुनेछ ।
माता लक्ष्मीको निर्देशनबमोजिम देवराज इन्द्रले त्यसै गरे । उनी आफ्नो
देवसेना लिई युद्ध गर्न भनी स्वर्गलोकमा जम्भासुर भएको स्थानमा पुगे र युद्धका निमित्त
ललकार्न थाले । जब राक्षसी सेना युद्ध गर्न तैयार भई युद्धभूमिमा आइपुग्यो, अनि देवसेना
मैदान छाडी भाग्न थाले । यस्तो दृश्य देखेर असुर सेना हर्षित भए र देवसेनाको पिछा गर्न
थाले । समस्त देवता हाम्रो डरले भागिरहेका छन् भन्ने भ्रममा राक्षसहरू उनीहरूको पिछा
गरिरहे र केही बेरमा ऋषि दत्तात्रेयको आश्रममा पुगे । त्यहाँ माता लक्ष्मी अपूर्व सौन्दर्यले
युक्त भएकी युवतीको भेष धारण गरी उभिरहेकी थिईन । आफ्ना अगाडि मध्ययौवनकी अनुपम सौन्दर्यले
युक्त भएकी तरुनीलाई देख्नासाथ राक्षसी सेना त्यहीं अडियो । देवताहरु लक्ष्मीलाई देखेपछि
मनमनै स्तुति र वन्दना गर्दै वरपर छरिए र अलप भए ।
लक्ष्मीको अनुपम रूप, लावण्य र सौन्दर्यमा मोहित भई राक्षसहरूले देवताहरूलाई
पछ्याउँदै युद्ध गर्न आएको भन्ने कुरो नै बिर्सिए । अनि ती युवतीप्रति आशक्त र मोहित
भए । ती लक्ष्मीस्वरूपा नारीका वाग्जालमा समस्त असुरहरू लट्ठ परे । तिनलाई सम्मानका
साथमा तिनले पालकीमा बसाले र पालकीलाई शिरमा राखी पाताललोकतर्फ लिएर जान थाले । यो
दृश्यलाई नियाली रहेका ऋषि दत्तात्रेयले तुरुन्त इन्द्रलाई आदेश दिनुभयो – इन्द्र अब
जानुहोस् । देवी लक्ष्मीले सप्तमस्थान अतिक्रमण गरी राक्षसको शिरमा आसन जमाएकी छन्
। दानवहरूको विनाशको सही समय आएको छ । यो सबैभन्दा उचित समय हो । राक्षसहरूमाथि आक्रमण
गर्नुहोस् । तपाईंको जीत सुनिश्चित छ । इन्द्रलाई यसरी युद्धको उचित समय आएको जानकारी
दिंदै दत्तात्रेयले भन्नुभयो – माता लक्ष्मीका लागि शरीरमा सातवटा स्थान निश्चय गरिएका
छन्, जहाँ लक्ष्मीको निवास हुँदा शुभफल प्राप्ति हुन्छ ।
ती स्थान हुन् –
·
खुट्टामा लक्ष्मी हुँदा गृहसुख
प्राप्त हुन्छ ।
·
हड्डीमा लक्ष्मीको बास हुँदा
रत्न लाभ हुन्छ ।
·
गुह्यस्थानमा लक्ष्मीको बास
हुँदा स्त्री लाभ हुन्छ ।
·
कोखामा लक्ष्मीको बास हुँदा
पुत्रलाभ हुन्छ ।
·
हृदयमा लक्ष्मीको बास हुँदा
सम्पूर्ण मनोरथ पूर्ण हुने गर्दछन् ।
·
कण्ठ (घाँटी)मा लक्ष्मीले बास
गर्नुभयो भने आभूषण, सुवर्णादि लाभ हुन्छ र
·
वाणिमा माता लक्ष्मीको वास भयो
भने व्यक्ति रूपलावण्य र सौन्दर्यले भरिपूर्ण हुन्छ, बोलीवचन मिठो हुन्छ, साथै
उसको प्रतिभा र बुद्धिपक्ष प्रबल हुन्छ ।
यी सात ठाउँबाहेक लक्ष्मी बसिन् भने लक्ष्मीले अशुभ फल प्रदान गर्दछिन्
। अहिले राक्षसहरूले लक्ष्मीलाई शिरमा चढाएका छन्, त्यसैले तपाईंहरूले आक्रमण गर्नुहोस्,
विजय सुनिश्चित छ ।
देवताहरूले दत्तात्रेयको निर्देशनबमोजिम असुरहरूमाथि आक्रमण गरे र सहजताका
साथ युद्धमा विजयी भए । पुनः देवताहरूको विलासितापूर्ण जीवन प्रारम्भ भयो ।
यो कथाले तपाईंको जीवनलाई मार्गदर्शन गर्न अनेकौं प्रतीकात्मक सन्देश
र प्रेरणा प्रदान गर्नसक्छ । तीमध्ये एउटा सन्देश हो, तपाईंको सुविधायुक्त जीवनचर्या
र भोगविलासका लागि खुट्टा, हड्डी, यौनाङ्ग, पेट, हृदय (मन), घाँटी र वाणि (जिब्रो)
उपयुक्त हुन सक्छ, तर मस्तिष्कमा भने सधैं बुद्धिपक्ष सबल हुनुपर्छ । भोगविलासले बुद्धिपक्षलाई
पनि दपेट्यो भने बुझ्नुहोस्, तपाईं पनि विनाशको मार्गमा अग्रसर हुनु भएको छ । शरीरका
अन्य अवयवहरू जत्ति नै अल्छी, लाडे, सुविधाभोगी र अस्वस्थ भए पनि तपाईंको मस्तिष्क
क्रियाशील हुनुपर्छ, चिन्तन स्वस्थ हुनुपर्छ र विचार सरल र सादगीपूर्ण हुनुपर्छ भन्ने
सन्देश माता लक्ष्मीको यो कथाले प्रदान गरेको छ । अस्तु । सर्वे भवन्तु सुखिनः
...............