परिचय
रुद्राक्ष रुखमा फल्ने एक किसिमको फल हो । नेपाली शब्दसागर शब्दकोशमा रुद्राक्ष शब्दलाई 'लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल' भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महत्त्वको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ । इन्डोनेसियामा उत्पत्ति भएको अनुमान गरिएको यो वनस्पति पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् । पौराणिक ग्रन्थहरूमा रुद्राक्षका उत्पत्तिका सम्बन्धमा विभिन्न आख्यानहरूको चर्चा भेटिन्छ । ती कथाहरूको सारतत्त्वका रूपमा भगवान् शिवको अश्रुबिन्दु अर्थात् आँसुबाट रुद्राक्षको प्रादुर्भाव भएको सन्दर्भमा भने मतैक्य पाइन्छ । संस्कृत मूलबाट लिइएको शब्द 'रुद्राक्ष'को व्युत्पत्ति गर्दा पनि यस शब्दमा प्रयुक्त दुईवटा शब्द रुद्र(भगवान् शिव) र अक्ष(आँसु)को योग भई व्युत्पादन भएको देखिन्छ । अर्थात् भगवान् शिवको आँसुबाट जुन रुख अस्तित्वमा आए त्यसैलाई रुद्राक्ष भनियो । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान् शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखे आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । नेपाली भाषामा दाना, रुद्रा, रुद्राक्ष, संस्कृत भाषामा रुद्रक, रुद्राक्ष, शिवाक्ष आदि भनिन्छ भने अङ्ग्रेजीमा अल्ट्रासमबिड, ल्याटिन भाषामा एलिओ कार्पसजेनिट्स र हिन्दी भाषामा रुद्राक्ष नै भनिन्छ । धार्मिक विश्वासअनुसार एकमुखे रुद्राक्ष भगवान् शिव, दुईमुखे श्रीगौरीशङ्कर, तीनमुखे तेजोमय अग्नि, चतुर्मुखी ब्रह्मा, पाँचमुखे श्रीपञ्चमुख हनुमान् र भगवान् शिव, छमुखे भगवान् कार्तिकेय, सातमुखे सप्तग्रह र शनिश्चर, आठमुखे भगवान् श्रीगणेश, नौमुखे भगवती देवी दुर्गा, दसमुखे श्रीहरि(विष्णु), एघारमुखे भगवान् रूद्र, बाह्रमुखे भगवान् नारायण र सूर्य ग्रह, तेह्रमुखे इन्द्र, कुवेर, कामदेव र पितृदेवता तथा चौधमुखे रुद्राक्षलाई हनुमानको प्रतीकात्मक रूप मानिन्छ । यस्तै शिव पुराणमा उल्लेख भएअनुसार विभिन्न आकारका रुद्राक्ष धारणबाट भिन्नभिन्न शुभफल प्राप्ति हुन्छ । उक्त ग्रन्थमा अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ, बयरको दानाको आकारको रुद्राक्षले सुख र सौभाग्य बढाउँछ र लालगेडीको आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।
सनातन धर्ममा रुद्राक्षको रुख र दाना दुबैको उत्तिकै महत्त्व छ । अहिले पनि सनातन धर्मावलम्बीहरूको घर वरिपरि रुद्राक्षको रुख छ भने रुद्राक्षको रुखमा पूजा गरेको देखिन्छ, त्यस्तै रुद्राक्षको ज्ञान भएका भक्तहरुले रुद्राक्षको एउटा दाना लकेट बनाएर घाँटीमा झुन्ड्याइएको वा रुद्राक्षको माला धारण गरेको पनि देखिन्छ । रुद्राक्षको महत्वका सम्बन्धमा पूर्वीय दर्शन, धर्म, संस्कृति र वाङ्मयमा विशद चर्चा भएको पाइन्छ । रुद्राक्ष स्वयं भगवान् शिवको प्रतीक हो, यसमा भगवान् भोलेशङ्करले निवास गर्नुहुन्छ र रुद्राक्ष दाना भगवान महादेव(पशुपतिनाथ) को प्रिय आभूषण हो भन्ने विविध मान्यता र विश्वास हामीमा विद्यमान छ । अनि रुद्राक्षको महत्त्वका बारेमा ज्ञानबर्द्धक पुस्तक, विभिन्न पुराणहरू, नेपाल महात्म्य आदि धर्मग्रन्थका किताब र अन्य लेखरचनामा सम्पूर्ण जानकारी सहित उल्लेख गरिएको पाइन्छ । नेपाललगायत संसारका विभिन्न स्थानमा रुद्राक्षको रुख भएको पाइए पनि नेपालको पुन्य भूमिमा उत्पादन भएको रुद्राक्ष मात्र शक्तिशाली हुन्छ भन्ने मान्यता छ । त्यसैले पनि गण्डकीदेखि कौशिकीसम्मको प्रस्रवण क्षेत्रमा फैलिएको हिमाली भूभागलाई 'रुद्राक्षारण्य' भनिएको हो । त्यसैले आदिकालदेखि नै ऋषि, मुनि, साधु, सन्तहरूले यस भूखण्डमा उत्पादन भएको रुद्राक्षलाई छनोट गरी धारण गर्ने गरेको पाइन्छ । भारतलगायत विश्वका अन्य क्षेत्रबाट काठमाण्डौ आइपुगेका पर्यटक र तीर्थयात्रीले पशुपतिनाथको दर्शन गरेपछि रुद्राक्षको पूजा गर्ने, किन्ने र धारण गर्ने गर्छन् । शिवरात्रि,तीज,श्रावण महिनाको सोमबार, बालाचतुर्दशी, रामनवमी आदि पर्वमा पशुपतिनाथ र अन्य प्रतिष्ठित शिवालय एवं तीर्थस्थलहरू धरानको पिण्डेश्वर, झापाको अर्जुनधारा, जनकपुरको रामजानकी मन्दिर, देवघाट र मुस्ताङ्गको मुक्तिक्षेत्र आदिमा रुद्राक्ष बेच्ने उद्देश्यले बाटोबाटोमा पसल फिंजाइएको देख्न पनि पाइन्छ । रुद्राक्ष नेपालको काठमाण्डौ, धरान, भोजपुर, झापा, सिन्धुपाल्चोक, सोलुखुम्बु, काभ्रे आदि थुप्रै ठाउँमा फल्छ । रुद्राक्षको बिरुवा रोपेर राम्रो स्याहारसुसार गर्दा करिब ५ वर्षमै यसले दाना उत्पादन गर्न थाल्छ ।
हेर्दा उस्तैउस्तै देखिए पनि एउटा रुद्राक्षको आकार, प्रकार, बनोट र मुख(प्राकृतिक धार)का आधारमा यसलाई वर्गीकरण गर्ने चलन छ । त्यसैले एउटा रुद्राक्षको रुखमा विभिन्न प्रकारका रुद्राक्षका दाना फलेको देखिन्छ । सामान्यतया रुद्राक्षको दानाको मध्यभागमा प्राकृतिक तवरले बनेको नैसर्गिक प्वाल हुन्छ । यो प्वाल एकापट्टिको ध्रुवीय विन्दुबाट अर्कोपट्टिको ध्रुवीय बिन्दुसम्म पुगेको हुन्छ । दानाको सतहमा एकापट्टिको प्वालको मुखबाट अर्को पट्टिको प्वालको मुखसम्म पुग्ने प्राकृतिक धार वा रेखा बनेका हुन्छन् । तिनै प्राकृतिक रेखालाई रुद्राक्षको मुख भनिन्छ । 'रुद्राक्ष रहस्य' नामक पुस्तकमा प्रा.डा. भरतप्रसाद भट्टराईले रुद्राक्ष एकदेखि सत्ताईस मुखेसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखेसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् । तर सामान्यतः १ देखि १४ मुखेसम्मका रुद्राक्षमात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखे तथा नौमुखेदेखि १४ मुखेसम्मको रुद्राक्ष निकै दुलर्भ मानिन्छ भने एकमुखे रुद्राक्षलाई शिवको प्रतीक (रूप) समेत मानिन्छ, त्यसैले अन्य रुद्राक्षका तुलनामा एक मुखेको विशेष महत्त्व रहेको पाइन्छ । यो एकमुखे रुद्राक्ष १२ वर्षमा एक पटक एउटा मात्र फल्छ वा एउटा रुखमा प्रत्येक वर्ष तीनवटा फल्ने गर्दछ, तीमध्ये एउटा स्वर्ग, अर्को पातालमा र तेस्रो पृथ्वीमा रहन्छ भन्ने किंवदन्ती छ, अतः भाग्यमानीले मात्र सो एकमुखे रुद्राक्ष भेट्टाउँछ भन्ने विश्वास रहिआएको छ । पौराणिक ग्रन्थहरूमा एकमुखेदेखि चौधमुखेसम्मका रुद्राक्षको छुट्टाछुट्टै वैशिष्ट्य बताइएको पाइन्छ । अधिकांश रुद्राक्षका रुखमा फलेका रुद्राक्षमध्ये पाँचमुखे रुद्राक्षको बाहुल्यता भेटिन्छ । तर यस बोटमा यत्ति नै मुखे रुद्राक्ष फल्छ भन्ने हुँदैन । अधिकांशतः पाँचमुखे र त्यसपछि चार र छमुखे रुद्राक्ष फलेको देखिन्छ । एक मुखे र दुई मुखे तथा आठ मुखेभन्दा बढी मुख भएका रुद्राक्षहरू बिरलै फल्दछन् । त्यसैले त्यस्ता रुद्राक्षको किनबेचमा महङ्गो मूल्यको लेनदेन हुन्छ । यी भिन्नभिन्न रुद्राक्षका धार्मिक तथा ज्योतिषीय महत्त्व पनि बेग्लाबेग्लै छन्, जसलाई यसरी बुझ्न सकिन्छ -
एक मुखे रुद्राक्ष
एकमुखे रुद्राक्षको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि औषधीका रूपमा यसबारे उल्लेख छ । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार यस्तो रुद्राक्ष एउटा बोटमा बाह्र वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ । तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । सौर्य परिवारमा सूर्यग्रह बीचमा रहन्छ र अरु ग्रहहरुले सूर्यलाई परिक्रमा गर्दछन् । जसको प्रतिनिधित्व एकमुखे रुद्राक्षले गरेको हुन्छ । यसले सूर्यको नकारात्मक प्रभावबाट बचाउँछ साथै दाहिने आँखाको रोग, टाउको, कान, खानानली, पेट तथा हड्डीको रोग निदान गर्दछ । एकमुखे रुद्राक्ष धारण गर्नेलाई मनोवैज्ञानिक रुपमा आत्मविश्वासी, मनलाई प्रफुल्लित राख्ने, नतृत्व गुण बढाउने, सम्मन्नतामा वृद्धि हुने गर्दछ किनकी यसको धारणले सूर्यको नकारात्मक प्रभावबाट सहजै बच्न सकिन्छ । एकमुखे रुद्राक्ष ज्यादै दुर्लभ रहेको छ । यो ज्यादै मूल्यवान् एवं गुणकारी हुन्छ । एकमुखे रुद्राक्ष साथमा रहनाले एश्वर्य बढ्दै जाने, शक्ति बढ्दै जाने, प्रतिष्ठा, इज्जत बढ्दै जाने हुन्छ । मानिस आत्मविश्वसी, साहसी, धैर्यवान, आध्यात्मिक सचेततायुक्त हुन्छ । यो धारण गर्नाले शिव शक्ति प्राप्त हुने विश्वास छ । यो अरु रुद्राक्षहरुभन्दा सर्वश्रेष्ठ छ । यसलाई नै रुद्राक्षको जननीको रुपमा लिइन्छ । जीवनलाई सुखमय बनाउन र चौतर्फी सफलता प्राप्त गर्नका लागि यो धारण गर्नुपर्छ । यो रुद्राक्ष घरमा राख्नाले लक्ष्मी प्राप्त भैरहन्छ । हुन नसकेका र नचिताएका शुभ कार्यहरु समेत पूर्ण हुँदै जान्छन् ।
दुई मुखे रुद्राक्ष
सबै प्रकारका कामनाको पूर्णता दिलाउने र दाम्पत्य जीवनमा सुख, शान्ति र तेज प्रदान गर्ने रुद्राक्षका रूपमा दुईमुखे रुद्राक्षलाई लिइन्छ । यस रुद्राक्षको मुख्य ग्रह चन्द्रमा हो । यसले चन्द्रमाको हानीकारक प्रभावलाई प्रभावकारी रुपले नियन्त्रण गर्दछ । देब्रे आँखा कान, मृगौला र पेट आदिमा नराम्रो असर पर्नबाट रोक्दछ । यो रुद्राक्षले प्रतिबद्ध सम्बन्धको विकासमा सघाउँछ । चन्द्रमाको सामान्य प्रभाव हुन्छ । यसले नकारात्मक दोषहरु रिसाहा, दिक्दारी र एकाग्रताको कमी जस्ताको नियन्त्रणमा ठूलो सहयोग गर्छ । यो रुद्राक्षले भगवान् भोलेशङ्करको अर्द्धनारीस्वरुपको अनुग्रह प्रदान गर्छ । अर्को भगवान् शिवको प्रतीकात्मक स्वरुपमा २मुखे रुद्राक्षलाई लिइन्छ । यो शिवभक्तका लागि धेरै उपयुक्त हुन्छ । यसले उनीहरुलाई मानसिक, शास्त्रीय र धार्मिक उन्नति प्रदान गर्दछ । २मुखे रुद्राक्षले भगवान् रुद्र र उनकी अर्धाङ्गिनी माता पार्वतीको प्रतिनिधित्व समेत गर्छ । वैष्णवहरुले भगवान् विष्णुको प्रतीकको रुपमा दुईमुखे रुद्राक्षलाई आदर गर्ने गरेको पाइन्छ । त्यसै कारणले यसलाई वैष्णव र शैव दुवै पक्षमा पवित्र मानिन्छ । यो रुद्राक्ष लगाउनाले धारण गर्ने व्यक्तिका सबै इच्छा पूर्ण हुन्छन् र मनलाई शान्त बनाउन समेत ऊ सफल हुन्छ । चित्तलाई एकाग्र बनाउन र ध्यानकेन्द्रित बनाउन पनि दुईमुखे रुद्राक्षको प्रयोग हुन्छ । गर्भवती महिलाले दुईमुखे रुद्राक्ष धारण गरेमा प्रसव व्यथा लाग्दैन भन्ने मान्यता समेत छ । नराम्रा सपनाहरूको प्रकोपबाट मुक्त हुन दुईमुखे रुद्राक्षकै प्रयोग गरिन्छ । त्यस्तै भूतप्रेतको हानिकारक प्रभावबाट स्वतन्त्र रहन पनि यस रुद्राक्षले मद्दत गर्छ । यो रुद्राक्षले मनुष्यबाट जानीनजानी भएगरेका पापलाई नष्ट पार्छ र स्वर्गमा पुग्न सजिलो तुल्याउँछ ।
तीन मुखे रुद्राक्ष
समस्त ऐश्वर्य प्रदान गर्न समर्थ रुद्राक्षका रूपमा तीनमुखे रुद्राक्षलाई लिइन्छ । यो रुद्राक्ष मङ्गल ग्रहको प्रतीक हो । शरीरका रक्तसम्बन्धी विकारहरू र त्यसबाट हुने हानीकारक असरहरू जस्तै रगतको रोग, रक्तचाप, कमजोरी, रजस्वलामा आउने उतारचढाव, मृगौला र मुटुसँग सम्बद्ध रोग आदिद्वारा ग्रसित रोगीलाई यस रुद्राक्षबाट अप्रत्याशित लाभ मिलेको देख्दा आधुनिक चिकित्सकहरू समेत छक्क पर्छन् । यो रुद्राक्ष लगाउनाले खिन्नता, नकारात्मक र आपराधिक सोचाइ, हीनता जस्ता दोषहरु व्यापक रूपमा घट्दछन् । आत्मविश्वस बढाउन र खिन्नता हटाउन तीनमुखे रुद्राक्ष लगाइन्छ । यसले भौतिक समृद्धि पनि बढाउँछ र केही रोगहरूलाई निर्मूल समेत बनाउँछ । यसले रोग र तनाव उन्मूलन गर्न र सबै पाप शुद्धीकरण गर्छ । तीनमुखे रुद्राक्ष अग्नि देवताको प्रतीक पनि हो । त्यसैले यस तीनमुखे रुद्राक्षको माला बनाएर लगाउने व्यक्तिमा अग्निवत् तेजस्विता प्राप्त हुन्छ । यसले स्वास्थ्य, धन, सम्पत्ति र ज्ञान पनि प्रदान गर्दछ । १०८ वटा तीनमुखे रुद्राक्षको माला धारण गर्नाले यौनशक्तिमा उल्लेखनीय सम्मृद्धि प्राप्त हुन्छ र व्यक्तिलाई आकर्षकता पनि प्राप्त हुन्छ । यो विपरीत लिङ्गीलाई आफ्नो वशमा राख्न आफुसित सन्तुष्ट तुल्याउन मद्दत गर्ने रुद्राक्ष हो । यसलाई सृष्टिकर्ता ब्रह्माको प्रतीक पनि मानिन्छ । तीनमुखे रुद्राक्षलाई दूधमा उमालेर त्यो दूधलाई लगातार बीसदिनसम्म सेवन गरेमा व्यक्तिले ज्ञान र स्मरणशक्ति तेज बनाउन सक्दछ । कसैमा रहेको रिसाहा बानी, झर्कोफर्को, अटेरीपना र अन्य दानवीय प्रवृत्तिलाई तीनमुखे रुद्राक्षको प्रयोगबाट पूर्णरुपमा हटाइएका प्रमाणहरू छन् । प्रायः यस्तो रुद्राक्ष सिक्ने र सिकाउने व्यक्तिका लागि अतीव महत्त्वपूर्ण मानिन्छ, त्यसैले यसलाई विद्यार्थी र विद्वान् व्यक्तिहरूले धारण गर्नुपर्दछ । यसको प्रयोग गर्नाले मानिसले गहिरो ज्ञान प्राप्त गर्छ र धर्मको गोपनीय रहस्यलाई सजिलै प्राप्त गर्छ । यो रुद्राक्ष धारण गर्ने मनुष्यसँग भगवान् रुद्र धेरै प्रसन्न हुनुहुन्छ ।
चार मुखे रुद्राक्ष
धर्म, अर्थ काम एवं मोक्ष जस्ता चतुर्वर्गको शुभ फल प्राप्तिको चिह्नका रूपमा चारमुखे रुद्राक्षको वर्णन गरिएको पाइन्छ । यो रुद्राक्ष बुधग्रहको प्रतीक हो । त्यस्तै यसले मातृशक्ति (देवी, सरस्वती, लक्ष्मी आदि) र ब्रह्माको समेत प्रतिनिधित्व गर्छ । विस्मरण, बुद्धुपन, मुर्खता आदि कमजोरी निवारणका लागि यसको प्रयोग गरिन्छ । यो चारमुखे रुद्राक्ष कण्ठ वा पाखुरामा धारण गर्नुपर्दछ । सिर्जनात्मक वा संरचनात्मक नवनिर्माणको लागि यो उपयोगी मानिन्छ । राम्रो कवि वा कलाकार बन्नका लागि यो रुद्राक्ष अत्युपयोगी हुन्छ । यसलाई दूधमा उमालेर २० दिनसम्म सेवन गरे यसले उदररोगको निवारण गर्दछ । यसले लाभदायक प्रभावहरुमा बौद्धिकता प्राप्ति, मुर्खताको नाश, शक्ति र सामर्थ्यको प्राप्ति र सुस्त बुझाइमा कमी, विचार विनिमय र सञ्चार आदानप्रदानमा प्रभावकारी परिवर्तन, चिन्ता, कुण्ठा र मानसिक रोगको निवारण जस्तो राम्रो फल प्रदान गर्दछ । सिर्जनशीलता र नविन कार्यमा प्रभावशाली स्थिति सृजना गर्न चारमुखे रुद्राक्षको प्रयोगबाट उल्लेखनीय सफलता मिल्दछ ।
पाँच मुखे रुद्राक्ष
सुख र आनन्दको वर्षा गर्ने पाँचमुखे रुद्राक्षको स्वामी बृहस्पति ग्रह हो । बृहस्पति ग्रहका नकारात्मक पक्षको निराकरण र सकारात्मक पक्षको सबलीकरण गर्न यो रुद्राक्षको प्रयोग गरिन्छ । अशान्ति, गरिबी, मेलमिलापमा कमी, झैझगडा आदि दोषबाट बच्न यो रुद्राक्षको प्रयोग हुन्छ । यसले सम्पूर्ण जीवन यात्रामा सफलता दिलाउँछ । ज्ञान, सम्पत्ति, यश, कीर्ति र लक्ष्यहरु प्राप्त गर्न सघाउ पुर्याउने सजिलो काम पाँचमुखे रुद्राक्षको धारण हो । यस रुद्राक्षले व्यक्तिलाई स्वस्थता प्राप्त गर्न र आन्तरिक आनन्द प्राप्त गर्नका निमित्त पनि सहयोग गर्छ । पाँचमुखे रुद्राक्षले भगवान शिवको प्रतिनिधित्वसमेत गर्दछ । शत्रुहरुमा विजय प्राप्त गर्न यो धेरै प्रभावकारी हुन्छ । जसले यो रुद्राक्ष लगाउँछ त्यस्ता व्यक्तिहरुसँग सबै खुशी हुन्छन् । यो लगाउने व्यक्तिको नजिकमा रोग आउँदैन । त्यस्ता व्यक्तिले सबै प्रकारको धन र ऐश्वर्य प्राप्त गर्दछन् । जो व्यक्ति उच्च रक्तचापबाट ग्रसित हुन्छन् तिनीहरुले समेत यो रुद्राक्ष लगाएमा छुटकारा प्राप्त गर्दछन् । यसले फोक्सो, मुटु र रक्तसँग सम्बन्धित रोग निवारणमा पनि सहयोग गर्दछ ।
छ मुखे रुद्राक्ष
जीवनमा जानीनजानी गरिएका समस्त पापबाट मुक्ति प्रदान गर्ने र सन्ततिको सर्वतोमुखे संरक्षणका अहं भूमिका निर्वाह गर्ने छमुखे रुद्राक्षको स्वामी शुक्र ग्रह हो । शुक्र ग्रहले कर्मेन्द्रियअन्तर्गतका अङ्गहरु(नाक, कान, घाँटी, मुख र छाला), यौन आनन्द, माया, संगीत आदिलाई सञ्चालन गर्दछ । यस्तो रुद्राक्षले उन्नतिपथ बढाउँछ र व्यक्तिलाई पेशागत र शैक्षिक सफलता प्राप्त गर्ने निर्णयमा सघाउँछ । यसले मनुष्यको लक्ष र सपना पुरा गर्न समेत सघाउँछ र एउटा बिलासी जीवन प्रदान गर्छ । यस रुद्राक्षलाई स्वामी कार्तिकेयको प्रतीकात्मक रूप मानिन्छ । त्यस्तै ६मुखे रुद्राक्षलाई षड्मातृका (रुद्रका छोरा कार्तिकेयकी आमाहरु)को प्रतीक पनि मानिन्छ । यसलाई धारण गर्दा पुरुषले दायाँ हातमा र स्त्री जातीले बायाँ हातमा लगाउनु पर्दछ । यसले उच्च किसिमको ज्ञान र प्राविधिक दक्षता समेत अर्पण गर्छ । स्त्री जातीका यौन सम्बन्धि रोग र अरु मानसिक रोगमा यसको धारणले सहयोग पुग्छ । जो तन्त्रमा विश्वास राख्छ र धारण गर्छ त्यसले यसबाट फाइदा पनि पाउँछ । यसले विद्यार्थी तथा व्यापारीहरुलाई पनि सहयोग गर्छ । यसको धारणले व्यवसायमा पूर्ण सफलता प्राप्त गर्छ र धेरै सम्पत्ति प्राप्त गर्छ । महिला सम्बन्धि सबै आन्तरिक समस्याहरु र पुरुष र महिला दुबैमा देखिने विभिन्न यौन रोगलाई निदान गर्न यस रुद्राक्षलाई उपयोगी मानिन्छ ।
सात मुखे रुद्राक्ष
दरिद्रतालाई नाश गरी व्यवसायिक जीवनको संवर्द्धन गर्ने यो सातमुखे रुद्राक्षको स्वामी शनि ग्रह हो । शनिश्चरलाई सम्पूर्ण ग्रहहरुमध्ये शक्तिशाली मानिन्छ । शनिले कुण्डलीमा रहेको आफ्नो अवस्था अनुसार राम्रो वा नराम्रो फल दिन्छन् । सातमुखे रुद्राक्षलाई धारण गर्दा नपुंसकता, चिसो, निराशा, ढिलाइ, दीर्घ रोग, अभाव, दुःख आदि शनिश्चर ग्रहका दुष्प्रभावहरू शान्त हुन्छन् । सातमुखे रुद्राक्षले व्यक्तिलाई धनी बनाउन र सम्पत्ति सञ्चित गर्न समेत सघाउँछ । त्यस्तै यसले उन्नति प्राप्त गर्न र मानसिक शान्ति प्राप्त गर्न पनि सहयोग पुर्याउँछ । यसलाई धारण गर्नाले धेरै शुभ हुन्छ । यस रुद्राक्षले प्राणघातक रोग र मृत्युलाई हटाउन समेत सघाउने गर्दछ र यसले मनुष्यलाई दिर्घायुष्य प्रदान गर्दछ । यो रुद्राक्षलाई सप्तऋषिको प्रतीक पनि मानिन्छ । यसलाई धारण गर्नाले धन, प्रसिद्धि र पवित्र ज्ञान प्राप्ति हुन्छ । यो रुद्राक्ष लगाउनाले व्यक्तिमा गरिबी र नराम्रा चाहना आउँदैनन् । सातमुखे रुद्राक्षको दानाको माला लगाइयो भने प्रसवकलको पीडालाई समेत सामान्यीकरण गर्दछ् र सुत्केरी अवस्थाकी महिलालाई छिटो बच्चा जन्माउन सघाउ पुर्याउँछ भन्ने जनविश्वास पनि छ । त्यसैले सातमुखे रुद्राक्षको छुट्टै वैशिष्ट्य समेत छ किनभने यसले कसैलाई सुस्वास्थ्य अभिबृद्धि गर्दछ भने कसैको दीर्घरोगलाई समेत निमिट्यान्न पार्दछ ।
आठ मुखे रुद्राक्ष
आयु एवं सकारात्मक ऊर्जा प्रदान गर्ने आठमुखे रुद्राक्षको स्वामी राहु हो । राहुबाट हुने नकारात्मक असरलाई हटाउन आठमुखे रुद्राक्षको प्रयोग गरिन्छ । यस रुद्राक्षले शनि ग्रहको हानीकारक असरलाई पनि कम गराउँछ । आठमुखे रुद्राक्षलाई अष्टविनायक, अष्टभैरव तथा अष्टयोगिनीको प्रतीकका रुपमा पूजा गरिन्छ । यस रुद्राक्षले व्यक्तित्व र दिमागको बलियोपनलाई बढाउँछ । सुख, प्रसिद्धि र सुस्वास्थ्य प्राप्त गर्न र आत्मविश्वास बढाउन समेत यसको प्रयोग गरिन्छ । आठमुखे रुद्राक्षलाई भगवान् गणेशको प्रतीक पनि मानिन्छ । विघ्नविनाशक भगवान् विघ्नेश्वरको विशेष दृष्टि मुख्य रुपले यो आठमुखे रुद्राक्ष धारण गर्ने व्यक्ति माथि पर्दछ मान्यता छ । यो रुद्राक्ष लगाउनाले खुसियाली प्राप्त भई सम्पूर्ण अप्ठयाराहरु पनि सहज बन्दछन् । अष्टनागहरु (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) आदि हुन् । यस रुद्राक्षको प्रत्येक मुखमा ती नागहरुको बास हुन्छ । यो रुद्राक्ष लगाउनेलाई सर्पले दुःख दिंदैन । यो रुद्राक्ष धारण गर्नाले बुद्धि निर्मल भई मनुष्यलाई पापकर्म गर्नबाट बचाउँछ अर्थात् कलुषरहित बनाउँछ । यस्तो रुद्राक्षको दानालाई मुख्य रुपमा पूजा र कर्मकाण्डमा प्रयोग गरिन्छ । यो धारण गर्नाले दीर्घ जीवन प्राप्त हुन्छ र सत्यवादी बनाउँछ । रोगमुक्त, विवेकी र विनाव्यवधान लक्ष्यमा पुर्याउनु यस रुद्राक्षको विशेषता हो । आठमुखे रुद्राक्ष धारण गर्नाले विवेकी सन्तान जन्मन्छन् । मानिसहरु विशिष्ट क्षमता र पढाइमा तीक्ष्ण हुन्छन् । तिनीहरु पापबाट धेरै टाढा रहन सक्छन् । यसले दिमागलाई एकाग्र बनाउँछ । यो मुख्य रुपमा व्यवसायी समुदायमा उपयोगी हुन्छ । यो रुद्राक्ष लगाउनाले बाजी, घोडा दौड आदिमा विजेता बन्दछन् । वैष्णव चलन अनुसार यसलाई अनन्त आदि नागहरुको राजाको प्रतिनिधि मानिन्छ । प्रत्येक मुखले एउटा ठूलो नागको प्रतिनिधित्व गर्दछ । प्रत्येक मुखमा ती प्रभावशाली नागहरुको शक्ति रहन्छ । अष्टविनायक, अष्टभैरव, अष्टयोगिनी तथा अष्टनागहरुको शक्ति प्राप्त गर्नका निमित्त यस रुद्रक्षको धारण गर्नुपर्दछ । कालसर्प योग भएका जातकले अनिवार्य रूपमा यस रुद्राक्षलाई धारण गर्नुपर्छ ।
नौ मुखे रुद्राक्ष
मृत्युको भयबाट मुक्त गर्ने नौमुखे रुद्राक्षलाई नवदुर्गाको आर्शीवाद प्राप्त गर्न र नवग्रह शान्तिका लागि धारण गरिन्छ । नौमुखे रुद्राक्षको स्वामी केतु ग्रह हो । राहु र शनि जस्तै नकारात्मक असर यस ग्रहमा पनि हुन्छ । यस रुद्राक्षले केतु ग्रहको हानीकारक असरलाई नियन्त्रण गर्दछ । नवग्रहको हानीकारक असरका कारण मानसिक थकान, मानसिक सोचाइमा कमी, असफलता आदि हुने गर्दछ । नौमुखे रुद्राक्ष धारणले मानसिक थकान हटाउँछ र स्मरण शक्ति बढाउँछ । रुद्राक्षको धारण गर्नाले धन, सम्पत्ति र मानसम्मान प्राप्त भई जीवन सुखमय बन्दछ । सपना र महत्वाकाङ्क्षा पुरा गर्न सघाउँछ । यसले शारीरिक शक्ति प्रदान गर्छ र काममा जाँगरिलो बनाउँछ । यस रुद्राक्षले संयुक्त रुपमा भैरव, यम(मृत्युलोकका राजा) र कपिल ऋषिको प्रतीकात्मक स्वरूपलाई जनाउँछ । दुर्गा माताको पूजा गर्दा नवरात्र पर्वमा यसलाई देब्रे हातमा लगाउने मान्यता छ । माता दुर्गा धनकी देवी, उन्नति र पारिवारिक जीवनको खुसी र आनन्दकी दाता हुन् । उनले सबैको इच्छा पुरा गर्ने सामर्थ्य र शक्ति प्रदान गर्दछिन् । जसले यो रुद्राक्ष लगाउँछ त्यसले भैरवको ईश्वरीय शक्ति पनि प्राप्त गर्दछ । तिनीहरुलाई भैरवको शक्तिले लाभान्वित गराउँछ । यो धारण गर्नेलाई देवताका राजा इन्द्र जस्तै सम्मान प्राप्त हन्छ । भगवान् गणेशबाट पनि दया प्राप्त हुन्छ । नौमुखे रुद्राक्ष लगाउने मानिसहरू अकालमृत्युको डरबाट मुक्त हुन्छन् । धारण गर्नेले सबै किसिमको प्रसिद्धि, आदरसँग प्रशंसा प्राप्त गर्दछ । धार्मिक प्रगति सम्बन्धी सफलता प्राप्त हुन्छ । नौमुखे रुद्राक्षको माला लगाउने व्यक्ति रोगबाट मुक्त हुन्छ । उसले शत्रुहरुलाई पराजय गर्नसक्छ, अनि उसलाई अग्निबाट पनि कुनै पनि किसिमको नोक्सानी हुँदैन । यसको माला धारण गर्नाले दुर्घटनाबाट बचाउँछ । यो कमलपित्त रोगका लागि धेरै प्रभावकारी हुन्छ । यसको प्रयोगले सदैव स्वस्थ र सक्रिय जीवन यापन गर्न सकिन्छ ।
दश मुखे रुद्राक्ष
शान्ति एवं सौन्दर्य प्रदान गर्ने दशमुखे रुद्राक्ष धन र मीन राशिका स्वामी वृहस्पतिको प्रतीक हो । यसले महान् रक्षक र मानवीय उद्धारकर्ता भगवान महाविष्णुको प्रतिनिधित्व गर्दछ । यो रुद्राक्ष लगाउनेले सुरक्षाको अनुभूति प्राप्त गर्दछन् । दशमुखे रुद्राक्ष धेरै शक्तिशाली हुन्छ । यसले व्यक्तिलाई जीवनमा खुशी, सफलता र उन्नतिमा रमाउन सहयोग पुर्याउँछ । यसले हानीकारक प्रभावको विरुद्धमा सुरक्षित राख्नुका साथै सुरक्षा र संरक्षाको अनुभूति गराउँछ । यो रुद्राक्ष लगाउनेलाई अशुभ ग्रहका पाँच प्रकारका हानीकारक असर र अन्य हानीकारक व्यवहारबाट छुट्कारा मिल्दछ । यो रुद्राक्षको सानो टुक्रा दुधसँग मिलाएर पिएमा श्वासप्रश्वास सम्बन्धी सबै रोगहरुको निवारण हुन्छ । लामो खोकी र दमको रोगमा यो धेरै उपयोगी हुन्छ । यो लगाउने व्यक्तिलाई हतियारबाट हुने सबै प्रकारका आक्रमणबाट सुरक्षा मिल्छ । यसले धार्मिक क्षेत्रमा ठूलो महत्व राख्दछ । यसले लहरे खोकीको निदानमा पनि सहयोग पुर्याउँछ ।
एघार मुखे रुद्राक्ष
विजय दिलाउने, ज्ञान एवं भक्ति प्रदान गर्ने एघारमुखे रुद्राक्ष भगवान् एकादश रुद्रको प्रतीक हो । यस रुद्राक्षलाई इन्द्रको प्रतिकात्मक रुपमा पनि लिइन्छ । यसमा एकादश रुद्र स्थापित भएको मानिन्छ । यसलाई पूजाका लागि सुरक्षित ठाउँमा राख्नु पर्दछ । बहुमूल्य गरगहना आदिसँग सुरक्षित बाक्सा भित्र राख्नाले सम्पत्ति र यश बढाउँछ । यो लगाउनाले दीर्घायुष्य प्राप्त हुन्छ । यसको सहयोगले मनपरेको मान्छेको माया र प्रेम पनि पाउन सकिन्छ । यसलाई सँधै शिरको माथिल्लो भागमा लगाउनु पर्दछ । यो लगाउनेले एक हजारवटा घोडा त्यागेको र एक हजारवटा गाई दान गरेको पुण्य प्राप्त गर्दछ । यस्ता मानिस भगवान् शिवको कृपापात्र बन्दछ र जन्ममृत्युको चक्रबाट मुक्त हुन्छ अर्थात् उसले यस संसारमा अर्को जन्म लिनु पर्दैन । यसले भाग्यवान् बनाउँछ र दीर्घजीवन प्रदान गर्दछ ।
बाह्र मुखे रुद्राक्ष
यश, प्रतिष्ठा, धनधान्य र सुखसम्मृद्धि प्रदान गर्ने बाह्रमुखे रुद्राक्ष स्वयं भगवान् सूर्यनारायणको प्रतीक मानिन्छ । सूर्यलाई स्वयं भगवान् विष्णु पनि मान्ने चलन छ । यो रुद्राक्ष धारण गर्नाले सूर्यजस्तै शक्ति प्राप्त हुन्छ । सूर्यले संसारभरि उज्यालो छरे झैं धारण गर्ने व्यक्तिको यशले डाँडाकाँढा ढाक्छ् । यो रुद्राक्ष धारण गर्ने व्यक्तिको स्वभाव धार्मिक र आध्यात्मिक बन्छ र उसले धर्मको संरक्षणसमेत गर्दछ । यस रुद्राक्षलाई धारण गर्नाले आत्मा, मन र शरीरमा नैसर्गिक शुद्धता प्राप्त हुन्छ । त्यस्तै यस रुद्राक्षको धारणबाट अनुहारको आभा चम्किन गई व्यक्तित्वमा निखार आउँछ । यस रुद्राक्षलाई शरीरमा धारण गर्नाले भगवान् सूर्य, भगवान् शिव र भगवान् विष्णु प्रसन्न रहन्छन् भन्ने विश्वास छ । यस रुद्राक्षलाई धारण गर्नाले मनुष्यले जीवनको वास्तविक लक्ष हासिल गर्नसक्छ र उसका सम्पूर्ण पापको नाश हुन्छ । यो रुद्राक्ष सिंह लग्न भएका जातकका लागि अति महत्त्वपूर्ण मानिन्छ । यो रुद्राक्ष धारण गर्दा आइतबारको दिन फलदायक हुन्छ । यो रुद्राक्ष धारण गर्दा "ॐ घृणि सुर्याय नम:" भनेर कम्तीमा बाह्र पटक जपेर आइतबारका दिन दाहिने पाखुरामा वा रातो, पहेंलो वा सेतो धागो अथवा सुनको सिक्री बनाएर धारण गर्नुपर्दछ ।
तेह्र मुखे रुद्राक्ष
शुभलाभको दाता मानिएको तेह्रमुखे रुद्राक्षलाई इन्द्र, कामदेव, विश्वदेव र कार्तिकेयको प्रतीक मानिन्छ । भगवान इन्द्र स्वर्गका राजा, कामदेव यौनशक्ति र आकर्षणका देवता, विश्वदेव मुक्त पितृहरूका देवता र कार्तिकेय भगवान् शिव(महादेव)का सुपुत्र हुन् । यो रुद्राक्ष आँफैमा शक्तिशालि रुद्राक्ष हो । यो रुद्राक्ष धारण वा पूजा गर्नाले समस्त राम्रानराम्रा मनोकाङ्क्षा पूर्ण हुन्छ । यो रुद्राक्षले बुद्धिसम्बद्ध दिमागी इन्द्रियहरुलाई सन्तुलनमा राख्दछ । यस रुद्राक्षले सम्पूर्ण कल्मश र पाप हरण गर्दछ । यो रुद्राक्ष धारण गर्नाले शिवपार्वती प्रसन्न हुन्छन् । यो रुद्राक्षले सद्विचार, असल सोच, प्रभावकारी चेतना आदि जागृत गर्दछ र सम्पूर्ण दुःखबाट मुक्ति प्रदान गर्दछ ।
चौध मुखे रुद्राक्ष
डर, त्रास, खराब सपना, आकस्मिक मूर्च्छा, छारेरोग, सङ्कट, मानसिक रोग, तनाव र विस्मरणबाट मुक्त तुल्याउने चौधमुखे रुद्राक्षलाई हनुमान्, कुबेर र भगवान् शिवपार्वती(उमा-महेश्वर)को प्रतीक मानिन्छ । हनुमान् महावीर र बहादुर देवता हुन् भने कुबेर खजाना र धनसम्पत्तिका देवता मानिन्छन् । शिवपार्वती सम्पूर्ण चराचर सृष्टि र देव, दानव, गन्धर्व, यक्ष, मनुष्य आदिका आमाबुबा हुन् । यो रुद्राक्ष शक्तिशाली रुद्राक्ष हो ।
गौरीशङ्कर रुद्राक्ष
गौरीशङ्कर रुद्राक्ष भगवान् शिवपार्वती (गौरीशङ्कर/उमामहेश्वर)को संयुक्त रूप हो । यस रुद्राक्षमा प्रकृति र पुरुषको समन्वय हुन्छ । मानिसको सर्वतोमुखे विकासका लागि यस रुद्राक्षको ठूलो महिमा छ । विद्वान् मनुष्यले आफ्नो लग्नकुण्डलीमा देखिने लग्नाङ्कका आधारमा गौरीशङ्कर रुद्राक्षको छनोट गरी धारण गर्दछन्, जस्तै मेष र बृश्चिक लग्नका लागि तीनमुखे गौरीशङ्कर, बृष र तुला लग्नका निम्ति छमुखे गौरीशङ्कर, मिथुन र कन्या लग्नका निम्ति चारमुखे गौरीशङ्कर, कर्कट लग्नका निम्ति दुईमुखे गौरीशङ्कर, सिंह, धनु र मीन लग्नका निम्ति पाँचमुखे गौरीशङ्कर तथा मकर र कुम्भ लग्नका निम्ति सातमुखे गौरीशङ्कर उपयुक्त मानिन्छ । यो रुद्राक्ष साधारण रुद्राक्षको तुलनामा फरक हुन्छ । यस रुद्राक्षमा एउटा सिंगो रुद्राक्षको दानामा जुम्ल्याहा स्वरूप विद्यमान हुन्छ, अर्थात् प्राकृतिक तवरले नै दुईवटा दाना जोडिएर निर्माण भएको दानालाई नै गौरीशङ्कर रुद्राक्ष भनिन्छ । गौरीशंकर रुद्राक्षको एकापट्टि गौरी(पार्वती) र अर्कोपट्टि शङ्कर(शिव) को रुप हो । गौरीशंकर रुद्राक्षलाई दैनिक रूपमा पुजा गरेमा वा घाँटीमा धारण गरेमा मनुष्यले सधैं सफलता, ज्ञान र बुद्धि बढाउन सक्दछ र धनप्राप्ति हुन्छ । यो रुद्राक्षले पतिपत्नीको कटुतापूर्ण सम्बन्धलाई सुमधुर बनाउँछ । यो रुद्राक्ष धारण गर्नाले आयु लामो हुन्छ र अकाल मृत्युको भय हुँदैन । यो रुद्राक्ष धारण गर्नाले सम्पूर्ण पाप नाश भएर अन्तिममा परमगति प्राप्त हुन्छ ।
गणेश रुद्राक्ष
गणेश रुद्राक्ष भगवान् गणेशको प्रतीक हो । यो रुद्राक्ष पनि गौरीशङ्कर रुद्राक्ष जस्तै साधारण रुद्राक्ष भन्दा फरक किसिमको हुन्छ । गणेश रुद्राक्षको दानामा प्राकृतिक तवरमा नै हात्तीको सुँडजस्तो छुट्टै आकार जोडिएको हुन्छ । एकै ठाउँमा तीनवटा रूद्राक्ष जोडिएका तिम्ल्याहा रूद्राक्षलाई पनि भगवान् गणेशकै प्रतीक मानिन्छ । यो रुद्राक्ष धारण गर्नाले भगवान् गणेशलाई प्रसन्न बनाउन सकिन्छ र व्यक्तिले सोचेका जुनसुकै काममा समेत निर्विघ्नता आउँछ ।
सक्कली रुद्राक्ष पत्ता कसरी लगाउने ?
रुद्राक्षलाई पानीमा हालेर हेर्ने, जुन रुद्राक्ष पानीमा डुब्छ, त्यो रुद्राक्ष सक्कली हो र जुन रुद्राक्ष पानीमा माथिमाथि तर्छ त्यो नक्कली रुद्राक्ष हो जसलाई प्रयोग गर्नु हुन्न । एकमुखे रुद्राक्षलाई पवित्र भावनाले कुनै पनि केराको खम्बामा प्वाल पारेर त्यसभित्र राख्ने भोलि पल्ट केराको खम्बालाई काट्ने काट्दा खम्बा सजिलै काटेमा रुद्राक्ष नक्कली हो, खम्बा काठ जस्तै कडा भएर काट्न सकेन भने सक्कली हो । रुद्राक्षलाई त्यहाँबाट निकाल्दा केही समयपछि त्यो केराको खम्बा (रूख) स्वतः नै ढलेर जानेछ । कुनै पित्तलको भाँडामा एकमुखे रुद्राक्षलाई राखेर, त्यसमाथि १०८ वटा बेलको पत्र लिएर त्यसमा ''ॐ नमः शिवाय'' मन्त्र चन्दनले लेखेर रुद्राक्षको माथि बेलपत्र रातभर राखिदिनु, बिहान तपाईंले उक्त रुद्राक्ष बेलपत्रको माथि आएको पाउनु हुनेछ । रुद्राक्षको दानालाई घाममा ६ घण्टासम्म राख्दा पनि चर्केमा नक्कली, नचर्केमा त्यो असली मानिन्छ ।
· एकमुखे रुद्राक्ष विद्युत् संवाहक हुन्छ । रुद्राक्षलाई दुईतिर तामाका दुई टुक्राका माझमा राख्ने वित्तिकै नाच्न थाल्छ ।
· एकमुखे रुद्राक्षलाई गाईंको काँचो दूधमा रातभर राखिदिए बिहान त्यो दूध या त दहि जस्तै जम्छ, या फाटेको देखिन्छ ।
· एकमुखे रुद्राक्षमा ध्यानपूर्वक हेर्दा आँखा वा त्रिशूलको चित्र कहीँ न कहीँ अवश्य देखा पर्दछ ।
· कुनै पनि रुद्राक्ष सक्कली/ नक्कली पत्ता लगाउनका लागि रुद्राक्षमा अलिकति फेभिकलले पोल्ने सुकेपछि उक्त रुद्राक्षलाई तातोपानीमा हालिदिने फेभिकल सजिलै उप्केमा रुद्राक्ष सक्कली हो फेभिकल उप्केन भने रुद्राक्ष नक्कली हो भने थाहा हुन्छ ।
रुद्राक्ष र स्वास्थ्य
अनुसन्धानबाट सिद्ध भैसकेको छ कि रुद्राक्षबाट मुटुको रोग, रक्तचाप, छालाको रोग, टाउको दुख्ने, मन भ्रान्ति हुने, दिमागी गडबडी, मुर्छा पर्ने, तेज ज्वरो, निमोयिया, क्षयरोग, विषको प्रभाव कम पार्ने आदि रोगमा प्रभावकारी लाभ प्राप्त गर्न सकिन्छ । रुद्राक्षमा क्यान्सर जस्तो असाध्य रोगलाई पनि निको पार्न सक्ने क्षमता भएको रसायनशास्त्री डा. विहिम जमुरले बताएका छन् ।
· उच्च रक्तचापः उच्च रक्तचापलाई नियन्त्रण गर्नका लागि पाँचमुखे रुद्राक्षको २ दाना रातभर एक गिलास पानीमा भिजाएर राख्ने, बिहान उठेर खाली पेटमा शौचक्रिया पछि उक्त पानी पिउने । रुद्राक्ष दाना भिजाउन तामा वा अन्य कुनै धातुको भाँडोको प्रयोगमा ल्याउनु पर्छ ।
· मानसिक रोगः मानसिक रोग, स्मरणशक्ति क्षीण तथा मन मस्तिष्कका कुनै पनि विकारयुक्त रोग भएकाहरूले चारमुखे रुद्राक्षलाई दूधमा हालेर १०/१५ मिनेट उमाली २० दिनसम्म बिहान बेलुका सो दूध पिउने गरेमा आश्चर्यजनक लाभ पाउन सकिन्छ ।
रुद्राक्षसँग जोडिएका केही महत्वपूर्ण कुरा
· कहिले पनि कुनै अर्को व्यक्तिसँग आफ्नो रुद्राक्ष साट्नु हुन्न ।
· रुद्राक्ष सधैँ चाँदी, सुन, तामा वा पञ्चधातुमा राखेर धारण गर्नुपर्छ । यसलाई धागोमा पनि राखेर लगाउन सक्नुहुन्छ तर धागो रातो वा कालो हुनुपर्छ ।
· सबै रुद्राक्षमा समान गुण हुने गर्दछ । कुनै पनि रुद्राक्ष अर्को भन्दा कमजोर हुँदैन ।
· रुद्राक्ष धारणबाट एकाग्रता तथा स्मरण शक्ति मजबुत हुने गर्दछ ।
· रुद्राक्ष न त नकरात्मक ऊर्जा उत्सर्जित गर्दछ, न त यसलाई धारणबाट कुनै खराब प्रभाव व्यक्तिमा पर्दछ ।
· रुद्राक्ष धारण गरेको ४० दिनभित्रै नै व्यक्तित्वमा परिवर्तन देखाउन थाल्नेछ ।
· रुद्राक्ष सधैं सफा राख्नुपर्दछ । यसलाई पूजा कोठामा राख्नु श्रेष्ठ मानिन्छ ।
सर्वश्रेष्ठ रुद्राक्ष र वर्ण विभेद :
शिवपुराणका अनुसार रुद्राक्ष यस लोकमा उत्तम फल दिने तथा सुख-सौभाग्यलाई वृद्धि गर्ने, जुन रुद्राक्ष अमलाको फल बराबर हुन्छ । रुद्राक्षको दाना जति सानो हुने गर्दछ, त्यति त्यति बढि फल दिनेमा पर्दछ । पुराणका अनुसार ठूलो रुद्राक्षका अपेक्षा सानो रुद्राक्ष धेरै फल (परिणाम) दिने हुन्छ । त्यस्तै अमला आकारको रुद्राक्ष सबैभन्दा राम्रो, बयर आकारको मध्यम र चना आकारको रुद्राक्ष निम्नस्तरको मानिन्छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् । रुद्राक्षको वर्ण अनुसार सेतो रुद्राक्षलाई ब्राह्मण, रातोलाई क्षत्रीय, पहेँलोलाई वैश्य र कालो रुद्राक्षलाई शूद्र ठानिन्छ । धार्मिक मतअनुसार यो स्वास्थ्यवर्द्धक वनस्पतिलाई चारै वर्णको स्त्री पुरुषले धारण गर्न सक्छन् ।