एक पटकको कुरा हो
। दुईवटा छिमेकी देशका बीचमा सम्बन्ध चिसिएको थियो । दुबै एकअर्कामाथि आक्रमणको योजना
बनाउँदै थिए । ती दुबै देशका राजा एउटै सन्तका भक्त थिए । उनीहरू आआफ्नो विजयका निमित्त
सन्तको आशीर्वाद लिन बेग्लाबेग्लै समयमा सन्तको आश्रममा पुगे । पहिलो शासकलाई गुरु
महाराजले आशीर्वाद दिंदै भने – तिम्रो विजय सुनिश्चित छ । अर्को शासकलाई तिनै सन्तले
भने – तिम्रो विजय शङ्कास्पद देखिन्छ ।
सन्तकहाँ पछि पुगेको
दोस्रो राजा सन्तले दिएको आशीर्वादको मनन गर्दै निराश नभई, युद्धमा शत्रुपक्षको सामना
कसरी गर्ने भन्ने योजना तुन्दै आफ्नो राज्यमा फर्किएर आयो । उसले हार मानेन, दरबारमा
फर्किने बितिक्कै सेनापतिलाई बोलायो र आदेश दियो – मैले गुरुजीको आशीर्वाद लिएर आएको
छु, हामीले जोडतोडका साथ तैयारी गर्नुपर्छ । सबै सिपाहीहरूले राष्ट्रका निमित्त प्राण
नै आहुति दिनु परे पनि पछि हट्नु हुँदैन ।
उता सुरुमा सन्त
भेट्न गएको शासकमा उल्लास र आनन्द थियो । गुरु महाराजले विजय सुनिश्चित छ भन्ने आशीर्वाद
दिनु भएकाले उसले चिन्तित हुनु पर्ने कुनै परिस्थिति नै थिएन । विजय निश्चित भएकाले
उसको सम्पूर्ण समय आमोद–प्रमोदमा बित्न थाल्यो । युद्धको पूर्वसन्ध्यासम्म पनि उसले
आफ्नो सेनापतिलाई भेट्न आवश्यक ठानेन । उसका सैनिकहरू पनि मोजमस्तीमा मग्न थिए । जुन
शासकले विजयश्रीको आशीर्वाद पाएको थियो, उसलाई युद्धप्रति कुनै वास्ता नै थिएन, उसका
सिपाहीहरूले युद्धको अभ्याससम्म पनि गरेनन् । तर जसको विजयका बारेमा सन्तले शङ्का व्यक्त
गरेका थिए, उसले र उसका सिपाहीहरूले रातदिन मिहिनेत गरी युद्धको अभ्यास गरे । उनीहरू
युद्धका ससाना एकाइलाई पनि राम्ररी बुझ्नका लागि मिहिनेत गर्दथे । परिणामतः तिनले युद्धकलाका
सबै पक्षमा आफूलाई योग्य र दक्ष तुल्याए ।
निर्धारित समयमा
युद्ध प्रारम्भ भयो । पछिबाट सन्तको आश्रममा पुग्ने राजाका सिपाहीहरूले युद्धमा आफूले
गरेको अभ्यास र युद्धकलालाई प्रयोग गरे अनि युद्ध सुरु भएको केही समय बित्न नपाउँदै
शत्रुपक्षका सेनालाई परास्त तुल्याइदिए । सुरुमा सन्तलाई भेटेर विजयप्रति ढुक्क भएको
शासक छक्क पर्यो, रिसले तिलमिलायो अनि हारको झ्वाँकमा तुरुन्त गुरु महाराज कहाँ पुग्यो
र झर्कोफर्को गर्दै भन्यो – गुरुदेव, अब तपाईंको वाणीमा कुनै शक्ति बाँकी रहेन, तपाईंको
भविष्यवाणी पनि झूठ्ठा हुने रहेछ । पराजित राजाका कुरा सुनेर सन्त मुसुक्क हाँसे र
शान्त मुद्रामा भन्न थाले – बाबु, तिमीले रिसाउनु र अत्तालिनु निरर्थक छ, मैले भविष्यवाणी
गर्दा तिम्रो र उसको सेनाको तात्कालिक आकलन गरेर बोलेको थिएँ । तिम्रो विजय र उसको
हार निश्चित थियो । तर विजयको त्यो अवस्थालाई कायम राख्न मिहिनेत, परिश्रम र पुरुषार्थको
पनि आवश्यकता हुन्थ्यो, तिमी र तिम्रा सिपाहीमा त्यसको अभाव देखियो । अतः भाग्यले पनि सदैव
कर्मशील र पुरुषार्थी मनुष्यलाई मात्र साथ दिन्छ । मैले तिम्रो शत्रुलाई तेरो विजय
शङ्कास्पद छ भनेको थिएँ, त्यस्तो सुनेर पनि उसले अभ्यास र परिश्रमलाई निरन्तरता दियो,
त्यसैले उसले यो युद्धलाई सजिलै जित्यो, यद्यपि उसकै पराजय निश्चित थियो । सन्तको उत्तर
सुनेर पराजित राजा लज्जित भयो र उनीसँग क्षमा माग्दै फर्कियो । ऊ अब हुने अर्को युद्धमा
विजय प्राप्त गर्न केकस्ता कमी कमजोरीलाई सुधार्नु पर्ने रहेछ भन्ने सोच्दै दरबारमा
आइपुग्यो ।
त्यसैले तपार्इंको भाग्य र भविष्य तपार्इंकाे मुट्ठीमा छ ।
त्यसैले तपार्इंको भाग्य र भविष्य तपार्इंकाे मुट्ठीमा छ ।