खुप उच्चा कुल आर्यवंशि हुनगै सर्त्कर्ममा मन्दिया,
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्त आचार्यका बाजे श्रीकृष्ण आचार्य तनहुँको चुँदी रम्घाका प्रतिष्ठित पण्डित तथा धनीमानी व्यक्तित्व थिए । श्रीकृष्णका ६ भाइ छोरामध्ये जेठा छोराको नाम धनञ्जय थियो । उनी सरकारी अड्डामा खरिदार पदमा कार्यरत थिए । धनञ्जयकी पत्नी धर्मावतीदेवीका कोखमा एउटा छोरा र एउटी छोरीको जन्म भएको थियो । छोराको नाम थियो - देवीभक्त आचार्य र छोरीको नाउँ भैरवी राखियो । यी दाजुबहिनीको जन्म चुँदी रम्घामा भएको थियो ।
मोतीरामले भानुभक्तका भतिजा रामदत्त आचार्यसँग सोधेर भानुभक्तको जन्मथलो तनहुँको चुँदीबेँसीको रम्घा हो भनी लेखे । तर केहीले धनञ्जयको जागिर भएका ठाउँमा नै छोराछोरी जन्मेको बेहोरा पनि लेखेको पाइन्छ । भानुभक्त आचार्यका पनाति मुक्तिनाथ आचार्यलगायत कसैकसैले चुँदीबेँसी र रम्घा गाउँबीचको धर्मशाल भन्ने ठाउँको शिखर कटेरीमा भानुभक्तको जन्म भएको थियो भनेका छन् । अनि कसैकसैले चुँदी रम्घा डाँडाको पश्चिममा पर्ने तामाकोटमा भानुभक्तको जन्म भएको पनि लेखेका छन् । तर चुँदी रम्घामा नै भानुको जन्म भएको प्रसङ्ग बहुप्रचलित देखिन्छ ।
धनञ्जयको उमेर चालीस वर्षको हुँदा बल्ल उनलाई पुत्रलाभ भयो भनिन्छ । त्यसो हो भने २८ वर्षसम्म धनञ्जयका सन्तान जन्मेका थिएनन् । त्यस बेलाको प्रचलनअनुसार अठारबीस वर्षभत्र नै सन्तानको मुख हेर्न सकिने अवस्था थियो । तर यथोचित समयमा सन्तान नजन्मेपछि धनञ्जयले सन्तान प्राप्तिका लागि सूर्यको व्रत लिन थाले; अनि सूर्यको व्रत लिएको बाह्र वर्षपछि ४० वर्षको उमेरमा बल्ल उनले छोराको मुख देख्न पाए । तिनै सन्तान हुन्- देवीभक्त आचार्य । न्वारानमा देवीभक्त भनिएका बालक नै सूर्यको भक्तिभावले जन्मिएका हुँदा उनको प्रचलित नाम भानुभक्त रहन गयो । सूर्य अर्थात् भानुको व्रत लिएर छोरा पाएकाले छोरो यशस्वी होस् भन्ने आशा र अपेक्षा धनञ्जयको थियो । त्यसैले आफ्नो छोराको चिनाको नाउँ देवीभक्त भए तापनि उनले बोलाउने नाउँचाहिँ भानुभक्त नै राखिदिए । संस्कृत भाषामा भानुको अर्थ सूर्य, किरण वा प्रकाश पनि हो ।
भानुभक्तको जन्मबारे विभिन्न तिथिमितिहरू चर्चामा आए । भानुभक्तका रचना खोजी छपाएपछि ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’ १९४८ सालमा मोतीराम भट्टले भानुभक्तको जन्म १८६९ सालमा भयो भनी लेखे । तर भानुभक्तकी नातिनी विष्णुमाया (रमानाथकी छोरी)ले सुब्बा रङ्गनाथ शर्मालाई ‘भानुभक्त मणिमाला’मा भूमिका लेखाई १८७१ साल असार २९ गते आइतबार भानुभक्त जन्मेको बेहोरा पेस गरिन् । ‘भानुभक्त मणिमाला’ प्रकाशित भएपछि भानुभक्तको जन्ममितिको बेहोराले विवाद उब्जाउन थाल्यो । वास्तवमा मोतीरामले १९४७ सालमा भानुभक्तका भतिजा रामदत्तसँग सोधपुछ गरी भानुभक्तको जन्ममिति लेखेका थिए । रामदत्तबाट पाएको सूचनाकै आडमा उनले भानुभक्तको नालीबेली लेखेका थिए । यस प्रसङ्गलाई मोतीराम भट्टले ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’ (१९४८)को विज्ञप्ति पत्रम्’ मा यसरी लेखेका छन् -
“कवि भानुभक्ताचार्यका भतिजा रामदत्त कन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो । जस्का कृपाले यो पुस्तकको जन्म भयो ।”
भानुभक्त जन्मेको तिथिमितिबारे भानुभक्तका भतिजा रामदत्त आचार्यले मोतीरामलाई अन्दाजैमा लेखाएका थिएनन् भन्ने बुझिन्छ । किनभने भानुभक्तले चालीस वर्षको उमेरमा कुमारीचोकबाट श्री ३ कम्यान्डर इन् चीफलाई १९०९ सालमा कवितामा बिन्तीपत्र लेखेका थिए :-
चालिस् वर्षभञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको।
भानुभक्तको जन्म वर्ष १८६९ साल हो भन्ने कुरा पनि यस कविताले प्रमाणित गरेको छ । किनभने १८६९ मा ४० जोड्दा १९०९ साल नै हुन आउँछ ।
भानुभक्तकी नातिनी विष्णुमायाद्वारा प्रस्तुत भएको भानुभक्तको जन्मकुण्डली सक्कली थिएन भन्ने बेहोरा भानुभक्तकै उपर्युक्त कविताबाट र हिजोआज प्रचलनमा आएका सफ्टवेयरमा राख्दासमेत नमिल्ने भएकाले प्रस्ट हुन्छ । १९४७ सालमा रामदत्तसँग भेट भएपछि नै मोतीरामले कवि भानुभक्तको जीवनचरित्र लेख्ने मुख्य सामग्री पाए । यदि रामदत्तले चासो नलिएको भए भानुभक्तको अहिलेको स्वरूप मोतीरामका कलममार्फत यसरी प्रकट भएर आउँथ्यो भन्न पनि सकिँदैन । त्यसैले रामदत्तले दिएको भानुभक्तको जन्ममितिलाई पनि अनाहक गलत पार्नुको तात्पर्य नै थिएन भनिन्छ ।
मोतीरामले भानुभक्तको जीवनी भतिजा रामदत्त आचार्यलाई आधार बनाएर नै लेखे । यति हुँदाहुँदै भानुभक्त कुमारीचोकमा रहँदा उनले ‘चालिस् वर्षभञा म’ भनेरै कविता लेखेको बेहोरालाई समेत सर्लक्कै पन्साएर उनी जन्मेको अर्को मिति प्रस्तुत हुनुको कारण के थियो ? साथै मोतीरामलाई गलत पार्न केही व्यक्तिहरू एकोहोरो धुरिनुको तात्पर्य के थियो ? भानुभक्त जन्मेको १२७ वर्षपछि भानुभक्तले नै आफ्नो जन्मकुण्डलीबारे कविता रचेका थिए भनेर उनकी नातिनीमार्फत यो कविता कसरी आयो ? जे होस्; भानुभक्तभन्दा ६७ वर्षपछि जन्मेकी उनकी नातिनी विष्णुमायाको कृति ‘भानुभक्त मणिमाला’बाट जादू भएझैं भानुभक्तको जन्मकुण्डलीको वर्णन गरिएको चाहिँ अढाइ श्लोकको प्रस्तुति यस्तो छ :-
श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन ।
अनी आषाड् मास्को दिन पनि उनन्तिस् गइकन ।।
घटी एक्तिस् माँहा विघटि पनि वत्तिस् परिकन ।
नवांशक् कंठीरव् धनुष परि जो वेस लगन ।।१।।
मिथुन्मा सूर्यै छन् निवनिलय मीन्का विधु अनी ।
महीसुत् बुध् राहू शशि सदनकार् इ तिन पनी ।।
गुरू भाग्यस्थान्का रविभवनमा गैकन वस्या ।
भृगूजी ता आफ्नै सदन वृषमा गैकन पस्या ।।२।।
मकर्मा सौरी छन् ध्वजसहितका स्वगृहि यँहा ।
वतायाका क्रम्ले ग्रह हरु वस्या कुण्डलि मँहा ।।
आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भानुभक्तको जन्म भएको थियो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागे पछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए । दस बर्षको उमेरमा भानुभक्तको पहिलो विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिना पछि चन्द्रकान्ताको मृत्यु भयो । भानुभक्तको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवी संग भयो । जीवनको अन्तिम घडीमा काशीमा देह त्याग गर्ने बाजेको इच्छा अनुसार भानुभक्त बाजे श्रीकृष्णका साथ काशी गएका थिए । वि.सं. १८८९ तिर बाजे श्रीकृष्णले काशीमा देह त्याग गरेपछि भानुभक्त आफ्नो गाउँ फर्के ।
काशीबाट आफ्नो गाउँ फर्कंदा यिनी १९ वर्षका लक्का जवान भई सकेका थिए । काशीवासको समयमा उनले त्यहाँ शास्त्रीय अध्ययनसमेत गरेका थिए । साथै काशीमा विद्वानहरुका संगतले यिनमा गजबको कवित्व शक्ति जागृत भई सकेको थियो । समय पाउना साथ प्रसङ्ग अनुसार रमाइला फुटकर रचनाहरू गरी हाल्दथे ।
एक पटक भानुभक्त ससुराली मानुङ्ग तर्फ जाँदा ज्यादै तिर्खा लागेकोले कुवाको पानी खाए । संयोगवस कुवा बनाउने घाँसीसंग यिनको भेट त्यही भयो (घाँसी – (१) प्रा.डा. व्रतराज आचार्यले ‘भानु दर्शन’ वर्ष ३२ अङ्क २ पूर्णाङ्क ८, २०६३ मा घाँसीको नाम चागुनारायण पन्थ लेखेका छन् । (२) नाट्यसम्राट बालकृष्ण समले आफ्नो भक्त भानुभक्त (नाटक) मा घाँसीलाई ठूले मगर भनि चिनाएका छन् । आदिकवि भानुभक्तको समयका घाँसी बाहुन थिए कि मगर खोजको विषय छ ।) । घाँसीले घाँस दाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिए । घाँसीको कुराले भानुभक्तको मन छोयो । अनि उनले कविता लेखे –
भर्जन्म घाँसतिर मन्–दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे छन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दिएछ अर्ती ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।
यद्यपि समयकाल परिस्थिति अनुसार यो कविताको तालमेल नभएको भनि धेरै विद्वानहरुबाट विवादको घेरामा राखिएको छ । तथापि मोतीराम भट्टका अनुसार यो कविता वि.सं. १८९१ मा लेखिएको हो ।
भानुभक्तको अर्को आलोच्य कविता हो –
गजाधर सोतीकी घरबुढि अलच्छिनकि रहिछन् ।
नरक् जानालाई सबसित बिदाबादि भइछन् ।।
पुग्यौँ साँझमा तिन्का घर पिँडिमहाँ बास गरियो ।
निकालिन साँभैmमा अलिक पर गुज्रान गरियो ।।
यस कविता सन्दर्भमा प्रा. डा. व्रतराज आचार्य(१) लेख्छन् – “भानुभक्त वि.सं. १९०१ मामा यज्ञलालको भदाहा सालो कलाधरलाई गायत्रीमन्त्र सुनाउन भोर्लेटार जाँदा बीच बाटामा पर्ने तारुका गाउँमा गजाघर सोतीका घरमा बास माग्न पुगेका थिए तर सोतीका घरबूढीले उनलाई बास दिएनन् । उनले अलि पर गई अरुका घरमा रात गुजार्नु प¥यो । बाबु बाजेको पालादेखि चिनजान भएको र एक मानो खानलाउन पुग्ने परिवारकी नारीले साँझमा आएको पाहुनालाई बास नदिएको घट्ना गृहस्थी धर्मको विपरित थियो । फलतः भानुभक्तले गजाधर सोतीकी “घरबूढी” लाई “अलच्छिन्की” भनि गाली गर्दै कविता समेत रचना गरे ।
बाबु धनञ्जय जागिर छँदै परलोक भएकाले पिताको जागिरको हरहिसाब भानुभक्तले कुमारीचोकमा बुझाउन नजान्दा यिनी पाँच महिना कुमारीचोकको निगरानीमा थुनिए । थुनामा बस्दा यिनले रामायणका अयोध्याकाण्ड, आरण्यक काण्ड, किस्किन्धा काण्ड र सुदर काण्ड रचना गर्ने अवसर पाए । पछि कुमारी चोकबाट यिनलाई छुटकारा मिल्यो । तर थुनामा बस्दा त्याहाँको वातावरण र व्यवस्थापन सम्बन्धमा रमाइलो व्यङ्ग्यात्मक कविता लेखेका छन् –
रोज रोज दर्शन पाउँछु चरणको ताप छैन मनमा कछू ।
रात्भर नाच पनि हेर्छु खर्च नगरी ठूला चइन्मा म छू ।।
लाङखुट्टे उपियाँ उडूस सँगि छन् यिनकै लहरमा बसी ।
लाङखुट्टेहरु गाउँछन् ति उपियाँ नाच्छन् म हेर्छू बसी ।।
वि.सं. १९१९ तिर मित्र तारापतिको घरमा बास बस्दा राति तारापतिको पत्नी र बुहारीको झगडाले रातभर सुत्न नसकेका भानुभक्तले त्यही रात “बधूशिक्षा” नामक काव्य तयार गरे । यो “बधूशिक्षा” पनि आलोचनाको बडेमाको घेरा भित्र छ –
प्रातः कालमहाँ उठेर पहिले ध्यान ईश्वरकै गरून ।
सो ईश्वर पति हुन भनेर पछि त्यो भक्ती पतीमा धरून ।।
भक्तीले पति ईश्वरै बुझि पतीका पाऊतल्मा परून ।
पूजा हो पतिको भनेर घरका काममा अगाडी सरून ।।
हाँस्नू छैन कदापि नारिहरूले वेश्यै हुन्या हाँस्तछन् ।
वेश्या लौ नहउन तथापि घरका काम ता सभै नास्तछन् ।।
एक्लै हाँस्न हुँदैन कोहि नभयी अर्को संगी भो जसै ।
हाँस्तैमा दिन जान्छ यहि रितले काम वित्तछन् सब तसै ।।
यसरी आदिकवि भानुभक्तले केही फुटकर कविता प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र रामायण महाकाव्यको रचना गरे र वि.सं. १९२५ आश्विन शुक्ल पञ्चमीका दिन ५४ बर्षको उमेरमा इहलीला त्याग गरे । भानुभक्तले आध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा, साहित्यमा पु-याएको योगदानका कारण उहाँलाई नेपाली साहित्यका आदिकविका रुपमा मान्ने गरिएको छ । आचार्यलाई राणाकालीन सङ्कटपूर्ण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने मार्गदर्शकका रुपमा समेत लिइन्छ । नेपाली भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम जस्ता विषयलाई लेखेर नेपाली समाजलाई महत्वपूर्ण योगदान गरेका कारण उहाँलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको हो ।
१. प्रा.डा. व्रतराज आचार्य – “भानुभक्तको सङ्क्षिप्त जीवनी” भानु दर्शन (भानुका लघुकृति विशेषाङ्क) वर्ष ३२ अङ्क २ पूर्णाङ्क ८, वि.सं. २०६३ भानु प्रतिष्ठान अनामनगर काठमाण्डौं, पृष्ट – ८५ – ९२
२. बालचन्द्र शर्मा – “भानुभक्त र उनको युग” – साझा समालोचना साझा प्रकाशन ललितपुर २०५८ : पृष्ट – ९१ – ११३
३. बामदेव पहाडी – “नेपाली साहित्यका आदिकवि : बसन्त शर्मा” – विवेक र मन्थन, राजेन्द्रकुमार श्रेष्ठ भैरहवा २०३७ : पृष्ट – २१ – ४८
४. हृदयचन्द्रसिंह प्रधान – “नेपाली साहित्यको गोरेटो” – हृदयचन्द्रका केही रचनाहरु, हृदयचन्द्रसिंह स्मृति प्रतिष्ठान काठमाण्डौ नेपाल – २०६८ : पृष्ट – ४९ – ५२
Comments
Post a Comment