धनु राशिको प्रतीक चिह्न धनुषको ताँदो चढाउँदै गरेको पुरुष आकृति हो र यस राशिको स्वामी ग्रह बृहस्पति हो । यस राशिका व्यक्तिहरु खुल्ला विचार भएका र जीवनमूल्यलाई जान्न सक्ने हुन्छन् । यिनीहरु अरुका बारेमा जानकारी लिने र तिनका असल स्वभावलाई अनुकरण गर्नसक्ने हुन्छन् । यिनीहरुलाई रमणीयता मनपर्छ, निडर र आत्मविश्वासी हुन्छन् अनि अत्यधिक महत्त्वाकांक्षी र स्पष्टवादी हुन्छन् । बढी स्पष्टवादी हुने भएकाले यदाकदा यिनीहरुको क्रियाकलापले अर्काको भावनामाथि ठेस लाग्न सक्छ । यिनीहरु सत्यतथ्यका पक्षपाती हुन्छन् र जुनसुकै कुरालाई तथ्यको कसौटीमा तौलने प्रयास गर्दछन् । त्यसैले यिनीहरुका मित्रको संख्या थोरै हुन्छ । युवावस्थामा यिनीहरु धर्मकर्म, रीतिस्थिति र संस्कारभन्दा टाढा रहन्छन् । प्रायशः यस राशिका पुरुष जातक मध्यम कदकाठीका हुन्छन् । कैलो कपाल र ठूलठूला आँखा हुन्छ, सहनशीलता र धैर्यताको कमी हुन्छ । यिनीहरु आफ्नो पेसा, व्यवसाय, पढाइ आदिका कारण प्रेमजीवन र घरायसी जीवनलाई तिरस्कार गर्ने गर्दछन्, त्यसैले यिनीहरुको घरसंसारको सिर्जना प्रायशः ढिलो भएको देखिन्छ । यद्यपि यिनीहरुको दाम्पत्य सम्बन्धमा कुनै किसिमको त्रुटि वा गुनासो पाइँदैन, आफ्ना कर्तव्य र जिम्मेबारीलाई राम्ररी पालना गर्दछन् । यस राशिमा जन्मने स्त्रीहरु सामान्यतया लामो खुट्टा भएकी, आफ्ना कुरा राख्नेभन्दा पनि अर्काका कुरा राम्ररी सुन्नसक्ने, खुल्ला र इमानदार व्यवहार भएकी, एउटी गृहिणीमा मात्र सीमित रहन नसक्ने, भौतिक सुखको महत्तालाई बुझ्नसक्ने, सामान्यतया सुखी र सम्पन्न जीवन बिताउने हुन्छन् । यिनीहरुमा निर्णय गर्न सक्ने क्षमताको अभाव हुन्छ । कुनै पनि कुरामा दोधारमा रही रहने स्वभाव हुने गर्दछ, त्यसैले कुनै निर्णय लिन ढिलाइ हुन्छ र कतिपय अवसर गुमाउँदछन् पनि । यिनीहरु अरुले गरेको काममा हस्तक्षेप गर्न रुचाउँदैनन् र आफू पनि स्वतन्त्र नै रहन चाहन्छन् । धनु राशिमा जन्म हुने जातकको राशिस्वामी देवगुरु बृहस्पति, द्विस्वभाव संज्ञा, पित्त प्रकृति, क्षेत्रीय वर्ण, पुष्ट (भरिलो) देह, सुन्दर स्वरुप, मृदु (कोमल) वचन, पूर्वदिशा र दयालु स्वभाव हुने गर्दछ । धनु राशिमा तीन वटा नक्षत्र (मूल, पूर्वाषाढा र उत्तराषाढा) र नौ वटा अक्षर हुन्छन् – ये, यो, भ, भी, भू, ध, फा, ढ, भे । नक्षत्रअनुसार धनु राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । जुन यस प्रकार छ :–
मूल नक्षत्रको जन्मफल
मूल नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – ये, यो, भा, भी । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको मूल नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू ज्ञान र शिक्षाका मामिलामा सचेत हुन्छन् साथै व्यवसायिक र सीपमूलक शिक्षाप्रति आकर्षण हुन्छ । खेलकुदमा पनि गहिरो रूचि देखिन्छ । विस्फोटक र बारुदी खालका भयानक र डरलाग्दा हातहतियारप्रति बढी आकर्षित हुन्छन् । शुभचिन्तक र मित्रको सङ्ख्या प्रशस्त हुन्छ । आफ्नो व्यवसायिक जीवनलाई फेरिरहन मन गर्दछन् । इमानदार हुन्छन् । ईश्वरप्रति आस्था हुन्छ । बुद्धिमान् हुन्छन् । न्यायप्रति विश्वास राख्ने गर्छन् । मानिसहरूसँग सुमधुर सम्बन्ध राख्ने गर्छन् र प्रकृति मिलनसार हुन्छ । स्वास्थ्यका मामिलामा भाग्यशाली मानिन्छन्, सामान्यतया स्वस्थ रहन्छन् । मजबुत र दृढ विचारधाराका मालिक हुन्छन् । सामाजिक क्रियाकलापमा उल्लेखनीय सहभागिता जनाउँछन्, त्यसैले आफ्ना क्रियाकलाप र सद्गुणका माध्यमबाट प्रसिद्धि आर्जन गर्छन् । मित्रको सङ्ख्या पनि अत्यधिक हुन्छ । पठनपाठनमा तीक्ष्ण हुन्छन् र दर्शन शास्त्रमा विशेष रुचि हुन्छ । विद्वान् व्यक्तिका रूपमा यिनीहरूको गणना हुन्छ । आदर्शवादी र सिद्धान्तका मार्गचित्रलाई पछ्याउने बानी हुन्छ । धन र मानमध्ये कुनै एउटालाई रोज्नु पर्यो भने मानसम्मानलाई रोज्दछन् । बन्दव्यापार÷व्यवसाय र जागिर÷नोकरी दुबै पक्षमा सफल हुन्छन्, तर व्यवसायका तुलनामा जागिर÷नोकरी गर्न मन पर्छ । जहाँ जुन अवस्थामा भए पनि आफ्नो क्षेत्रमा सर्वोच्च स्थानमा पुग्छन् । शारीरिक श्रमका तुलनामा बुद्धिको प्रयोग गर्नु यिनीहरूको विशेषता हो । अध्यात्मप्रति झुकाव हुने भएकाले धनार्जनमा मात्र केन्द्रित हुँदैनन् । तृष्णा, लालसा र लोभलालचले प्रवेश गर्दैन । पीडित मानिसहरूको सहायताका निमित्त विभिन्न कार्यक्रममा सहभागी हुन्छन् । समाजमा अत्यधिक सम्मान हुन्छ र प्रसिद्ध हुन्छन् । सांसारिक जीवन खुसीले भरपूर हुन्छ । भौतिक सुखसुविधाले युक्त जीवन बाँच्ने मनुष्य हुन्छन् । समाजका उच्च वर्गको व्यक्तिहरूसित मित्रता हुने गर्दछ । ईश्वरीय सत्तामा हृदयदेखि नै विश्वास गर्छन् । यस नक्षत्रका जातकले ईष्र्यालु प्रवृत्ति, छलछाम, ठगी र गैरकानुनी मार्गलाई त्याग्नुपर्छ, नत्र यिनीहरूको जीवन अत्यन्त कष्टकर भएको देखिन्छ, किनकि यो नक्षत्र गण्डमूल नक्षत्र हो, यस नक्षत्रमा बालबालिकाको जन्म भयो भने जन्मकालको २७ दिनभित्र गण्डमूल शान्ति गर्ने प्रचलन छ, बाल्यावस्थामा गण्डमूल शान्ति गरिएको छैन भने जीवनकालमा एकपल्ट गण्डमूल शान्ति गर्नु श्रेयस्कर हुन्छ । निऋति यस नक्षत्रका अधिदेवता हुन् र स्वामी ग्रह केतु हो। मूल नक्षत्रका जातकले राक्षसहरू, नीच वा क्षुद्र देवताको व्रत र पूजा गर्दा फलिफाप हुन्छ। सालको रुखलाई मूल नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले सालको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा सालको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ ।
मूल नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘ये’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ ०७ ०८ ०९ १० ११ १२ १९ २० २९ ३० ३६ ३७ ३८ ३९ ४० ४१ ४२ ५० ५१ ५२ ५३ ५४ ५५ ५६ ५७ ५८ ६३ ६४ ६५ ६६ ६९ ७० ७१ ७२ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘यो’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ ०५ ०६ ०७ ०८ ०९ १० ११ १९ २१ २२ २९ ३५ ३६ ३७ ३८ ३९ ४० ४८ ४९ ५० ५१ ५२ ५३ ५४ ५५ ६२ ६३ ६४ ६५ ६९ ७० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘भ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०५ ०६ ०७ ०८ ०९ १९ २० ३३ ३४ ३५ ३६ ३७ ३८ ४६ ४७ ४८ ४९ ५० ५१ ५२ ५३ ६० ६१ ६२ ६३ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘भी’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०५ ०६ ०७ ०८ १९ ३२ ३३ ३४ ३५ ३६ ३७ ४५ ४६ ४७ ४८ ४९ ५० ५१ ५२ ५६ ५९ ६० ६१ ६२ ६८ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
पूर्वाषाढा नक्षत्रको जन्मफल
पूर्वाषाढा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – भू, ध, फा, ढ । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पूर्वाषाढा नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू हँसमुख र ख्यालठट्टा मन पराउने व्यक्ति हुन्छन् । आफ्नो परिवार र टोलछिमेकमा समेत सम्मान र प्रतिष्ठा प्राप्त गर्न सक्छन् । आफ्नो मित्र र परिवारजनबाट प्रशस्त सहयोग प्राप्त गर्दछन्, साथै कसैको सहयोग गर्नु पर्यो भने यिनीहरू आँफू पनि पछि पर्दैनन् । इमानदार हुन्छन् र हृदय विशाल एवं उदार हुन्छ, सबैप्रति प्रेमभाव हुन्छ । व्यक्तित्वमा रहेको यस गुणका कारण समाजमा अत्यधिक आदर र सम्मान प्राप्त गर्दछन् । आशावादी हुन्छन्, जीवनमा कठिनभन्दा कठिन परिस्थिति आउँदा पनि आशाको त्यान्द्रो समातेर बस्ने गर्दछन् तथा सधैं प्रसन्न र खुसी रहने प्रयास गर्छन् । स्वभावले विनम्र हुन्छन् एवं विभिन्न कला र अभिनयमा रुचि राख्ने गर्छन् । साहित्यको रुचि र सोख पनि हुन्छ । कुनै विषयको असल जानकार हुन्छन् । सत्यता र आचरणमा रहन्छन् तथा शुद्ध हृदयका व्यक्ति हुन्छन् । यिनलाई आदर्श मित्र माान्ने गरिन्छ किनभने जोसँग मित्रता गर्छन् उसँग प्राणान्तसम्म मित्रताको पालना गर्दछन्, भनेको कुरा पूरा गर्छन् । आजीविकाका दृष्टिकोणले जुन क्षेत्रमा सम्बन्धित हुन पुग्छन्, त्यस स्थानको उच्च पदमा पुग्न समर्थ हुन्छन् । साथमा धनको कमी हुँदैन र सुखसुविधाले परिपूर्ण आरामदायक जीवनको आनन्द उपभोग गर्छन् । अध्यात्मप्रति आकर्षित हुन्छन्, तर अध्यात्मको गहिराइमा पुग्न सक्दैनन्, किनभने सुखको कामना गर्छन् र सांसारिकतामा रमाउने गर्छन् । निराशालाई आफूमाथि हावी हुन नदिने स्वभाव भएकाले यिनलाई ओजस्वी व्यक्ति मान्ने गरिन्छ । यस नक्षत्रका अधिदेवता आपः (जलका देवता) हुन्। यस नक्षत्रको स्वामी ग्रह शुक्र हो भने यस नक्षत्रका जातकको राशीस्वामी पनि शुक्र ग्रह नै हो। पूर्वाषाढा नक्षत्र परेको शुभमुहूर्तमा दही र सातुले भरिएको भाँडो दान गर्ने प्रचलन छ। पूर्वाषाढामा जन्मिएका जातकले पानी(जल)का देवता निऋतिको व्रतपूजन गर्दा राम्रो मानिन्छ। अशोकको रुखलाई पूर्वाषाढा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले अशोकको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा अशोकको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ ।
पूर्वाषाढा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘भू’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ ०५ ०६ ०७ १४ १५ १६ १७ २४ २५ ३१ ३२ ३३ ३४ ३५ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५० ५८ ५९ ६० ६१ ६५ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘ध’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०४ ०५ १५ १६ २९ ३० ३१ ३२ ३३ ३४ ४२ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५६ ५७ ५८ ५९ ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘फ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ १४ २७ २८ २९ ३० ३१ ३२ ४० ४१ ४२ ४३ ४४ ४५ ४६ ४७ ५१ ५४ ५५ ५६ ५७ ६३ ६४ ७६ ७७ ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
सामान्यतया ‘ढ’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ २५ २६ २७ २८ २९ ३० ३८ ३९ ४० ४१ ४२ ४३ ४४ ४५ ४९ ५० ५१ ५२ ५३ ५४ ५५ ६१ ६२ ६३ ६४ ७४ ७५ ७६ ७७ ७८ ७९ ८० वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
उत्तराषाढा नक्षत्रको जन्मफल
उत्तराषाढा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – भे, भो, ज, जी । तर यी चार वटा अक्षरमध्ये सुरुको अक्षर भे बाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने मा तपाईंको धनु राशि हुने गर्दछ, त्यसैले उत्तराषाढा नक्षत्र र धनु राशिमा नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :–
यिनीहरू सुन्दर, आकर्षक, तीक्ष्ण मस्तिष्कवान्, लाज मान्ने तथा उच्च व्यवसाययुक्त व्यक्ति हुन्छन्, साथै उत्तम व्यवहार भएको एवं किसिमकिसिमका खूबी र कलाले भरिपूर्ण व्यक्तित्व हुन्छ । स्वाभिमानी त हुन्छन् नै, साथै निर्णय लिन सक्ने उच्च क्षमता पनि हुन्छ । आफ्ना विरोधीहरूलाई सजिलै परास्त तुल्याउन सक्दछन् । धार्मिक र परोपकारी स्वभावका हुन्छन् । परिवारका सदस्यहरू अझ सन्तानले असाध्यै मन पराउँछन् । पारिवारिक जीवन सुखी र शान्तिपूर्ण हुन्छ । रौसे स्वभावका व्यक्ति हुन्छन्, हाँसखेल र मनोरञ्जन औधी मन पर्छ । सभ्य र संस्कारी हुन्छन्, प्रचलित परम्परा र नियमको पालना गर्छन् एवं विधि र कानुनप्रति पूर्ण निष्ठा हुन्छ । आशावादी हुन्छन्, जस्तोसुकै परिस्थितिमा हार मान्दैनन् र अगाडि आउने चुनौतीको हिम्मतका साथमा सामना गर्छन् । शिक्षा र पठनपाठनका दृष्टिकोणले विचार गर्दा चलाख हुन्छन्, शिक्षा र अध्ययनमा गहिरो रुचि हुन्छ । कतिपय विषयमा गहिरो ज्ञान राख्ने गर्छन् र विषय विशेषको विद्वान् मानिन्छन् । आजीविकाका दृष्टिकोणले जागिर÷नोकरी र व्यवसाय दुबैमा सफल र प्रतष्ठित हुन्छन् । कठिन परिस्थितिलाई पनि हाँसीहाँसी सामना गर्नु यिनीहरूको वैशिष्ट्य हो, त्यसैले अनुहारमा निराशाका भावना कहिल्यै देखा पर्दैन । प्रत्येक व्यक्तिसित प्रेमभाव र आफ्नोपन दर्शाउने गर्छन् । आफ्नो स्वभावमा भएको यो गुणका कारण सामाजिक सम्बन्ध कायम राख्छन् र जनसेवा एवं परोपकारी कार्यमा सहभागी हुन्छन्, परिणामतः समाजमा गरिमापूर्ण स्थान प्राप्त हुन्छ । मित्रताको दायरा ठूलो हुन्छ, मनैदेखि मित्रताको भावना व्यक्त गर्छन् र मित्रवर्गबाट पारस्परिक सहयोग र सहायता प्राप्त गर्दछन् । धन र वैभवको राम्रो सम्भावना हुन्छ, जीवनमा धनको कमी हुँदैन । कुनै बेला परिस्थितिवश धनको अभाव भइहाल्यो भने पनि आफ्नो बुद्धिमानी र हिम्मतको उपयोग गरी परिस्थितिलाई नियन्त्रण गर्न सक्षम हुन्छन् र आर्थिक सङ्कटबाट उम्कन सफल हुन्छन् । यस नक्षत्रको स्वामी ग्रह सूर्य हो। यस नक्षत्रका अधिदेवता हुन् – विश्वदेव । कटहरको रुखलाई उत्तराषाढा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले कटहरको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा कटहरको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ ।
उत्तराषाढा नक्षत्रमा जन्मलिने जातकको अशुभ समय :
सामान्यतया ‘भे’बाट नामको सुरुको अक्षर हुने जातकहरूका निमित्त पारिवारिक, मानसिक, आर्थिक, स्वास्थ्य आदिका दृष्टिकोणले जीवनकालका ०१ ०२ ०३ ०८ १५ १६ १७ १८ २४ २५ २६ २७ ३६ ३७ ३८ ३९ ४० ४१ ४२ ४३ ४४ ४५ ५५ ५६ ५७ ५८ ६२ ६३ ६४ ६५ ६७ ६८ ६९ ७० ७१ ७२ वर्षहरू कमजोर वर्ष हुनेछन्, त्यसैले ती वर्षहरूमा योग्य ज्योतिषीको सल्लाह लिई स्वस्तिशान्तिका दृष्टिले सचेतता अपनाउनु वाञ्छनीय छ ।
नक्षत्र बमोजिम यी बेग्लाबेग्लै स्वभाव देखिए पनि धनु राशिका जातकमा पाइने साझा विशेषताहरु निम्नानुसार छन् :
शारीरिक गठन : धनु राशिका जातकको मुख, बगल (कोखो) वा कम्मरमाथि कालो कोठी आदि चिह्न हुने गर्दछ । यिनीहरूको छाती पुष्ट र ठूलो हुन्छ र मोटो शरीरका साथै कद सामान्य हुन्छ । यिनीहरु सामान्य उचाइका व्यक्ति भए पनि केही कुप्रिएर हिंड्ने बानी हुन्छ । धनु राशि भएकी स्त्रीको शरीर सामान्यतया गोरोवर्ण र मुख वाटुलो हुने गर्दछ ।
व्यवसाय : यिनीहरु नोकरी र व्यापार दुबै क्षेत्रमा सफल हुने गर्दछन्, तथापि यिनीहरुको आकर्षण नोकरी वा राजकाजमा रहने गर्दछ । यस्ता जातकले बसोबासको क्षेत्रबाट दिनको समयमा पूर्व दिशाको यात्रा गरेमा लाभ हुने देखिन्छ । त्यस्तै यस्ता मानिसले देशपरदेशमा गई अध्ययन, व्यवसाय वा पेसा गर्नुपर्दा पूर्व दिशा उचित हुनेछ । यस्ता मानिसहरू इमानदार र धनसंयमी हुने गर्दछन्, त्यसैले लेखा र व्यवस्थापनको कलामा यिनीहरू प्रवीण हुन्छन् ।
आर्थिक पक्ष : धनु राशिका व्यक्तिले सामान्यतया राम्रो आँकडामा धनार्जन गर्ने गर्दछन्, तर यिनीहरु उस्तै खर्चिला स्वभावका हुन्छन् । त्यसैले आर्थिक हैसियतमा उतारचढाव भइरहन्छ, यद्यपि यस राशिका जातकको आर्थिक पक्ष बलियो हुन्छ । यिनीहरु भाग्यवादी हुन्छन्, मौका मिलेमा छलछाम तथा ठगी प्रवृत्तिबाट पनि धनार्जन गर्न चुक्दैनन् । यिनीहरुको आर्थिक आधार पैतृक र पारम्परिक हुन्छ, साथै धार्मिक अनुष्ठान, उच्च प्रशासनिक कार्य, उच्च शिक्षाका क्षेत्रको काम, आभूषण, औषधी, काठपातको काम, जग्गाजमिनको कारोबार, मोटरवाहनको क्रयविक्रय, वित्तीय कारोबार र वैदेशिक प्रयोजनका कामबाट यस्ता व्यक्तिले धन र वैभव आर्जन गरेको देखिन्छ ।
चारित्रिक विशेषता : यस राशिमा जन्मलिने जातक शुरवीर, पवित्र, लोकप्रिय, शिल्पविधामा निपुण, धनवान्, सभ्य र सुशील जीवनसाथी भएको, सामाजिक मानसम्मान र प्रतिष्ठा प्राप्त गर्ने, असल चरित्र भएको, कमलो हातपाउ र अन्य अंग भएको, मधुरभाषी, तेजस्वी, सामान्य कदकाठी भएका, साहित्य, संगीत र गीतकवितामा रुचि राख्ने, प्रखर वक्ता, फकाएर काम लिन सकिने, जीवनसाथीको वशमा रहने, परोपकार र दानादिमा रुचि भएको, सरसफाइमा ध्यान दिने र पैतृकसम्पत्तिले युक्त व्यक्ति हुने गर्दछन् । यस राशिमा जन्म लिने व्यक्ति आदर्शवादी हुनाले उत्साही हुन्छन् । यिनमा छलकपटको भावना हुँदैन । यस राशिका स्त्री विश्वास गर्न लायक तर रिसाही र चञ्चल स्वभावका हुने गर्दछन् । कहिलेकाहीं अन्य मानिसहरूले यिनीहरूलाई अर्काका विरुद्ध भडकाउने प्रयास गर्दछन्, तर यस्ता मानिसहरूले आफ्नो सुझबुझ र समझदारीको परिचय दिंदै यी कुरामा वास्ता गर्दैनन् ।
आजीविका : धनु राशिका जातकको आजीविकाको मुख्य क्षेत्र दिमागी क्रियाकलाप, ज्ञान र बुद्धि हुने गर्दछ । समाजसेवी, कथावाचक, कर्मकाण्डी, सम्मानको आकाङ्क्षा राख्ने, ड्राइभर÷परिचालक, भूगर्भविद्, साहित्यकार आदि हुनु यस राशिको वैशिष्ट्य हो । सरकार र सरकारी कामधन्दामा यिनको विशेष रुचि हुन्छ । कर्म, खास गरी आध्यात्मिक, रहस्यात्मक र शास्त्रीय विषय यिनीहरुको क्षेत्र हो । सिर्जनात्मक र रचनात्मक विषयमा त्यत्ति चासो राख्दैनन्, तर दार्शनिक र आध्यात्मिक विषयमा यिनीहरुको मोह हुन्छ । वित्तीय प्रबन्ध, सल्लाहकारिता र व्यवस्थापन कौशलमा यिनीहरु सफल हुने गर्दछन् । व्यापारतर्फ धर्मसंस्कृति र परम्परा जोडिएको वस्तु, लुगाफाटो, पुस्तक र शैक्षिक उपकरण, औषधी, खाद्यान्न, घरजग्गा आदिमा रुचि हुनसक्छ । पेसागत रुपमा बाबुबाजेले गरिआएको काममा समेत दिलचस्पी हुन्छ ।
प्रेमसम्बन्ध : धनु राशिका व्यक्ति सामान्यतया गम्भीर स्वभावका हुन्छन् । यिनीहरुको मानसिक आरोहअवरोह र उद्वेग बाहिर प्रकट हुँदैन, त्यसैले यी जसलाई प्रेम वा माया गर्दछन्, मनैदेखि गर्ने गर्दछन् । पारिवारिक मान्यता र परम्पराको निर्वाह गर्ने भएकाले यिनीहरुको प्रेमजीवनमा विघ्नबाधा पनि आउन सक्छ । सातौं घरमा द्विस्वभाव राशि भएकाले यिनीहरुको धेरै जनासँग प्रेम हुनसक्छ । तर प्रेमको निष्ठापूर्वक निर्वाह गर्न सक्दैनन् ।
इष्टमित्र : धनु राशिका मानिसहरु सँगीसाथी र आफन्तमा प्रिय नै हुन्छन् । कर्तव्यपालक, हक्की स्वभाव, सहयोगी भावना, मिलनसार र दयालु हुनाले यिनका इष्टमित्र मनग्ये हुन्छन् । तर आफ्नो भावना वा विचारलाई प्रकट गर्न नसक्नाले यिनका साथीभाइको संख्या थोरै हुन्छ । घरपरिवारमा राम्रै सम्बन्ध कायम हुन्छ ।
रूचि र चासो : यस राशिमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा देवगुरु बृहस्पतिको प्रभाव देख्न पाइन्छ, त्यसैले यस्ता मानिसहरू आस्तिक हुन्छन् र दर्शनशास्त्रमा रूचि राख्दछन् । यस्ता व्यक्तिको ज्यादातर रूचि आफ्नो पारम्परिक व्यवसायलाई अघि बढाउनुमा हुन्छ । यिनीहरूमा दूरदर्शिताको गुण पनि पाउन सकिन्छ, त्यसैले यिनीहरूको कार्यमा हानिको मात्रा कम हुन्छ । यस्ता मानिसहरू ईश्वरप्रिय भएका कारणले गलत कामबाट टाढा बस्न चाहन्छन् र कहिलेकाहीं चिन्तित पनि हुन पुग्छन् ।
विवाह एवं दाम्पत्य जीवन : सातौं घर मिथुन राशि र बुध ग्रहको प्रभाव हुनाले एक पल्टको प्रणय वा प्रेमसम्बन्ध कुनै किसिमले बिग्रन गई पुनः विवाह भएमा सुखद दाम्पत्य जीवन व्यतीत हुने गर्दछ । यद्यपि यस्ता जातकका पति वा पत्नी असल, शीलयुक्त हुने गर्दछन् । यिनीहरुले पूर्ण ढंगले दाम्पत्य सुख प्राप्त गर्दछन् ।
व्यक्तित्व : धनु राशिका जातक सिद्ध स्वभावयुक्त, पित्तप्रकृति र अधिकारप्रिय हुन्छन्, ज्ञानसम्बन्धी विषय र धार्मिक क्रियाकलाप यिनीहरूको रुचिको क्षेत्र हो । यस्ता व्यक्तिको आध्यात्म र ज्योतिषप्रति रूचि हुने गर्दछ । यस्ता व्यक्ति सबैभन्दा श्रेष्ठ, ज्ञाता र बुद्धिमान् हुने गर्दछन् । चिनामा देवगुरु बृहस्पति बलियो स्थितिमा छ भने त यस्ता व्यक्तिमा आफ्नो ज्ञानका सम्बन्धमा अहङ्कार पनि हुन्छ, अनि स्वयं आफै आफ्नो ज्ञानको बखान गर्न मन पराउँछन् । यस्ता व्यक्ति आफ्नो कुरामा गम्भीर हुन्छन्, धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन् । यस्ता मानिस राम्रो सल्लाहकार बन्न सक्छन्, तर यिनीहरूले कसैले नमागी सल्लाह दिंदै हिंडनु हुँदैन, यसो गरेमा आलोचनाको पात्र हुनु पर्नेछ । यिनीहरूको वित्त व्यवस्थापनसम्बद्ध सल्लाह राम्रो हुन्छ, यस्ता मानिसहरूले आम्दानीखर्चको हिसाबकिताब राम्ररी राख्न सक्छन् । यस्ता व्यक्तिमा निरन्तर आफ्नो लक्ष्यप्रति केन्द्रित रहने गुण हुन्छ र जबसम्म त्यसलाई प्राप्त गर्दैनन्, तबसम्म शान्तिले बस्दैनन् । यस्ता व्यक्ति प्रत्येक समयमा प्रसन्नचित्त अवस्थामा रहन्छन् ।
शिक्षा : बौद्धिक र शैक्षिक क्षेत्रमा यस राशिका जातकहरु उच्चकोटिका मानिन्छन् । जुनसुकै सैद्धान्तिक विषयमा यिनीहरु सफल हुनसक्छन्, यद्यपि शास्त्रीय विषयहरु, कर्मकाण्ड, भाषासाहित्य, न्याय, कानून, प्रशासन, कुटनीति, भूगर्भशास्त्र, भौतिक विज्ञान, गणित आदि विषयको ज्ञान लिएमा यिनीहरु सफल हुने गर्दछन् । त्यसबाहेक सिर्जनात्मक र रचनात्मक काममा पनि यिनीहरुको सामान्य दिलचस्पी हुन्छ ।
स्वास्थ्य : यस राशिका जातक पनि बाल्यावस्थामा अग्लो स्थानबाट हामफाल्छन् । यिनीहरुले बृद्धावस्थामा मूत्रप्रणाली र पाचनप्रणालीसम्बद्ध रोगले ग्रस्त हुनुपर्दछ । प्रायः यस राशिका स्त्रीको तल्लो पेट र पाचनप्रणालीमा कुनै न कुनै रोगव्याधिको प्रकोप रही रहने देखिन्छ । यिनीहरूको कफ प्रकृति भएका कारण धेरै छिटो मौसमी परिवर्तनको प्रभाव पर्दछ, यिनीहरूले सादा पानी र आयुर्वेदिक दबाइको प्रयोग गर्नु उचित हुन्छ । त्यस्तै यिनीहरू गुलियो र मिठो खानेकुरामा धेरै चासो राख्छन्, त्यसैले यस्ता व्यक्ति मोटा हुने गर्दछन्, तर यिनीहरूले गुलियो पदार्थको सेवन घटाउँदा स्वास्थ्य सबल हुने देखिन्छ ।
घरायसी वातावरण : धनु राशिका जातक सामान्यतया अन्तर्मुखी र गम्भीर स्वभावका हुने गर्दछन् । तर आफ्ना धारणा र इच्छा जस्तै भए पनि भन्नु पर्ने कुरो अगाडि नै भन्छन् । स्वभावमा विनम्रता, मिलनसार र प्रष्टवादिता भएकाले आफ्ना नातागोतामा सुमधुर सम्बन्ध कायम राख्न सफल हुन्छन् ।
देवता : कुल, पितृ र विष्णु भगवान्
भाग्यशाली रत्न : राशिको रत्न : पुष्पराज, भाग्यरत्न : माणिक्य
अशुभ रत्न : हीरा वा ओपल
शुभ महिना : ज्येष्ठ, कार्तिक, फाल्गुन
अशुभ महिना : श्रावण, मार्गशीर्ष, चैत्र
शुभ राशि : मेष, मिथुन, सिंह र धनु
अशुभ राशि : बृष, कर्कट, तुला
शुभ दिन : आइतबार, मंगलबार र बिहीबार
अशुभ दिन : सोमबार, शुक्रबार
शुभ दिशा : पूर्व, ईशान
अशुभ दिशा : उत्तर
शुभ अंक : १, ५, ८ र ९
अशुभ अंक : २ र ७
शुभ रंग : पहेंलो, कलेजी, गुलाबी
अशुभ रंग : हरियो, सेतो