भगवान दत्तात्रेय


सनातन धर्मान्तर्गत त्रिदेव ब्रह्मा, विष्णु र महेशद्वारा प्रचलित विचारधाराको सम्मिश्रण गर्न भगवान् दत्तात्रेयले जन्म लिएका हुन्, अतः यिनलाई त्रिदेवको एकीकृत स्वरूप पनि मानिन्छ। त्यस्तै दत्तात्रेयलाई शैवमार्गीहरू भगवान् शिवको अवतार हो भन्दछन् भने वैष्णवहरू भगवान् विष्णुको अंशावतार मान्दछन्। ब्रह्माजीका मानसपुत्र महर्षि अत्रि यिनका पिता हुन् र कर्दम ऋषिकी कन्या र साङ्ख्यशास्त्रका प्रवक्ता कपिलदेवकी दिदी सती अनुसूया यिनकी माता हुन्। श्रीमद्भागवतमा महर्षि अत्रि तथा माता अनुसूयाका सुपुत्रका रूपमा त्रिदेव(ब्रह्मा, विष्णु र महादेव)को अंशद्वारा तीनजना छोरा जन्मिएको प्रसङ्ग प्राप्त हुन्छ। पुराणहरूबमोजिम यिनका तीनवटा मुख, छवटा हात भएको त्रिदेवमयस्वरूप छ। चित्रमा यिनका पछाडि एउटा गाई र यिनका अगाडि चारवटा कुकुर देखिन्छ। डुमरीको रुखको छेउमा यिनको निवास भनिएको छ। विभिन्न मठ, आश्रम र मन्दिरमा यिनको चित्रमा वर्णित प्रतिमा र विग्रहको दर्शन गर्न सकिन्छ। दत्तात्रेय नाथ सम्प्रदायको नवनाथ परम्परामा अग्रज आचार्य हुन्। अनि यिनी रसेश्वर सम्प्रदायका प्रवर्तक हुन् भन्ने चलन पनि छ। भगवान् दत्तात्रेयबाट वेद र तन्त्रमार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो। ब्रह्माण्डपुराणमा वर्णन गरिएको विवरणअनुसार सत्ययुगमा गुरुशिष्यमाझमा हुने उपदेश-परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरणशक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको हो। कथानकबमोजिम ब्रह्मा, विष्णु र महेशका पत्नीहरू क्रमशः सरस्वती, लक्ष्मी र पार्वतीले नारदका माध्यमबाट सतीसाध्वीका रूपमा सर्वश्रेष्ठ मानिएकी अनुसूयाको अनुपम सतीत्वको प्रशंसा सुनेकाले ती साध्वीसित ईर्ष्या गर्दै ती देवीहरूले आआफ्ना पतिहरूलाई सती अनुसूयाको सतीत्व डगाउन उनको आश्रममा पठाएका थिए। ब्रह्मा, विष्णु र महेश तिनैजना जोगीको भेष बनाएर अनुसूयाका पति ऋषि अत्रिको आश्रममा पुगे र तिनले अनुसूयासँग शरीरका समस्त वस्त्र फुकालेर नग्नावस्थामा भिक्षा दिएमात्र स्वीकार गर्ने बताए। सतीशिरोमणि ऋषिपत्नी अनसूयाले आफुमा रहेको पातिव्रत्य धर्मको अमोघ शक्तिका प्रभावले ती साधुवेशमा उपस्थित भएका त्रिदेव (ब्रह्मा, विष्णु तथा महेश)को आशय थाहा पाइन् र तिनको आग्रहलाई तार्किक ढंगले सम्पादन गर्न ती तिनैजनालाई 'नवजात शिशु' बनाएर वात्सल्य भाव प्रदान गरी नग्नावस्थामा रहेर स्तनपान गराइन् र लामो समयसम्म तिनैजना देवतालाई सन्ततिवत् पलनपोषणसमेत गरिन्। पछि सरस्वती, लक्ष्मी र पार्वतीमा हीनताबोध भयो। तीनैजना देवीहरूले अनुसुयासँग माफी माग्नु पर्यो अनि मात्र ब्रह्मा, विष्णु र महेश्वरले नवजात शिशुको स्वरूप त्यागेर आफ्नो वास्तविक रूपमा परिणत हुनपाए। तिनैजना देवताले अनुसूयाको मातृत्वभावलाई स्वीकार गरी तिनका कोखबाट जन्म लिने वाचा पनि गरे। फलस्वरूप ती त्रिदेवमध्ये ब्रह्माको अंशबाट रजोगुण प्रधान 'सोम'को, विष्णुको अंशबाट सत्त्वगुण प्रधान 'दत्त'को र शङ्करको अंशबाट तमोगुण प्रधान 'दुर्वासा'को जन्म भयो। विष्णुले अनुसूयालाई वर प्रदान गर्दा 'अहं तुभ्यंमयादत्त' भनेका हुनाले यिनको अंशबाट प्रादुर्भूत शिशुको नाम 'दत्त' रहन गयो 1 अत्रि मुनिको 'पुत्र' भएर जन्मिएका कारणले यिनलाई 'आत्रेय' भन्ने वंशोपाधि पनि प्राप्त भयो। त्यसैले 'दत्त' र 'आत्रेय'को योगबाट 'दत्तात्रेय' नाम रहन गएको हो।
भगवान दत्तात्रेयको जयन्ती मार्गशीर्ष महिनामा मनाउने चलन छ। दत्तात्रेयलाई ईश्वर र गुरु दुवै रूप समाहित भएको व्यक्तित्वका रूपमा लिइन्छ, त्यसैले उनलाई 'परब्रह्ममूर्ति सद्गुरु' र 'श्रीगुरुदेवदत्त' पनि भनिन्छं। उनलाई गुरूपरम्पराका आदिगुरु, साधक, योगी र वैज्ञानिक मानिन्छ। सनातन धर्मका सिद्धान्त र मान्यताबमोजिम दत्तात्रेयले पारद देखि व्योमयान उड्डयनसम्मको शक्तिलाई समेत नियन्त्रणमा लिएका थिए रे। त्यस्तै उनले चिकित्साशास्त्रका क्षेत्रमा क्रान्तिकारी अन्वेषण गरेका थिए।
भगवान दत्तात्रेयले जीवनमा धेरै व्यक्तित्वहरूसित शिक्षा ग्रहण गरे। दत्तात्रेयले मानवेतर अन्यान्य पशुपन्छीको जीवन र तिनका कृयाकलापबाट पनि ज्ञान आर्जन गरे। उनको विचार के छ भने जसबाट जति गुणहरू ग्रहण गरी प्रयोग गरिन्छ, ती व्यक्ति र वस्तुलाई गुणप्रदाता मानेर आफ्नो गुरु मान्न सकिन्छ। त्यसैले दत्तात्रेयका २४ जना गुरु रहेको प्रसङ्गलाई श्रीमद्भागवतादि पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ2, ती गुरुहरू हुन्- पृथ्वी, पानी, आगो, हावा, आकाश, चंद्रमा, सूर्य, परेवा, अजिङ्गर(सर्प), समुद्र, फट्याङ्ग्रा, भँवरो, मौरी, हात्ती, मृग, माछो, पिङ्गला(वेश्या), कुररपक्षी, नवजात बालक, कुमारी केटी, सर्प, सिकारी, माकुरो र धमिरो।3
उनका तीनजना प्रमुख शिष्य थिए र तिनै जना विभिन्न स्थानका राजा थिए। ती मध्ये दुई जना क्षत्रीय थिए भने एकजना असुर जातिका थिए। उनकै शिष्यहरूमध्ये एकजना भगवान् परशुराम पनि हुन् भन्ने भनाइ छ। भारतीय राज्य त्रिपुरामा वैष्णव, शैव र शाक्त गरी तीनवटा मुख्यौख्य सम्प्रदायको सङ्गमस्थलका रूपमा यिनले एउटा शिक्षाकेन्द्र स्थापना गरेका थिए। परम्परारूपी त्रिवेणीको अनौठो सङ्गम भएका कारणले प्रतीकात्मक रूपमा यिनका तीनवटा टाउका थिए भनिएको हो भन्ने मान्यता छ। पुराणमा उल्लेख भएअनुसार दत्तात्रेयले परशुरामलाई श्रीविद्या नामक मन्त्र प्रदान गरेका हुन्। त्यस्तै भगवान् शिवका पुत्र कार्तिकेयलाई यिनले अनेकौं विद्याहरू प्रदान गरेका थिए, अनि भक्त प्रह्लादलाई अनाशक्ति योगको उपदेश दिएर उनलाई श्रेष्ठ राजा बन्ने क्षमता समेत प्रदान गरेका थिए। मुनि साङ्कृतिलाई अवधूत मार्गको, कार्तवीर्यार्जुनलाई तन्त्रविद्याको र नागार्जुनलाई रसायन विद्याको ज्ञान यिनकै कृपाबाट प्राप्त भएको थियो। भगवान् दत्तात्रेयकै भक्तिका कारण गुरु गोरखनाथले आसन, प्राणायाम, मुद्रा र समाधि गरी चतुरङ्ग योगको मार्ग प्राप्त गरेका हुन्। पुराणहरूमा दत्तात्रेयको चरित्रचित्रण यत्रतत्र भएको छ। यिनका विषयमा वर्णन गरिएका दुईवटा छुट्टै ग्रन्थहरू छन् - 'अवतार-चरित्र' र 'गुरुचरित्र'। यी ग्रन्थले वेदतुल्य मान्यता वहन गरेका छन् तर यी ग्रन्थका रचयिताको हुन् भन्ने कुरो चाहिं अज्ञात छ। दत्तात्रेय जयन्तीका अवसरमा 'गुरुचरित्र'को पाठ गर्ने चलन छ। यस ग्रन्थमा ५२ अध्याय र ७४९१ श्लोक छन्। यसमा श्रीपाद, श्रीवल्लभ र श्रीनरसिंह सरस्वतीका अद्भुत चरित्र र लीलाहरू एवं चामत्कारिक आख्यानको वर्णन छ। भारतको महाराष्ट्रमा बोलिने मराठी भाषामा निबद्ध धर्मग्रन्थ 'श्रीगुरुचरित्र'को एउटा प्रसङ्गमा व्रतबन्ध (यज्ञोपवीत संस्कार) पछि दाजुहरू सोम र दुर्वासाले आफ्नो स्वरूप भाइ दत्तात्रेयलाई सुम्पिएर तपस्या गर्न वनतर्फ प्रस्थान गरेका थिए, त्यसैले त्रिगुणात्मक त्रिमूर्ति र त्रिशक्तिसम्पन्न त्रिदेवको एकीकृत रूप हुन पुग्यो, दत्तात्रेयको। स्कन्दपुराणमा वर्णित एउटा प्रसङ्गमा महान् तपस्वी ऋषि अत्रिको तपोबल र महासती अनसूयाको भक्तिबलको प्रभावबाट चक्षु(आँखा)बाट बाहिरिएको दिव्यतेज घनीभूत हुँदा परम तेजस्वी दत्तात्रेय प्रकट भएका हुन्। उनको स्वरूपको वर्णन गर्ने क्रममा त्रिमुख, षड्भुज, भस्मभूषित अंग भएका, जटायुक्त मस्तक, घाँटीमा रुद्राक्ष माला धारण गरेको आदि विवरण उल्लेख भएको पाइन्छ। त्रिमूर्तिस्वरूपको उनको शरीरमा रहेको तल्लो, मध्यभागको र माथिल्लो भागका दाहिने र देब्रे दुबै हातले क्रमश: ब्रह्मा, महेश एवं विष्णुको द्योतन गर्दछन्। महावाक्य 'अहं ब्रह्मास्मि'को प्रतीक मानिने तल्लो दाहिने हातमा अक्षमाला(जपमाला) तथा 'प्रज्ञानं ब्रह्म'को प्रतीक मानिने तल्लो देब्रे हातमा कमण्डलु, 'तत्वमसि'को प्रतीक बीचको दाहिने हातमा डमरू, 'सुषुम्णायां स्थित: सर्वेको' प्रतीक बीचको देब्रे हातमा त्रिशूल, 'ॐ खंब्रह्म'को प्रतीक माथिल्लो दाहिने हातमा शङ्ख र 'अयमात्मा ब्रह्म'को प्रतीक माथिल्लो देब्रे हातमा चक्र धारण गरेका दत्तात्रेयको चरित्र बताउने क्रममा यिनलाई 'सर्वस्व' नामक ग्रन्थमा गूढ आध्यात्मिक रहस्यका रूपमा व्याख्यान गरिएको छ। उक्त ग्रन्थमा दत्तात्रेयलाई त्रिमूर्ति (ब्रह्मा, विष्णु र महेश)को प्रणवस्वरूपको प्रतीकका रूपमा वर्णन गरिएको छ। उनका तीनवटा मस्तकले व्यक्त रूपमा प्रणवका तीनवटा मात्रा (अ, उ,म्)लाई र अर्द्धमात्रा एवं बिन्दुको अव्यक्तावस्थालाई द्योतन गर्दछन्। प्रणवको विस्तारित स्वरूपलाई इङ्गित गर्दै वेदमाता गायत्री गाईको रूपमा यिनको चित्रका समीपमा रहेकी छन् भने गायत्रीको साधनाबाट प्राप्त हुनसक्ने 'पुरुषार्थ चतुष्टय' (धर्म, अर्थ, काम, मोक्ष)लाई चारवटा श्वान(कुकुर)का रूपमा यिनका खुट्टाका छेउमा चित्राङ्कित गरिएको मान्यता छ। यिनका छवटा हातले षडै्श्वर्य (पूर्ण ज्ञान, पूर्ण वैराग्य, पूर्ण यश, पूर्णश्री, पूर्णऐश्वर्य र पूर्णवीर्य अथवा धर्म)लाई, दुइवटा खुट्टाले प्रेय तथा श्रेयलाई प्रतीकात्मक ढङ्गले अर्थ्याएको हो भन्ने मान्यता पनि छ। षडै्श्वर्ययुक्तपूर्ण पुरुष भएका हुनाले उनी साक्षात् भगवान् हुन् 4। श्रीजाबालदर्शनोपनिषदमा यिनलाई भगवान् तथा महायोगी भनिएको छ। 5 बाल सुलभ सरलता एवं शुद्ध भावना भएका भक्तवत्सल दत्तात्रेय चिरञ्जीवी भएका कारण अहिले पनि सदेह विद्यमान छन् र श्रद्धालुहरूको करुण-क्रन्दन सुन्नासाथ दयालु दत्तात्रेयले तिनलाई तत्क्षण दर्शन दिएर कृतार्थ तुल्याउँछन् भन्ने मान्यता उनको शिष्यपरम्परामा पाइन्छ। भगवान् दत्तात्रेयद्वारा दिनहुँ स्नान गरिने काशीको गङ्गाजीको तटमा रहेको 'मणिकर्णिका' घाटलाई 'दत्तपादुका' भन्ने गरिन्छ। उक्त घाट भगवान् दत्तात्रेयका अनुयायीहरूका लागि पूजनीय स्थलका रूपमा रहेको छ। यिनको पादुका स्थान भने भारतकै कर्नाटक प्रान्तको बेलगाम भन्ने ठाउँमा छ। समस्त आर्यावर्तमा भगवान् दत्तात्रेयलाई गुरुका रूपमा स्वीकार गरिन्छ र यिनको पादुकालाई सम्मान गर्ने गरिन्छ।
दत्तात्रेय योगमार्गका प्रवर्त्तक,अवधूत विद्याका आद्यआचार्य तथा श्रीविद्याका परमआचार्य हुन्। यिनको बीजमन्त्र 'द्रां' हो। सिद्धावस्थामा रहँदा देश र कालको बन्धनले उनको गतिमा बाधा पुर्याउन सक्दैन। उनी अहिले पनि प्रत्येक दिन प्रात:कालदेखि रात्रिपर्यन्त लीलारूपमा विचरण गर्दै नित्य प्रात: काशीमा गङ्गास्नान गर्दछन्, कोल्हापुरमा नित्यजप गर्छन्, माहुरीपुरमा भिक्षाग्रहण गर्दछन् र सह्याद्रिका कन्दराहरूमा दिगम्बर भेषमा विश्राम (शयन) गर्दछन्। उनले श्रीगणेश,कार्तिकेय, प्रह्लाद, यदु, साङ्कृति, अलर्क, पुरुरवा, आयु, परशुराम र कार्तवीर्य आदि शिष्यलाई योग एवं अध्यात्मको शिक्षा दिएको प्रसङ्ग भिन्नाभिन्नै पुराणमा प्राप्त हुन्छ। 'अवधूत गीता'मा उनले शिष्य कार्तिक स्वामीलाई मोक्षप्राप्तिका चारवटा सहज उपाय बताएको प्रसङ्ग पनि उल्लेख भएको विवरण छ, ती उपायहरू हुन्-
१) रागद्वेषादिबाट मुक्ति,
२) समस्त प्राणिको कल्याणका निमित्त चेष्टा,
३) ब्रह्मज्ञानको दृढबोध र
४) धैर्यता।
वैराग्य र विवेकको शिक्षा प्रदान गर्ने भएकाले आफ्नै शरीरलाई पनि उनले गुरु मानेका थिए। भारतको कर्नाटकमा रहेको कुरुगड्डी, भारतकै महाराष्ट्रको औदुम्बर क्षेत्र, नरसिंहवाडी, गाणगापुरव र माहूरगढ आदि प्रसिद्ध दत्ततीर्थ मानिन्छन्। त्यस्तै पश्चिम भारतको गुजरात प्रान्तको 'गिरनार'क्षेत्रलाई यिनको सिद्धपीठ मानिन्छ। यिनको आश्रम गन्धमादनपर्वतमा छ भन्ने मान्यता छ। भगवान् दत्तात्रेयको आविर्भाव सत्ययुगको प्रारम्भमा स्वायम्भुव मन्वन्तरको मार्गशीर्ष पूर्णिमामा बुधबारका दिन भएको मानिन्छ। विशेषगरी महाराष्ट्र, कर्नाटक, गुजरात र आन्ध्रप्रदेशमा गुरु दत्तात्रेयको जयन्तीलाई धुमधामले मनाइने गरिन्छ। त्रिमूर्तिस्वरूप भगवान् श्रीदत्तात्रेय सर्वथा प्रणम्य हुनुहुन्छ।

सन्दर्भ सामाग्री
१. दत्ता मयाहमितियद्भगवान्सदत्त:।
. श्रीमद्भागवत, एकादशस्कन्ध, अध्याय ७, ८, ९
. पृथ्वीवायुराकाशमापोऽग्निश्चन्द्रमारविः॥ कपोतोऽजगरः सिन्धुः पत्तङ्गो मधुकृद्गजः॥ मधुहा हरिणो मीनः पिङ्गला कुररोऽर्भकः॥ कुमारी शरकृत् सर्प उर्णनाभिः सुपेशकृत्॥ - श्रीमद्भागवतमहापुराण, एकादश स्कन्ध
. दत्तस्तु भगवान् स्वयम्
. दत्तात्रेयो महायोगीभगवान् भूतभावन:। जगदुत्पत्तिकर्त्रे च स्थितिसंहारहेतवे। भवपाशविमुक्ताय दत्तात्रेय नमोऽस्तुते॥